एप्पलको आईफोन अब भारतमा उत्पादन हुनसक्ने, फक्सकनले उत्पादन प्लान्ट लगाउँदै

Technology Khabar २८ बैशाख २०७३, मंगलवार

एप्पलको आईफोन अब भारतमा उत्पादन हुनसक्ने, फक्सकनले उत्पादन प्लान्ट लगाउँदै

काठमाडौं ।

काठमाडौं, २८ वैशाख । एप्पलले आफ्ना विभिन्न डिभाइसहरु अब भारतमा उत्पादन गर्ने संभावना देखिएका छन् । एप्पलको डिभाइस उत्पादन गर्ने कम्पनी फक्सकनले (Foxconn) भारतमा नयाँ उत्पादन प्लान्टको लागि जग्गाको खोजीमा रहेको समाचारहरु बाहिर आएका छन् ।

एप्पलको लागि सबैभन्दा ठूलो उत्पादक कम्पनी फक्सकनले भारतको महाराष्ट्रमा राख्ने तयारी गरेको समाचार बाहिर आएको छ । रिपोर्टका अनुसार फक्सकन र भारतीय सरकारबिच सहमती करिब करिब अन्तिम तहमा पुगेको छ । उत्पादन प्लान्ट स्थापना गर्ने सहमती छिटै हुने अनुमान गरिएको छ ।

फक्सकनले भारतको महाराष्ट्रमा करिब १,२०० एकड क्षेत्रफलको जमिनमा रुची राखेको र यो जमिन महाराष्ट्रमा उपलब्ध भएको छ । यसअघि कम्पनीले भारतका विभिन्न राज्यहरुमा पनि जमिनको खोजी गरेको थियो ।

महाराष्ट्रमा लगाईने उत्पादन प्लान्ट स्पष्ट रुपमा आईफोन उत्पादनका लागि केन्द्रित गरिने बताईएको छ । यो नयाँ प्लान्ट राख्ने योजनाको लगानी करिब १० विलियन अमेरिकी डलर रहेको छ । यो सहमतिमा हस्ताक्षर भएको करिब १८ महिनामा नयाँ उत्पादन प्लान्ट संचालनमा आउनेछ ।

फक्सकनले भारतमा सन् २०२० सम्ममा १० देखि २० उत्पादन केन्द्रहरु खोल्ने अपेक्षा राखेको छ । फक्सकनले यसअघि भारतमा नोकियाका डिभाइसहरु निमार्ण गर्ने गर्दथ्यो तर नोकिया क्लाईन्टको रुपमा सन् २०१४ देखि गुमेपछि उत्पादन बन्द भयो ।

यसका अतिरिक्त एप्पपले भारतको हैदराबादमा डेभलपमेन्ट सेन्टर खोल्ने अनुमान गरिएको छ । यो कार्य यहि वर्षको अन्त्यतिर शुरु हुने र यसको लगानी २५ मिलियन अमेरिकी डलर हुने बताईएको छ, जसमा १५० जनाले रोजगारी प्राप्त गर्नेछन् ।

पछिल्ला दिनहरुमा एप्पलले भारतलाई आईफोनका लागि ठूलो संभाबित बजारको रुपमा हेर्दै आएको छ ।

यदि भारतमा एप्पलले नयाँ प्लान्ट संचालन गर्यो भने निश्चितरुपमा आईफोन भारतमा नै उत्पादन हुनेछ र ‘मेड इन इण्डिया’ स्लोगन सहित बजारमा आउनेछ । भारतीय सरकारले विदेशी लगानी भित्र्याउन अहिले ‘मेक इन इण्डिया’ अभियानअन्तरगत आकर्षित गरिरहेको छ ।

माध्यम १  माध्यम २

Global Bank
easy care

प्रकाशित: २८ बैशाख २०७३, मंगलवार

ताजा समाचार