ह्वावेद्धारा सामसुंग विरुद्ध प्याटेन्ट उल्लंघनको आरोप, नगद क्षतिपूर्तिको दाबी

Technology Khabar १२ जेष्ठ २०७३, बुधबार

ह्वावेद्धारा सामसुंग विरुद्ध प्याटेन्ट उल्लंघनको आरोप, नगद क्षतिपूर्तिको दाबी

काठमाडौं, १२ जेठ । ह्वावेले मोबाइल डिभाइस तथा सेल्यूलर कम्यूनिकेसन्स टेक्नोलोजीको प्याटेन्टको उल्लंघन गरेको भन्दै अदालतमा मुद्धा दिएको छ । ह्वावेले सामसुंग इलेक्ट्रोनिक्सको विरुद्ध अमेरिका तथा चीनमा प्याटेन्ट उल्लंघन गरेको भन्दै मुद्धा दायर गरेको हो । त्यसैगरी ह्वावेले अमेरिकाको क्यालिफोर्नियाको जिल्ला अदालत तथा सेन्जेनको मध्यमवर्ती जन अदालतमा पनि नालिस दिएको जनाएको छ ।

उक्त उजुरीमा ह्वावेको बौद्धिक सम्पत्तिको उल्लंघन सामसुंगले गरेको हुँदा क्षतिपूर्तिको दाबी गरिएको छ । उक्त बौद्धिक सम्पत्तिअन्तरगत सेल्यूलर कम्यूनिकेसन्स टेक्नोलोजीसँग सम्बन्धित प्याटेन्ट तथा सामसुंगका मोबाइल फोनहरुमा ह्वावेको सफ्टवेयर प्रयोगको विषय रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Huawei Vs Samsung
ह्वावे र सामसुंग विच सेल्यूलर कम्यूनिकेसन्स टेक्नोलोजी प्याटेन्ट लगायत विषयमा विवाद । तस्विरः गूगलबाट

ह्वावेले सेल्यूलर नेटवर्कसँग सम्बन्धित स्ट्याण्डर्ड ईसेन्सियल प्याटेन्टको अधिकार भएको मूख्य कम्पनी रहेको र ह्वावेले निश्पक्ष, सूपथ, र बिना भेदभाव लाइसेन्स दिने गरेको भन्दै बिना कुनै लाइसेन्स अनुमति अन्य कम्पनीले प्रयोग गरेमा क्षतिपूर्ति हुनुपर्ने दाबी गरेको छ ।

ह्वावेको इन्टेलेक्च्यूअल प्रपर्टि राईट्स डिपार्टमेन्टका अध्यक्ष डिंग जिआनजिंगले भने, ‘यो क्षेत्रमा रहेका कम्पनीहरुले यो क्षेत्रलाई खुलारुपमा अगाडि बढाउन र अविस्कारलाई साथै लान लागि एकआपसमा सँगै कार्य गर्नुपर्ने ह्वावेको विश्वास छ । हामी अन्यको प्याटेन्टको सम्मान गर्दछौं र हाम्रो आफ्नो पनि रक्षा गर्दछौं ।’

उनले थपे, ‘हामी सामसुंगले ह्वावेको अनुसन्धान तथा विकास लगानी तथा प्याटेन्टको सम्मान गर्ने आशा गर्दछौं । हाम्रो प्याटेन्टहरुको उल्लंघन गर्न रोक्नुपर्दछ र ह्वावेसँग आवश्यक लाइसेन्स लिन सक्नेछ ।’

उता सान फ्रान्सिस्कोमा संघिय अदालतमा दर्ता गरिएको उजुरीअनुसार सामसुंगले ११ वटा फोरजी इन्डष्ट्रि स्ट्याण्डर्डसँग सम्बन्धित प्याटेन्ट उल्लंघन गरेको दाबी गरेको ब्लूमबर्गले जनाएको छ । ह्वावेले नगदमा क्षतिपूर्तिको माग गरेको छ । उजुरीको सार्वजनिक भएको खण्डमा ह्वावेले सामसुंगका उत्पादनहरुको अमेरिकामा बिक्रीमा रोक लगाउनका लागि भने माग गरेको छैन् ।

ह्वावेले सन् २०१५ मा ९.२ बिलियन अमेरिकी डलर बराबरको लगानी अनुसन्धान एवं विकासमा खर्च गरेको जनाएको छ । यो कम्पनीको वार्षिक आम्दानीको कूल १५ प्रतिशत रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १२ जेष्ठ २०७३, बुधबार

Comments are closed.

Loading...