Technology Khabar १८ पुष २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, १८ पुस । नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा फोरजी प्रविधिका स्मार्टफोनहरु बिक्री गरिने भएको छ ।
महोत्सवलाई सोमबारदेखि “फोरजीमय” बनाउने गरि फोरजी प्रविधि भएका स्मार्टफोनहरु बिक्री गर्न लागिएको हो ।
आइतवारदेखि नै फोरजी प्रविधि नेपालमा भित्रिएको हुँदा ग्राहकहरुलाई फोरजी प्रविधिसहितको स्मार्टफोन खरिद गर्न उत्साहित गर्नेगरि सोमबारदेखि फोरजीमय महोत्सवको घोषणा गरिएको आयोजकले जानकारी दिएको छ ।
न्यूरोड मोबाइल महोत्सवमा अहिलेका चर्चित स्मार्टफोनहरुमध्येको एक ह्वावे जीआर५ २०१७, सामसंगको ग्यालेक्सी जे सेभेन प्राइम, जिओनीको एस सिक्स एस, जोप्पोको कलर एफ ५ तथा लिएगो ब्राण्डको एमएस प्लस एलटिई स्मार्टफोनहरु खरिद गर्न सकिनेछ ।
यी बाहेक अन्य ब्राण्डका स्मार्टफोनहरु एचटिसीको डिजायर सिरिज, जेडटिईको ब्लेड सेभेन, माइक्रोम्याक्सको क्यानभास सिक्स, ओप्पोको एफ वान एस, लाभाका बिभिन्न मोडलहरु तथा वान प्लस थ्री स्मार्टफोनमा पनि फोरजी प्रयोग गर्न सकिन्छ ।
कम्पनीहरुले मोबाइल महोत्सवको अवधिभर फोरजी सहितका स्मार्टफोनको खरिदमा भारी छुटका साथै विभिन्न उपहारहरु पनि प्रदान गरिरहेका छन् ।
अंग्रेजी नयाँ वर्षको शुरुवातदेखि फोरजी प्रविधि नेपालमा आएको हुँदा ग्राहकहरुलाई फोरजीको बारेमा जानकारी दिन फोरजीमय महोत्सवको घोषणा गरिएको महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले बताए । सोमबारेदेखि फोरजी प्रविधि भएका स्मार्टफोनहरु किन्न ग्राहकहरुलाई उत्साहित बनाउनेछौं ।” उनले भने, “फोरजी प्रविधिमा डाटा छिटो प्रयोग गर्न सकिने र डाउनलोड, अपलोड र शेयर द्रूतगतिमा हुनेहुँदा यो प्रविधि विश्वभर प्रयोग भईरहेको छ ।”
प्रकाशित: १८ पुष २०७३, सोमबार