आईफोन एसई नेपाली बजारमा, तीन वटा स्टोरेज मोडलमा अाउने

Technology Khabar ३ जेष्ठ २०७३, सोमबार

आईफोन एसई नेपाली बजारमा, तीन वटा स्टोरेज मोडलमा अाउने

काठमाडौं ।

काठमाडौं, ३ जेठ । एप्पलको चार इन्चको स्क्रीन भएको आईफोन एसई (iPhone SE) नेपाली बजारमा आएको छ । निकै अगाडि बजारमा आउने चर्चा रहेपनि भर्खरै मात्र बजारमा आईफोन एसई आएको हो ।

एप्पलको सानो स्क्रीन भएको स्मार्टफोन मनपराउने ग्राहकहरुलाई ध्यानमा राखेर मार्च ३१ तारिखमा विश्व बजारमा बिक्रीका लागि उपलब्ध गरिएको यो फोन करिब डेढ महिनापछि नेपाली बजारमा आएको हो । नेपालमा आईफोन आधिकारिक रुपमा आयात तथा बितरण गर्दै आएको जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्सका प्रबन्ध निर्देशक पवन भिमसरियाले यहि मे १९ तारिखदेखि बजारमा आईफोन सार्वजनिक गर्ने जानकारी दिए । उनले भने, ‘यसअघि अनुमान गरिएको भन्दा केहि ढिलो फोन आयो ।’

कम्पनीकाअनुसार फोन अझै पनि शिपिंगमा नै रहेको छ र भोलीसम्ममा भन्सार क्लियर गरिनेछ । कम्पनीले नेपाली बजारमा आईफोन एसईको तीन स्टोरेज मोडल नै ल्याउने भएको छ । ‘आईफोन एसईको १६ जीबी, ६४ जीबी र १२८ जीबी मोडल नै नेपालमा ल्याउनेछौं ।,’ जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्सका प्रबन्ध निर्देशक भिमसरियाले भने ।

भिमसरियाकाअनुसार हाल बजारमा आईफोन एसईको बारेमा ग्राहकहरुले जानकारी मागिरहेका छन् । कम्पनीले नेपाली बजारमा करिब १ हजार यूनिट आईफोन एसई बिक्री हुने अनुमान गरेको छ ।

जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्सले आईफोन एसईको मूल्य अहिलेसम्म तय नभएको जानकारी दिएको छ ।

उता एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको ओलीज स्टोरले आईफोन एसई अनलाईन बिक्रीका लागि राखेकोछ । उक्त स्टोरमा राखिएको जानकारीअनुसार आईफोन यहि मे १९ तारिखदेखि मात्र खरिद गर्न सकिनेछ ।

ओलीज स्टोरले १६ जीबी इन्टर्नल स्टोरेज भएको आईफोन एसईको मूल्य ५७ हजार ९ सय ५० रुपैंया तोकेको छ भने ६४ जीबीको आईफोन एसईको मूल्य ७० हजार ९ सय ५० रुपैंया तोकेको छ । तर यसको १२८ जीबीको मोडल भने बिक्रीमा राखिएको छैन्  यसको अर्थ हो  यो स्टोरेज क्षमताको आईफोन एसई नेपाली बजारमा आउने छैन् । एप्पलको आईफोनको आधार मूल्य कम्पनीले ३९९ अमेरिकी डलर तोकेको छ । यो मूल्य विभिन्न देशहरुअनुसार फरक हुने गर्दछ ।

ओलीज स्टोरकाअनुसार आईफोन एसईको खरिदसँगै एप्पलको एयरपोड विथ रिमोट एण्ड एमआईसी, लाइटनिंग टू यूएसबी केबल तथा ५ वाटको यूएसबी पावर एडप्टर बक्समा आउनेछ ।

उता आईफोन सिक्स तथा सिक्स एसको विभिन्न भर्सनहरु एनसेलसँग बण्डलिंग भएपनि चार इन्चको आईफोन बण्डलिंग गरिएको छैन् । यसको अर्थ उपभोक्ताले फ्रि सिम यो फोनमा प्रयोग गर्न सक्दछन् ।

नेपाली बजारमा आईफोन एसई चार फरक फरक कलर अप्सनमा उपलब्ध हुनेछ । यसमा रोज गोल्ड, सिल्भर, गोल्ड तथा स्पे ग्रे कलर अप्सनमा किन्न सकिन्छ ।

आईफोन एसईका बिशेषताहरु

कम्पनीले सार्वजनिक गरेको यो आईफोन यसअघिको आईफोन ५ तथा ५ एसको अपग्रेडड भर्सन हो । यो नयाँ आईफोन पनि आईफोन ५ तथा ५ एस जस्तै देखिएपनि यसमा भएका फीचरहरु भने निकै आकर्षक रहेका छन् ।

आईफोन एसईमा एप्पलले पछिल्लो पुस्ताको १.८५ गीगाहर्जको ड्यूल कोर ए ९ चीप प्रयोग गरेको छ । जसमा पावर भिआर जीटी७६०० सिक्स कोर ग्राफिक्स तथा एम नाइन मोसन को प्रोसेसर राखिएको छ ।

यो आईफोन एप्पलले ल्याउने परम्परागत ४ इन्चको डिस्प्लेसहितको छ, जसको रिजोल्यूशन ११३६x६४० पिक्सेल छ । आईफोन एसईमा रेटिना फ्ल्याश राखिएको छ, जसले सेल्फी लिने समयमा यसको स्क्रीनलाई ३ गुणा चमकदार बनाउँछ ।

आईफोन एसईको क्यामरा भने आईफोन सिक्स एस र सिक्स एस प्लसमा भएको गुणस्तर र क्षमताको जस्तै प्रयोग गरिएको छ । यसमा १२ मेगापिक्सेलको आईसाइट रियर क्यामरा छ, जसले फोर के भिडियो खिच्न सक्दछ । तर यसको फ्रन्ट फेसिंग क्यामरा भने १.२ मेगापिक्सेलको मात्र छ, जुन यसअघि आईफोन ५ एसमा राखिएको थियो । एसईले आईफोन सिक्स एसको जस्तै लाइभ फोटोपनि सपोर्ट गर्दछ ।

एप्पलको नयाँ बजेट फोनको रुपमा आएको आईफोन एसईले एप्पल पे सपोर्ट गर्दछ । त्यस्तै यसमा टच आईडि फिंगरप्रिन्ट सेन्सर राखिएपनि आईफोन सिक्स एसको जस्तो द्रूत किसिमको भने छैन् ।

आईफोन हेर्दा यसअघिको आईफोन ५ एसजस्तै देखिन्छ तर यसको एजमा भने केहि परिवर्तन भएको छ । त्यस्तै यसको तौल पनि आईफोन ५ एसको जस्तेै ११३ ग्रामको रहेको छ ।

आईफोन एसईमा फास्टर कनेक्टिभिटी राखिएको छ, जसले १९ एलटिई ब्याण्ड सपोर्ट गर्दछ । त्यस्तै यसमा फास्टर वाईफाई तथा वाईफाई कलिंग सपोर्ट पनि रहेको छ ।

आईफोन सेभेनमा ड्यूल क्यामरा

उता एप्पलको यहि वर्ष आउन लागेको आईफोन सेभेनको बारेमा विभिन्न जानकारीहरु आउने क्रम जारी छ । एप्पलको बारेमा जानकारीहरु सार्वजनिक गर्ने केजीआईका मिंग ची कुओकाअनुसार ५.५ इन्च डिस्प्लेसहितको आईफोन सेभेन प्लसमा कम्पनीले ड्यूल क्यामरा सेटअप राख्नेछ । एप्पलले एकै पटक आईफोन सेभेन तथा सेभेन प्लस ल्याउने अनुमान छ । यसअघि आईफोनको हाई इण्ड कन्फिगरेसनसहितको सेटमा मात्र नयाँ क्यामरा टेक्नोलोजी प्रयोग गर्ने उनले बताएका थिए ।iphone-7-dual-camera-render

अब आएको जानकारीअनुसार आईफोन सेभेनको ५.५ इन्च डिस्प्ले सहिको सबै फोनहरुमा ड्यूल क्यामरा प्रविधि प्रयोग गरिनेछ । यसका साथै एप्पलले ३ जीबीको र्याम प्रयोग गर्ने अनुमान गरिएको छ ।

विश्लेषकहरुका अनुसार सोनी र एलजीले ड्यूल क्यामरा मोडल ५.५ इन्चको आईफोन सेभेनको माग पुरा गर्नेछन् । सोनी तथा एलजीले करिब २० देखि ३० मिलियन यूनिट सन् २०१६ को आर्थिक वर्षमा आईफोनका लागि उपलब्ध गराउनेछन् ।

एन्ड्रोयड बजारमा यसअघि नै ड्यूल क्यामरासहितको स्मार्टफोनहरु आईसकेका छन् । सबैभन्दा पहिले एचटिसीले थ्रीडीका लागि प्रयोग गरेको थियो भने त्यसपछि हुवावे र एलजीको फ्ल्यागशिपमा ड्यूल क्यामरा प्रयोग गरिएको छ ।

Global Bank
easy care

प्रकाशित: ३ जेष्ठ २०७३, सोमबार

ताजा समाचार