सामसंग ग्यालेक्सी एस एटमा ठूलो डिस्प्ले, आगामी अप्रिलमा आउनसक्ने

Technology Khabar २४ कार्तिक २०७३, बुधबार

सामसंग ग्यालेक्सी एस एटमा ठूलो डिस्प्ले, आगामी अप्रिलमा आउनसक्ने

काठमाडौं ।

काठमाडौं, २४ कात्तिक । सामसंग नोट सेभेनको असफलतापछि जोडतोडले ग्यालेक्सी एस एट (Galaxy S8) निर्माणमा ध्यान केन्द्रित गरिरहेको छ ।

कम्पनीले नोट सेभेन (Note 7) पड्किएको र फिर्ता गरिएको घट्नालाई बिर्सने प्रयास गर्दै ग्यालेक्सी एस एटलाई कसरी उत्कृष्ट बनाउने भनेर लागिरहेको छ । कम्पनीले सकेसम्म छिटो एस एट फ्ल्यागशिप स्मार्टफोन बजारमा ल्याउने विभिन्न चर्चाहरु आई नै रहेका छन् ।

यसअघि पनि सामसंगले ग्यालेक्सी नोट एट आगामी वर्षको मोबाइल वल्र्ड कंग्रेसमा (MWC) सार्वजनिक गर्न सक्ने अड्कलहरु बाहिर आएका थिए । तर कम्पनीले नोट एट आगामी वर्षको अप्रिलमा मात्र ल्याउने तयारी गरिरहेको बताईएको छ । यो विषयको बारेमा कम्पनीका नेपालस्थित कार्यालयका एक अधिकारीले पनि केहि समय अघि जानकारी दिएका थिए । उनले सामसंगको नयाँ ग्यालेक्सी फोन आगामी अप्रिल भन्दा अगाडि आउँदैन भन्ने मोबाइल्सखरलाई जानकारी दिएका थिए ।

उता भर्खर मात्र कोरियाबाट आएको नयाँ रिपोर्टअनुसार सामसंगले फोनको पहिलो ब्याचको पार्टहरु पहिलो प्रोटोटाइप अर्थात नमूना फोनका लागि जनवरीमा मात्र माग गर्ने हल्ला चलेको छ । नयाँ फ्ल्यागशिप फोनको उत्पादन आगामी मार्चमा शुरु हुने र अप्रिल महिनामा सार्वजनिक हुने अनुमान गरिएको छ ।

यसैबिच सामसंगले आउन लागेको ग्यालेक्सी एस एटको डिस्प्लेको साइज ठूलो पार्ने निर्णय गरेको नयाँ रिपोर्ट आएको छ । नोट फोनका संभावित ग्राहकहरुलाई आकर्षित गर्न कम्पनीले नयाँ फोनमा ५.७ इन्चको, स्क्रीन तथा अर्को ६.२ इन्चको स्क्रीनसहितको मोडल ल्याउने बताईएको छ । यसअघि ग्यालेक्सी एस सेभेनमा (Galaxy S7) ५.१ इन्चको स्क्रीन रहेको छ भने सेभेन एजमा (S7 Edge) ५.७ इन्चको स्क्रीन छ ।

यसका साथै नयाँ सामसंग फोनको फ्रन्ट डिस्प्लेमा फिजिकल होम बटन राखिने जानकारी आएको थियो । त्यसैगरी यसमा २ के डिस्प्ले, १२ र १३ मेगापिक्सेलको ड्यूल क्यामरा सेटअप, आइरिस स्क्यानर, सुधारिएको आर्टिफिसियल इन्टेलिजेन्स एआई असिस्ट्यान्ट सर्भिस रहने चर्चा चलेको छ ।

हालसम्म आएका चर्चाहरुको कुनै स्पष्ट आधार तथा पुष्ट्याई नभएको भएपनि आगामी दिनमा यसको बारेमा नयाँ तथ्यहरु अझै आउने अनुमान गर्न सकिन्छ ।

माध्यम १, माध्यम २

easy care

प्रकाशित: २४ कार्तिक २०७३, बुधबार

ताजा समाचार