लक्ष्मी ग्रुपले मोबाइल व्यवसाय शुरु गर्दै, ‘कूलप्याड’ ब्राण्ड आउन सक्ने

Technology Khabar ३० आश्विन २०७३, आईतवार

लक्ष्मी ग्रुपले मोबाइल व्यवसाय शुरु गर्दै, ‘कूलप्याड’ ब्राण्ड आउन सक्ने

काठमाडौं ।

काठमाडौं, ३० असोज । नेपाली बजारमा फेरी नयाँ चीनियाँ स्मार्टफोन ब्राण्ड आउने तयारी गरिरहेको छ । नयाँ चीनियाँ मोबाइल ब्राण्डलाई नेपालको चर्चित व्यवसायीक समूह लक्ष्मी ग्रुपले ल्याउन लागेको हो ।

कम्पनीले चीनको स्मार्टफोन ब्राण्ड कूलप्याड (Coolpad) नेपाली बजारमा ल्याउने तयारीमा लागेको हो । कम्पनीले कूलप्याड ब्राण्डलाई नेपाल भित्र्याउने भएको कम्पनीसँग नजिक स्रोतले जानकारी दियो । “विभिन्न फोन ब्राण्ड भित्र्याउने प्रयास गरेपछि अन्तत: कूलप्याड ब्राण्ड लक्ष्मी समूहले ल्याउन लागेको हो,” स्रोतले भन्यो । कम्पनीले संभवत तिहार अगाडि मोबाइल ब्राण्ड सार्वजनिक गर्ने अनुमान छ ।

लक्ष्मी समूहले यसअघि विभिन्न चर्चित चीनियाँ मोबाइल ब्राण्ड नेपालमा ल्याउने प्रयास गरेपनि असफल भएको थियो । कम्पनी स्रोतले विभिन्न मोबाइल ब्राण्डहरुसँग व्यवसाय गर्ने प्रयास गरेको जानकारी दियो । स्रोतले दाबी गर्यो, “यसअघि कम्पनीले विभिन्न चीनियाँ मोबाइल ब्राण्डहरु सँग कुराकानी गरेपनि ती प्रयास असफल भएका थिए ।” कम्पनीले यसअघि शाओमी, मेजू, भिभोलगायतका ब्राण्डसँग छलफल गरेको केहि अपुष्ट जानकारीहरु यसअघि नै आईसकेका थिए ।

पछिल्लो समय भने कम्पनीले ‘गुपचुप’ काम गरेर कुलप्याड ल्याउन सफल भएको बताईएको छ । कूलप्याण्डको सबैभन्दा नयाँ स्मार्टफोन कूलप्याड नोट ५ ल्याएर नेपालमा नयाँ व्यवसाय शुरु गर्ने तयारीमा कम्पनी लागेको अनुमान गरिएको छ । coolpad-note-5_01

मोबाइल कम्पनीको नेतृत्व निरन्जन श्रेष्ठले गर्नेछन् । निरन्जन श्रेष्ठ युवा उद्यमी मंचको पूर्व अध्यक्ष हुन भने उनले लक्ष्मी ग्रुपको तर्फबाट दूग्ध व्यवसाय पनि हेरिरहेका छन् । यसको लागी समूहले सहायक कम्पनी सुजल ट्रेडिङ नामक कम्पनीबाट मोबाइलको व्यवसाय गर्नसक्ने अनुमान गरीएकाे छ । तर अझैपनि कुन कम्पनीको नाममा मोबाइल व्यवसाय आउने छ भन्ने स्पष्ट तथ्य आईसकेको छैन् ।

कम्पनीले मोबाइल व्यवसायलाई अगाडि बढाउन टेलिटक प्रा.लि.को कलर्स मोबाइल ब्राण्डकाे नेशनल सेल्स म्यानेजरको रुपमा कार्यरत सचिन उदासलाई मोबाइलको व्यवसाय हेर्नेगरि सेल्स एण्ड मार्केटिक म्यानेजरको रुपमा नियुक्त गरिसकेको छ । सचिन कलर्स मोबाइलमा मार्केटिंग म्यानेजरको रुपमा पनि अनुभव हासिल गरिसकेका व्यक्ति हुन् ।

कम्पनीले कूलप्याड ब्राण्डलाई नेपालमा भित्र्याउनका साथै फिचर फोनहरुको पनि व्यवसाय गर्नसक्ने मोबाइल क्षेत्रका जानकारहरुले दिएका छन् । लक्ष्मी ग्रुपले आफ्नै छुट्टै ब्राण्डमा नै फिचर फोनहरु ल्याएर व्यवसाय गर्ने चर्चा बजारमा चलेको छ । तर यसको स्पष्ट आधारहरु भने आईसकेको छैन् ।

कूलप्याड चीनको टेलिकम्प्यूनिकेसन्स सामाग्री उत्पादक हो, जसको मूख्य कार्यालय सेन्झेनमा रहेको छ । यो चीनको सबैभन्दा ठूला स्मार्टफोन कम्पनीहरुमध्ये एकमा पर्दछ । यसले भारतमा पनि व्यवसाय विस्तार गरेको छ । भारतमा यसले भिडियोकोनसँगको सहकार्यमा कूलप्याडका फोनहरु एसेम्बल्ड गर्दछ ।coolpad_laxmi-group-01

केहि समयअधि कूलप्याण्डको सबैभन्दा नयाँ स्मार्टफोन कूलप्याड नोट ५ (Coolpad Note 5) (जुन भारतमा सार्वजनिक भएकाे थियाे) को तस्विर कम्पनीका एक उच्च तहका कर्मचारीले आफ्नो फेसबुक वालमा पोस्ट गरेका छन् । उनले फोटो पोष्ट गर्दै यो तस्विरको बारेमा बताउनेलाई पुरस्कृत पनि गर्ने उल्लेख गरेका छन् । उक्त पोष्टका बिजेतालाई कम्पनीले कात्तिक १० गते पुरस्कृत गर्ने उल्लेख गरिएको छ ।

यो पोष्टबाट थाहा हुन्छ कम्पनीले तिहार अगाडि नै कूलप्याड ब्राण्ड सार्वजनिक गर्ने तयारी गरेको छ । र उक्त ब्राण्डको घोषणा संभवत कात्तिक १० गते नै हुनसक्दछ ।

Global Bank
easy care

प्रकाशित: ३० आश्विन २०७३, आईतवार