भाइबरले नेपालमा लगानी गर्ने, नेपाली भाषाका स्टीकरहरुमा ध्यान केन्द्रित

Technology Khabar ९ असार २०७३, बिहीबार

भाइबरले नेपालमा लगानी गर्ने, नेपाली भाषाका स्टीकरहरुमा ध्यान केन्द्रित
भाइबरका दक्षिण एशियाली क्षेत्रिय प्रमुख अनुभव नायर पत्रकार सम्मेलनमा बोल्दै । तस्वीरः मोबाइल्सखबर

काठमाडौं, ९ असार । भ्वाईस कल तथा म्यासेजिंग एप भाइबरले नेपालमा आफ्नो सेवाहरु बिस्तार गर्दै लगानी गर्ने भएको छ । भाइबरले नेपालमा प्रयोगकर्ताहरुको बढ्दो संख्यालाई ध्यानमा दिएर नेपाली भाषामा नै आफ्ना सेवाहरु बिस्तार गर्ने भएको हो ।

चर्चित भ्वाईस कल तथा म्यासेजिंग एप भाइबरले नेपालमा विभिन्न क्षेत्रमा सहकार्य गर्ने कम्पनीहरुको खोजीमा रहेको जानकारी दिँदै यसको सेवालाई भविश्यमा थप बिस्तार गर्ने जनाएको छ । कम्पनीले आज पत्रकार सम्मेलन गर्दै नेपाल भाइबरका लागि निकै महत्वपूर्ण बजार भएको बताएको छ । कम्पनीका दक्षिण एशियाली क्षेत्रिय प्रमुख अनुभव नायरले भाइबरका लागि नेपालको बजार र प्रयोगकर्ता महत्वपूर्ण भएको बताए । ‘नेपालमा हामी सेवा बिस्तार गर्न र लगानी गर्न तयार छौं,’ उनले भने, ‘हामी वित्तिय कम्पनी, गैरवित्तिय, एफएमसिजी, सेवा प्रदायकहरुसहितका सबै कम्पनीहरुसँग सहकार्य गर्न तयार छौं ।’

भाइबरले विश्वभर ७ करोड भन्दा बढि प्रयोगकर्ता रहेको र नेपाली प्रयोगकर्ताहरु ४५ लाख भन्दा बढि भएको जानकारी दिएको छ । भाइबरले नेपाली भाषामा नै रहेका स्टीकरहरु पनि ल्याएको छ । यी स्टीकरहरुलाई थप सुधार गर्न र नेपालीकरण गर्न आगामी दिनमा थप प्रयास गरिने स्पष्ट पारेको छ । नेपालमा भाइबर म्यासेजिंगको बढ्दो प्रयोगलाई हेरेर थप लगानी ल्याउन लागेको कम्पनीले जानकारी दियो । दक्षिण एशियाली क्षेत्रिय प्रमुख नायरले भने, ‘हामी स्थानिय कम्पनीसँग हरेक किसिमका सहकार्यका लागि तयार छौं र नेपाली भाषाका स्टीकरहरुमा सुधार गर्नेछौं ।’Viber_Mobileskhabar_2

नेपालमा कति रकम लगानी गर्ने तयारी छ भन्ने मोबाईल्सखबरले गरेको प्रश्नको जवाफ दिँदै नायरले लगानी रकम भने खुलाउन नसकिने बताए । उनले भने, ‘त्यो खुलाउन सकिँदैन र साँच्चै भन्ने हो भने भाइबर मूख्यालयले नै नेपालमा लगानी बढाउने तयारी गरेको हो ।’

भाइबरले हालै सार्वजनिक गरेको मोबाइल पेमेन्ट सेवा हाल नेपालमा प्रयोग नहुने भन्दै आगामी दिनमा उक्त सेवा ल्याउने योजना रहेको जानकारी नायरले दिएका छन् । कम्पनीले हालै भाइबरमा नयाँ सेवा अपडेट गर्दै विश्वका २०० भन्दा बढि मुलुकमा भाईबरबाट पेमेन्ट गर्न सकिने सेवा संचालनमा ल्याएको छ । यो सेवा स्थानिय तहमा भने वेस्टर्न यूनियनमार्फत रकम भूक्तानी गर्न सकिनेछ । त्यसैगरी भाइबर अाउट सेवा नेपालमा संचालन गर्नका लागि पनि मोबाइल सेवा प्रदायकहरुसँग कुराकानी भईरहेको र छिट्टै सेवा घोषणा गर्ने उनले जानकारी दिए ।

भाइबरले यसअघि नै नेपालमा टूबोर्गलगायतका केहि कम्पनीसँग सहकार्य गरिसकेको जानकारी दिएको छ भने नेपालीहरुका लागि पब्लिक च्याट पनि शुरु गरेको छ । जसमा विभिन्न कलाकारहरुलाई आबद्ध गराईएको छ ।

यसअघि भाइबरले नेपाली प्रयोगकर्ताका लागि नयाँ वर्षको अवसर पारेर रु. १० हजार बराबरको स्टीकर निशुल्क प्रयोग गर्न दिएको थियो । भाइबर विशेषगरी भ्वाईस कलमार्फत कुराकानी गर्न तथा म्यासेजिंग सर्भिसका लागि प्रयोग गर्ने गरिन्छ ।

TK Viber

प्रकाशित: ९ असार २०७३, बिहीबार

Loading...