Technology Khabar ६ बैशाख २०७३, सोमबार
काठमाडौं, ६ वैशाख । एप्पलले नयाँ आईफोनमा लागि ओएलईडी (OLED) डिस्प्ले प्रयोग गर्ने भएको छ । एप्पलले आगामी वर्ष ल्याउन सक्ने आईफोन सेभेन एसमा (iPhone 7S) मात्र ओएलईडी डिस्प्ले प्रयोग हुने रिपोर्ट आएको छ ।
वाल स्ट्रिट जर्नल को चीनियाँ एडिसनमा आएको एक रिपोर्टअनुसार एप्पलले सामसुंगसँग ३ वर्षको लागि ओएलईडी (अर्ग्यानिक लाइट एमिटिंग डिओड/organic light emitting diode) डिस्प्ले आपूर्ति गर्नका लागि सम्झौता गरेको छ ।
यदि यो समाचार सहि भएमा आगामी दिनमा आईफोनमा पनि ओएलईडी डिस्प्ले देख्न सकिनेछ ।
हाल सामसुंगले आफ्ना मिड रेन्जदेखि प्रिमियम रेन्जसम्मका स्मार्टफोनहरुमा ओएलईडी डिस्प्ले प्रयोग गर्दै आएको छ । तर एप्पलका लागि भने ओएलईडी डिस्प्ले नयाँ विषय हो ।
रिपोर्टमा कति मात्रामा र कुन साईजको एमोलेड (AMOLED) डिस्प्ले आपूर्ति हुने भन्ने स्पष्ट उल्लेख छैन् तर पनि एप्पलले सामसुंगलाई यसअघि नै अर्डर दिईसकेको बताईएको छ ।
यहि गतिमा जाँदा पनि एप्पलले आगामी सन् २०१७ मा सार्वजनिक गर्नसक्ने आईफोन सेभेन एसमा मात्र यो डिस्प्ले प्रयोग हुनेछ । यो वर्ष एप्पलले आईफोन सेभेन ल्याउने चर्चा आई नै रहेका छन् ।
रिपोर्टमा उल्लेखित स्रोतका अनुसार सामसुंग १०० मिलियन यूनिटभन्दा तल उत्पादन गर्नेछैन् भने यसको साइज ५.५ इन्चको एमोलेड प्यानेल हुनेछ । यसले एप्पलको आईफोन सेभेन एस प्लस भर्सनमा यस्तो डिस्प्ले प्रयोग हुने संकेत दिन्छ । तर अहिलेको ४.७ इन्च डिस्प्ले भएको आईफोनमा भने यो डिस्प्ले प्रयोग हुनेमा अझै आशंका नै छ ।
एप्पलको डिस्प्ले बनाउनका लागि सामसुंगले यसको एसान प्लान्टको सबै उत्पादन लाइनमा नै आमूल सुधार गरेको छ ।
तर अर्कोतर्फ एप्पलको ख्यातीप्राप्त विश्लेषक मिंग ची कुओले भने यस्तो डिस्प्लेसहितको आईफोन सन् २०१८ भन्दा पहिले नआउने यसअघि उल्लेख गरेका थिए ।
एप्पल र सामसुंग बिचको सम्झौताको बारेमा सामसुंगको ओएलईडी डिस्प्ले बनाउने कम्पनी सामसुंग डिस्प्लेले भने अझै बताएको छैन् । त्यस्तै यो डिस्प्ले एजसहितको, यूएक्स हुने वा नहुने केहि उल्लेख छैन् ।
प्रकाशित: ६ बैशाख २०७३, सोमबार