विदेशी दातृ निकायको लगानी र हाम्रो आवश्यकता मेल खाएनः कृषि मन्त्री गजुरेल

Technology Khabar १७ जेष्ठ २०७३, सोमबार

विदेशी दातृ निकायको लगानी र हाम्रो आवश्यकता मेल खाएनः कृषि मन्त्री गजुरेल

काठमाडौं ।

काठमाडौं, १७ जेठ  । नेपालमा दिगो कृषिको विकासः चुनौतीहरु, संभावनाहरु र विकल्पहरु विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सम्मान्न भएको छ ।
इन्टरनेशनल फूड पोलिसी रिसर्च ईन्टिच्यूट(इफ्प्री) द्धारा ईन्टिच्यूट फर इन्टिग्रेटेड डेभपलमेन्ट स्टडिज् (आईआईडिएस) र नेपाल इकोनोमिक एशोसियसन (एनईए) को सह संयोजनमा आयोजित सम्मेलनको उदघाट्न गर्दै कृषि विकास मन्त्री हरिबोल गजुरेलले नेपालमा दातृ निकायको लगानी र नेपाली कृषिको आवश्यकता मेल नखाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै विदेशी निकायहरुले कृषि क्षेत्रमा कार्य गर्दछन तर पहिले कृषिमा आत्मनिर्भर नेपाल अहिले परनिर्भर रहेको छ ।’ नेपालमा कृषिको विकास जुन तिब्रतामा हुनुपर्ने हो त्यो नभएको भन्दै कृषिको प्रचुर संभावनालाई उजागर गर्नुपर्ने स्पष्ट पार्नुभयो । ‘कृषिबाट राष्ट्रिय विकास होस भन्ने नै हो,’ उहाँले भन्नुभयो ।
कृषि विकास मन्त्री गजुरेलले हाम्रो रुची एउटा क्षेत्रमा छ तर विदेशी निकायहरुले हामीलाई अर्कै खाना खुवाईरहेको भन्दै यसले विवाद उत्पन्न भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो रुचीलाई सहयोग गर्नुपर्दछ र यस बिषयमा गंभिर भएर छलफल गरौं ।’
कार्यक्रममा इन्टरनेशनल फूड पोलिसी रिसर्च ईन्टिच्यूट (इफ्प्री)का महानिर्देशक सेंगेन फानले महिला तथा युवाहरुका लागि कृषि क्षेत्रमा थप संभावना श्रृजना गर्नुपर्ने औंल्याउनुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि थ्री ए (अफ्रिका, एग्रिकल्चर, एडोप्टेसन) को सुत्र प्रयोग गरिएको भन्दै अब अफ्रिकाको स्थानमा एशिया आएको जानकारी दिनुभयो ।
महानिर्देशक फानले प्राकृतिक प्रकोप, खाद्य सुरक्षा चुनौतीहरु, जलवायु परिवर्तन, जनसंख्या वृद्धिजस्ता चुनौतीहरु वैश्विक खाद्य प्रणालीमा देखिएको भन्दै त्यसलाई न्यूनिकरण गर्दै जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दक्ष, जलवायु अनुकुल, पोषण तथा स्वास्थ्य केन्द्रित र समावेशी व्यवसायी मैत्रीसहितको नयाँ वैश्विक खाद्य प्रणालीले विभिन्न चुनौतीहरुको सामना गर्दछ ।’
त्यसैगरी कार्यक्रममा यूएसएडका खाद्य तथा सुरक्षा लिडर, डा. बेलेले नेपालले खाद्य असुरक्षा कम गर्न प्रयास गरिरहेकोमा सह्राना गर्दै नेपालको कृषिको विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । पोषण र खाद्य सुरक्षामा सम्मेलनको ध्यान केन्द्रित हुने उहाँको अपेक्षा थियो ।
नेपाल अर्थशास्त्र संघका अध्यक्ष डा. विश्वम्भर प्याकुरेलले नेपालमा खाद्यान्न खपतको प्रवृत्ति फरक हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै कृषिको विकासका लागि दिईने सुझावहरु सरकारले अवलम्बन गर्नेमा आशंका व्यक्त गर्नुभयो ।
ईन्टिच्यूट फर इन्टिग्रेटेड डेभपलमेन्ट स्टडिज् (आईआईडिएस)का कार्यकारी निर्देशक डा. बिष्णु देव पन्तले सम्मेलनमा नेपालको कृषि क्षेत्रमा देखिएका चुनौतीहरुको बारेमा छलफल गरिने जानकारी दिनुभयो । यस सम्मेलनबाट आएको निचोड आगामी दिनमा कृषिको विकासका लागि उपयोग गरिने आशा व्यक्त गर्नुभयो ।
न्यून उत्पादकत्व, उच्च अस्थिरता, जलवायू परिवर्तनको आकस्मिक असर, पर्याप्त पूर्वाधार तथा लगानीको कमी जस्ता चुनौतीहरुको बारेमा छलफल गरि आगामी दिनका लागि निष्कर्ष निकालिने सम्मेलनको उद्धेश्य रहेको छ । दुई दिने सम्मेलनमा नेपाल, भारत, अमेरिकासहितका विभिन्न मुलुकहरुबाट कृषि अनुसन्धानकर्मी, विज्ञ, सरकारी अधिकारी, दातृ निकाय तथा निजी क्षेत्रका करिब एक सय प्रतिनिधिहरुको सहभागीता रहेकोछ ।

Global Bank
easy care

प्रकाशित: १७ जेष्ठ २०७३, सोमबार

ताजा समाचार