राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईयो, नेपाल सर्टको स्थापना

Technology Khabar २१ बैशाख २०७३, मंगलवार

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईयो, नेपाल सर्टको स्थापना

काठमाडौं ।

काठमाडौं, २१ वैशाख ।  सूचना तथा संचार प्रविधि दिवसका अवसरमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र सूचना प्रविधि विभागको आयोजनामा बेस्ट प्राक्टिस कार्यशाला सम्पन्न भएको छ । उपराष्ट्रपति नन्द बहादुर पुनले कार्यशाला उद्धघाटन गर्दै सबै नागरिकमा प्रविधिको पहुँच पुग्न नसकेको बताए । उपराष्ट्रपति पुनले सूचना प्रविधिको पंहुच पुगेका र नपुगेका नागरिकहरुबीचको दुरी घटाउनुपर्ने धारणा राखेका थिए । ई-गभर्नेन्सलाई ग्रामिण क्षेत्रसम्म विस्तार गर्नुपर्ने बताउँदै उनले विकासका सम्पूर्ण पूर्वाधार प्रविधिमैत्री हुनुपर्ने स्पष्ट पारे ।

कार्यक्रममा विज्ञान प्रविधि मन्त्री शिवलाल थापाले मन्त्रालयको गतिबिधि स्थानीय निकाय ग्रामिण क्षेत्रसम्म पुग्नुपर्नेमा सिंहदरवारमा सिमित भएको स्विकार गरे ।

क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले मे २ लाई सरकारले राष्टियताको मान्यता दिनुपर्ने माग राखे । सवैभन्दा प्राथमिकतामा राख्नुपर्ने प्रविधि क्षेत्र न्यून प्राथमिकतामा परेको भन्दै अध्यक्ष ढकालले सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने हो भने मुलुकको समृद्धिमा सवैभन्दा बढी योगदान पुग्ने दाबी समेत गरे ।

कार्यक्रममा भायनेट कम्यूनिकेशनका मेनेजिङ डाइरेक्टर विनय बोहराले नेपालमा ईन्टरनेटको विगत, वर्तमान र भविष्यका वारेमा प्रस्तुतीकरण दिएका थिए ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०१६ वितरण

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रविधि क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरुलाई राष्ट्रिय पुरस्कारले सम्मान गरिएको छ । कार्यक्रममा वेस्ट आईसीटी युजर ईन पब्लिक सेक्टर अवार्ड २०१६ राष्ट्रिय वाणिज्य बैंकलाई प्रदान गरिएको छ भने वेस्ट आईसीटी युजर ईन प्राईभेट सेक्टर अवार्ड २०१६ प्रोफेस्नल कम्प्युटर सिष्टम प्रालिलाई प्रदान गरिएको छ  ।

नेपाल सर्टको (Nepal CERT) को स्थापना

सूचना प्रविधि क्षेत्रको विकाससँगै विकृती पनि विकरालरुपमा देखिन थालेको र  नेपालमा पनि विभिन्न संघ संस्थाहरुको वेबसाइट ह्याक हुने समस्याहरु तिव्रदरमा भैरहेको सन्दर्भमा क्यान महासंघले Nepal CERT टिम स्थापना गरेको छ । यो टिममा आइटी क्षेत्रका विभिन्न विषयविज्ञहरुको संलग्न हुनुका साथै समस्या समाधानका लागि आवश्यक आधारभूत पूर्वाधारहरु समेत व्यवस्था गरिएको छ । साइवर सेक्यूरिटी लगायतका समस्या आए Nepal CERT टिमलाई खवर गरेमा चाँडो भन्दा चाँडो समस्या समाधानको पहल गर्ने क्यानको भनाई छ । यो सेवा क्यान महासंघ जिल्ला शाखाहरुबाट समेत उपलब्ध हुनेछ ।

कार्यक्रममा प्रविधि क्षेत्रमा कार्यरत नेपालभर संघसंस्थाहरुको संक्षिप्त जानकारी समेटिएको आइटी डाइरेक्ट्री पनि विमोचन गरिएको थियो ।

यसअघि क्यान महासंघले सूचना तथा संचार प्रविधि दिवसलाई सार्थक र व्यवहारिक बनाउने क्रममा विहानै काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो ।

आइसिटी सप्ताह मनाउने क्रममा क्यान महासंघ अन्तर्गत रहेका विभिन्न जिल्ला शाखाहरुले सप्ताहब्यापीरुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् ।

easy care

प्रकाशित: २१ बैशाख २०७३, मंगलवार

ताजा समाचार