ब्लूटूथ ५ ले अहिलेकाे भन्दा २ गुणा छिटाे डाटा पठाउने, नयाँ डिभाइसमा अाउँदै

Technology Khabar २३ मंसिर २०७३, बिहीबार

ब्लूटूथ ५ ले अहिलेकाे भन्दा २ गुणा छिटाे डाटा पठाउने, नयाँ डिभाइसमा अाउँदै
Classic Tech

काठमाडौं, २३ मंसिर । अब ब्लूटूथको नयाँ संस्करण सार्वजनिक भएको छ । एउटा डिभाइसबाट अर्को डिभाइसमा विभिन्न डाटाहरु सार्न प्रयोग हुने ब्लूटूथ प्रविधिको नयाँ स्तर सार्वजनिक भएको हो ।

यो वर्षको शुरुवातमा नै ब्लूटूथको पाँचौं संस्करण नयाँ वायरलेस मापदण्ड हुने घोषणा गरिएको थियो । हाल आएर यो सबैका लागि उपलब्ध भएको छ । ब्लूटूथ ५.० (Bluetooth 5) भर्सनले हाल चलिरहेको ब्लूटूथ ४.२ भर्सनलाई बिस्तापित गर्नेछ । ब्लूटूथ स्पेशल इन्ट्रेस्ट ग्रुप (एसआईजी) ले नयाँ प्लेटफर्मलाई ग्रहण गरेको र विभिन्न डिभाइसहरुमा प्रयोग गर्नका लागि उत्पादकहरुलाई उपलब्ध गराएको छ ।

ब्लूटूथ ५ मा वायरलेस प्रविधिमा विभिन्न किसिमको सुधार गरिएको छ । यो मापदण्डले पुरानो भन्दा थप टाढा, तिब्र गतिलगायतका थप क्षमता राख्दछ ।

ब्लूटूथ ४.२ (Bluetooth 4.2) को तुलनामा ब्लूटूथ ५ ले पुरानो भन्दा चार गुणा टाढासम्मको डिभाइसमा वायरलेस कनेक्ट गर्दछ । त्यसैगरी ब्लूटूथ ५ ले ब्लूटूथ ४.२ को भन्दा दुई गुणा तिब्रगतिको रहेको छ, जसले तिब्रगतिमा डाटा ट्रान्सफर गर्न सकिन्छ ।

नयाँ ब्लूटूथ मापदण्डले अब घरमा पूर्णरुपमा वायरलेसको माध्यमबाट विभिन्न डिभाइसहरु एक आपसमा जोड्न सकिन्छ, त्यसका साथै बाहिरी भागमा, औधोगिक क्षेत्रमा तथा व्यवसायीकरुपमा पनि यसलाई सहजरुपमा प्रयोग गर्न सकिन्छ ।

नयाँ ब्लूटूथ मापदण्डमा २ एमबीपिएसको गति प्राप्त हुन्छ भने यो कम उर्जा खपत गर्ने डिभाइसहरुका साथमा प्रयोग गर्न सकिन्छ । ब्लूटूथ एसआईजीकाअनुसार यसले डाटा पठाउनेमा वृद्धि गरेको छ भने उपयुक्त समाधानहरुका लागि पनि थप सुधार गरेको छ।

ब्लूटूथ ५ ले यसअघिको मापदण्डमा भएको बेलाबेलामा वायरलेस सम्पर्क टुट्ने समस्यालाई पनि समाधान गरेको छ र प्राविधिक वातावरण कायम राख्न सहयोग पुर्याएको बताईएको छ ।

ब्लूटूथ ५ ले इन्टरनेट अफ थिंग्सको (IoT) अनुभवलाई अझ अगाडि बढाउन र जोडिएको डिभाइसहरुका बिचमा सामान्य तथा दबाबरहित अन्तरक्रिया गर्नसक्ने दि ब्लूटूथ एसआईजीले उल्लेख गरेको छ ।

ब्लूटूथ ५ प्रविधि व्यवसायीक प्रयोगका लागि २ देखि ६ महिनाभित्र विभिन्न डिभाइसहरुमा उपलब्ध हुनेछ र आगामी पुस्ताका डिभाइसहरुमा यो प्रविधि देख्न सकिनेछ ।

के हो ब्लूटूथ ?

ब्लूटूथ वायरलेस संचारको लागि एक प्रोटोकल हो । मोबाइल फोन, ल्यापटप, प्रिन्टर, कम्प्यूटर, डिजिटल क्यामरा, भिडियो गेम लगायतका उपकरणहरु यसको माध्यमबाट एक आपसमा जोडिएर जानकारी आदानप्रदान गर्न सकिन्छ । यसरी डिभाइसहरु जोडिनको लागि रेडियो वेभको प्रयोग गरिन्छ । ब्लूटूथ विशेषगरि कम्प्यूटरहरुलाई अन्य उपकरणहरुसँग जोड्ने तारहरुको संख्या क मगर्नका लागि विकसित गरिएको थियो । ब्लूटूथलाई केबल केहि सिमित दूरीसम्म मात्र प्रयोग गर्न सकिन्छ ।

ब्लूटूथको कयौं मापदण्ड छन । डाटा ट्रान्सफर दरको आधारमा यसलाई मापन गरिन्छ । हाल यो दर प्रति सेकेण्ड १–३ एमबीटमा रहेको छ ।
हाल ब्लूटूथ अत्यधिकरुपमा विभिन्न इलेक्ट्रोनिक्स डिभाइसहरुलाई एकआपसमा बिनातार जोड्न प्रयोग गरिन्छ र यो अधिकांश डिभाइसहरुमा राखिएको हुन्छ ।

कसरी नामाकरण भयो ?

ब्लूटूथ नामाकरण १० औं शताब्दीका डेनमार्कको राजा हेराल्ड ब्लूटूथको नामबाट राखिएको हो । ब्लूटूथ प्रविधि आविश्कारकर्ताहरुकाअनुसार हेराल्डले तत्कालिन समयमा कुटनैतिक माध्यमको एक कदम अन्तर्गत युद्धरत दल वा पार्टिहरुलाई एक आपसमा सम्झौता गराउन शुरु गरेका थिए र यहि प्रकृयालाई ब्लूटूथ प्रविधिको नाम दिईयो जस अन्तर्गत विभिन्न प्रकारका उपकरणहरु एक आपसमा विभिन्न डाटाहरु आदानप्रदान गर्न सक्दछन् ।

माध्यम

प्रकाशित: २३ मंसिर २०७३, बिहीबार

Comments are closed.

Loading...