प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्बन्धी छुट्टै कोष स्थापना गरिने

Technology Khabar ११ कार्तिक २०७३, बिहीबार

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्बन्धी छुट्टै कोष स्थापना गरिने
Classic Tech
Nepal Telecom

काठमाडौं, ११ कात्तिक । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष निर्माण गर्ने भएको छ । अहिले विभिन्न १७ मन्त्रालयमार्फत् सीप विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ । सीप विकास तथा तालिमसम्बन्धि सबै कार्यक्रमहरुलाई समन्वयकारी ढङ्गले सञ्चलन गरी बढी प्रतिफल हासिल गर्ने उद्देश्यले छुट्टै कोषमार्फत् कार्यक्रमहरु सञ्चालन गर्न लागिएको हो । सरकारी, गैर सरकारी र दातृ निकाय समेतको स्रोत परिचालन गर्दा प्राविधिक शिक्षा, सीप विकास तथा तालिमका लागि वार्षिक झण्डै १७ अर्ब रुपैयाँ खर्च हुँदै आएको छ । कोष स्थापनाको कार्य आगामी फागुन महिनासम्म सम्पन्न हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकास देशमा उद्यमी वर्ग सिर्जना गर्नका लागि अपरिहार्य रहेकोले प्राविधिक शिक्षा, व्यावसायिक सीप विकास तथा तालिम कार्यक्रमलाई व्यापक रुपमा सञ्चालन गर्नुपर्नेमा विज्ञ तथा सरोकारवालाहरुले जोड दिएका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) अन्तर्गतको ‘सपोर्ट टु नलेज एण्ड लाइफलङ्ग लर्निङ स्कील्स’ (स्कील्स) परियोजनासँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा सहायक राष्ट्रिय निर्देशक हिमादेवी खड्काले उद्यमशीलतासँग जोडेर व्यावसायिक सीप विकास कार्यक्रमलाई सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । “हामीले उद्योग, व्यवासाय क्षेत्रबाट मागका आधारमा सीप विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ,” उनले भनिन् ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपाध्यक्ष कुल बहादुर बस्नेतले कृषि, पर्यटन, उद्योग, निर्माण, सेवा हरेक क्षेत्रमा खपत हुने जनशक्ति सिर्जनामा लगानी गरी काम गर्ने उमेर समूहका जनशक्ति बढी भएको समयको लाभ लिनुपर्ने बताए । “वैदेशिक रोजगारीमै बाहिरिएको अदक्ष जनशक्तिको ठाउँमा दक्ष जनशत्ति पठाउन सकेको भए बढी रेमिट्यान्स प्राप्त गर्न सकिन्थ्यो,” उनले भने ।
शिक्षा मन्त्रालयका सहसचिव तथा स्कील्स परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक बैकुण्ठ प्रसाद अर्यालले सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्बन्धि नीतिमा गरेको परिमार्जन तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष स्थापना गर्ने कार्यक्रमले व्यावसायिक सीप विकास सम्बन्धि कार्यक्रमहरुले थप उचाई लिने विश्वास व्यक्त गरे ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रममा नीजि क्षेत्रको आवद्धता सहजीकरण गर्ने सम्बन्धि अध्ययन प्रतिवेदनका मुख्य अंशहरु सार्वजनिक गर्दै पूर्व शिक्षा सचिव महाश्रम शर्माले हरेक वर्ष श्रम बजारमा आउने ४५०,००० जनशक्तिलाई व्यावसायिक सीप तथा तालिमको आवश्यकता रहेकोमा अहिले झण्डै एक लाख जनशक्ति मात्र तालिम कार्यक्रमबाट लाभान्वित हुने गरेको तथ्यांक प्रस्तुत गरेका थिए ।

अर्कोतर्फ सरकारले दातृ निकाय तथा गैर सरकारी संस्थाहरुले सीप विकासको काम गरिरहेको भएपनि निजी क्षेत्रले आफूलाई चाहिने जनशक्तिको माग गर्ने प्रचलन नरहेको शर्माले उल्लेख गरे ।

TK Viber

प्रकाशित: ११ कार्तिक २०७३, बिहीबार

Comments are closed.

Loading...