संमृद्धिसहितको समाजबाद उन्मुख बजेटः अर्थमन्त्री

Technology Khabar ५ जेष्ठ २०७३, बुधबार

संमृद्धिसहितको समाजबाद उन्मुख बजेटः अर्थमन्त्री

काठमाडौं ।

काठमाडौं, ५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले संमृद्धिसहितको समाजवाद उन्मुख बजेट ल्याउने भन्दै अनुत्तरदायी बजेट नल्याउने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पुर्व बजेट छलफल कार्यक्रममा मन्त्री पौडेलले संविधान, संघियता कार्यान्वयन र नयाँ चरणको आर्थिक विकासका लागि औपचारिक रुपमा सुझाव आएको बताए । रोजगारी सृजना, आर्थिक वृद्धि, कृषि, उर्जा क्षेत्रमा बजेट केन्द्रित गर्न सुझाव आएको भन्दै अर्थमन्त्री पौडेलले उपयुक्त र मूल्यवान सुझावलाई बजेटले समेट्ने आश्वासन दिए ।

संसद्को कृषि तथा जलस्रोत समिति सभापति सांसद् गगन थापाले समयमै बजेट आएपनि खर्च गर्न दिने समय धेरै पछि मात्रै हुने गरेको भन्दै आयोजना कार्यान्वयन गर्न ‘क्यालेण्डर’ बनाएर अगाडि बढ्न अर्थमन्त्रीलाई आग्रह गरे । उनले फागुन महिनामा ‘पोलिसी अडिट’ गर्नुपर्ने र फागनुपछि पनि कार्यान्वयनमा आउन नसकेका आयोजना खारेज हुने व्यवस्था गरिनुपर्ने बताए । विकासको बाधकको रुपमा विद्यमान ऐन, कानून रहेको भन्दै उनले विद्युत ऐन, जग्गा ऐन जस्ता करिब ३५ वटा विभिन्न ऐन छिटो संसद्मा पेश गर्न र पारित गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उर्जाको अभावमा उद्योग संचालन हुन नसक्ने भन्दै उर्जाको विकासमा ध्यान दिनुपर्ने बताए । उर्जाका लागि सरकारले भनेको समयसम्म कुर्न तयार रहेको तर भनिएको समयमा विद्युत पाउनुपर्ने उनको भनाई छ । उनले आगामी बजेटमा छुट र सुविधा नमागेको भन्दै गैरभन्सार अवरोध हटाउन आग्रह गरे । उनले उद्योगमा छिर्ने बाटो सहज भएपनि निस्कने बाटो गाह्रो भएको भन्दै खोलेको उद्योग बन्द गर्ने सहज बाटो बनाइनुपर्ने माग गरे ।

वरिष्ठ अर्थविद् प्रा.डा. विश्वाम्भर प्याकु¥यालले कृषि क्षेत्रको विकास नभएसम्म अरु केहि हुनै नसक्ने उनको भनाई छ । उनले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत कृषि क्षेत्रका लागि विनियोजन गर्नुपर्ने सुझाव दिए । हालको स्थिति आर्थिक संकटबाट मुक्त हुन नसक्ने भन्दै उनले बजेट कार्यान्वयनमा लागि संरचनात्मक परिमार्जन आवश्यक रहेको बताए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्र बैंकका पुर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले उत्पादन वृद्धिमा जोड दिंदै नेपालको कृषि क्षेत्रलाई भारतसँग प्रतिष्पर्धा गर्न सक्ने गरी बजेट ल्याउनुपर्ने बताए ।

कार्यक्रममा सांसद् उदय शम्सेर राणा, नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल शाह, नेपाल उद्योग परिसंघका सतिश मोर, ईप्पानका महासचिव कुमार पाण्डे, नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश अग्रवाल, पर्यटन व्यवसायी भरत बस्नेत, गार्मेट संघका अध्यक्ष अशोक अग्रवाललगायतले आगामी बजेटमा आ–आफ्नो क्षेत्रका सुझाव दिएका थिए ।

Global Bank
easy care

प्रकाशित: ५ जेष्ठ २०७३, बुधबार

ताजा समाचार