माछा महोत्सव तथा परिकार प्रतियोगिता आयोजना हुने

Technology Khabar २३ कार्तिक २०७३, मंगलवार

माछा महोत्सव तथा परिकार प्रतियोगिता आयोजना हुने

काठमाडौं ।

काठमाडौं, २३ कात्तिक । नेपाल मत्स्य व्यवसायी संघको आयोजनामा भृकुटी मण्डपमा पाँच दिने माछा महोत्सव तथा परिकार प्रतियोगिता हुने भएको छ ।

संघले आगामी मंसिर नौ गतेदेखि पाँच दिने तेश्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिताको आयोजना गर्न लागेको हो । स्वदेशी माछाको बजार प्रवद्र्धन गर्न संघले महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको छ । संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीकाअनुसार महोत्सवमा माछा, माछाको दाना, औषधी, औजार र उपकरणका गरी ६० वटा स्टल राख्ने व्यवस्था गरिएको छ ।

महोत्सवमा होटल रेष्टुँराका माछाको परिकार, पहाडी र हिमाली क्षेत्रको माछाको परिकार, आदिवासी, जनजातिको माछाको परिकारको स्टाल राख्ने व्यवस्था गरिएको छ । यसैगरी उक्त महोत्सवमा माछा पकाउने विधि पनि अवलोकनकर्तालाई सिकाउने व्यवस्था गरिएको छ ।

महोत्सवमा माछा पालन गर्ने प्रविधिसम्बन्धी पनि जानकारी उपलब्ध गराइनेछ । महोत्सवको अवलोकनकर्ताका लागि टिकट मूल्य प्रति व्यक्ति दुई सय ५० रुपैयाँ राखिएको छ । टिकट मूल्यमा नै अवलोकनकर्ताका लागि माछासहितको निःशुल्क खाजाको व्यवस्था गरिएको संघले जानकारी दियो ।

महोत्सवका सदस्य सचिब जोगेन्द्र महतोकाअनुसार नौ हजार नौ सय ३४ हेक्टरबाट नेपालमा ७७ हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । नेपालमा उत्पादन हुने माछाले कूल मागको ३० प्रतिशत मात्रै बजार धान्ने गर्छ । बाँकी अपुग हुने माछा भारतबाट झण्डै ७० प्रतिशत आयात हुन्छ । भारतबाट बार्षिक ३ अर्बको माछा आयात हुन्छ । भारतबाट गत् आर्थिक बर्ष २०७२।०७३ मा सात हजार आठ सय ८२ मेट्रिक टन र अघिल्लो आर्थिक बर्ष २०७१।०७२ मा ११ हजार एक सय ७६ मेट्रिक टन माछा आयात भएको थियो ।

easy care

प्रकाशित: २३ कार्तिक २०७३, मंगलवार