Technology Khabar १० मंसिर २०७३, शुक्रबार
काठमाडौं, १० मंसिर । विश्वभर अहिले ब्ल्याक फ्राइडेको (Black Friday) चर्चा र आकर्षण शुरु भएको छ । विशेषगरि ईकमर्श साइटहरुले ब्ल्याक फ्राइडेको अवसर पारेर अर्बौं रुपैंयाको व्यापार गर्ने गर्दछन् ।
ब्ल्याक फ्राइडे अहिले व्यापार गर्ने मुख्य दिन र उत्सवको रुपमा विश्वभर मनाइन लागेको छ । यस वर्ष ब्ल्याक फ्राइडे अाज नोभम्बर २५ तारिख, शुक्रबार परेको छ । नेपालमा पनि ब्ल्याक फ्राइडे अनलाइनमा यहि वर्षदेखि शुरु हुन लागेको छ जसमा विभिन्न सामाग्रीहरुमा अत्यधिक छुट दिएर बिक्री गर्ने गरिन्छ ।
नेपालमा यसअघि यो दिनको बारेमा चर्चा भएपनि नेपालीहरुले यसको अनुभव गर्न पाएका थिएनन् तर अनलाइन सपिंगको आगमनसँगै नेपालमा पनि ब्ल्याक फ्राइडेको चर्चा निकै अगाडि आएको छ ।
विश्वभर इकमर्श साइटहरुले यो दिनलाई भव्यरुपमा मनाएर बिक्री प्रबद्र्धन गर्ने गर्दछन् । यो दिन वर्षकै सवाधिक सामाग्री बिक्री गरिने दिनको रुपमा कम्पनीहरुले लिएका हुन्छन् ।
नेपालमा भने एउटा ईकमर्श साइट केमूले आफ्नो अनलाइनबाट नियमित छुट दिने भन्दा अधिक छुट दिएर ब्ल्याक फ्राइडेलाई उत्सवको रुपमा मनाउने तरखर गरेको छ । कम्पनीले नेपालमा पहिलो पटक ब्ल्याक फ्राइडे आयोजना गर्न लागेको दाबी गरेको छ ।
कम्पनीले ब्ल्याक फ्राइडे यहि शुक्रबारदेखि आगामी २८ नोभेम्बरसम्म आयोजना गर्न लागेको हो । कम्पनीका एक कर्मचारीले नाम नबताउने शर्तमा यो अवसरमा ७५ प्रतिशतसम्म विशेष छुट दिने जानकारी दिए । उनले भने, ‘हामीले ब्ल्याक फ्राइडेको अवसरमा विभिन्न सामानहरुमा ७५ प्रतिशतसम्म छुट दिएका छौं ।’ तर न्यूनतम छुट कति प्रतिशत छ र के के सामाग्री बिक्रीमा राखिन्छन भनेर उनले जानकारी दिन भने चाहेनन् ।
अन्य नेपाली ईकमर्श साइटहरुले भने यो दिनमा कुनै विशेष योजना ल्याएको देखिएको छैन् । हाल विशेषगरि इलेक्ट्रोनिक्स सामाग्रीहरु यस्तो विशेष छुटको अवसरमा अधिक बिक्री हुने गरेको देखिन्छ ।
के हो ब्ल्याक फ्राइडे
ब्ल्याक फ्राइडे अमेरिका, क्यानाडालगायतका देशहरुमा मनाइने थ्याङ्कस गिभिङ् डे/Thaksgiving Day (धन्यवाद दिवस) को लगत्तै आउने दिन हो । थ्याङ्कस गिभिङ् डे इसाईहरुको एउटा प्रमुख चाड हो । यो अमेरिका र क्यानाडामा मनाइन्छ । अमेरिकामा यो नोभेम्बरको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्दछ । त्यसदिन सबै सरकारी कार्यालयहरु बिदा हुन्छन् । धेरैजसो कामदारले बिदा पाउँछन् ।
यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने गरिन्छ । यो भगवानलाई धन्यवाद दिन मनाउन थालिएको चाड हो । अमेरिकामा थ्याङ्कसगिभिङ् डेको भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई ब्ल्याक फ्राइडे भनिन्छ । उक्त दिन धेरै पसलहरुले सामान निकै सस्तोमा बेच्छन् । यो अमेरिकामा सबैभन्दा बिक्रि हुने दिन पनि हो ।
सन् १९३२ देखि अमेरिकामा यसलाई क्रिसमसको किनमेलको शुरुवाती दिनको रुपमा मानिन्छ र अधिकांश खुद्रा व्यापारीहरुले बिहानैदेखि मध्यरातसम्म पसल खोल्ने र विशेष छुट वा अफर प्रदान गर्दै प्रबद्र्धनात्मक बिक्री गर्दछन् । ब्ल्याक फ्राइडे औपचारिक बिदाको दिन होइन्, तर क्यालिफोर्निया तथा अन्य अमेरिकी राज्यहरुमा धन्यवाद दिवसको लगत्तैको दिनमा सरकारी कर्मचारीहरुलाई बिदा दिने प्रचलन छ । ब्ल्याक फ्राइडे वर्षकै सबैभन्दा बढि अनलाइन बिक्री हुने दिन हो ।
गत वर्ष ब्ल्याक फ्राइडेको सप्ताहमा मात्रै करिब ५० अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो ।
अब तपार्इँपनि ब्ल्याक फ्राइडेमा सस्ताे मूल्यमा चाहेकाे सामान किन्ने हाे कि ?
प्रकाशित: १० मंसिर २०७३, शुक्रबार