आईफोन एसई अप्रिल तेस्रो सातादेखि नेपालमा, मूल्य ५० हजार रुपैंया माथि

Technology Khabar २१ चैत्र २०७२, आईतवार

आईफोन एसई अप्रिल तेस्रो सातादेखि नेपालमा, मूल्य ५० हजार रुपैंया माथि

काठमाडौं, २१ चैत । एप्पलले मार्च २१ तारिखमा विश्व बजारमा सार्वजनिक गरेको ४ इन्च डिस्प्लेसहितको आईफोन एसई (iPhone SE) नेपाली बजारमा पनि आउने भएको छ । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलको नयाँ आईफोन नेपाली बजारमा यहि अप्रिल तेस्रो सातापछि उपलब्ध हुने भएको छ ।

एप्पलले आईफोन एसई विश्व बजारमा मार्च ३१ तारिखदेखि मात्र बिक्रीका लागि उपलब्ध गराएको थियो भने विभिन्न मुलुकहरुमा चरणबद्धरुपमा यो फोन सार्वजनिक गर्ने घोषणा गरेको थियो ।

एप्पलका आईफोनहरु आधिकारिकरुपमा आयात गर्दै आएको जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्सका प्रबन्ध निर्देशक पवन भिमसरियाले यहि अप्रिलको अन्त्यमा वा मईको शुरुवातमा आईफोन एसई नेपालमा आउने जानकारी दिए । उनले भने, ‘हामी त ल्याउन रेडी छौं तर नियमनकारी निकाय दूरसंचार प्राधिकरणमा टाईप अप्रभुल लिनुपर्ने हुँदा ढिलाई भएको हो ।’

यहि अप्रिलको अन्त्यमा वा मईको शुरुवातमा आईफोन एसई नेपालमा आउने

उनले टाईप अप्रुभलको लागि १५ दिन अगाडि नै निवेदन दिएको जानकारी दिँदै समयमा नै प्राधिकरणले अनुमति दिने संभावना रहेको बताए । नयाँ आईफोन अप्रिलको अन्त्यदेखि ढिलोमा मे महिनाको पहिलो साताभित्र नेपालमा आईसक्ने उनले स्पष्ट पारे ।

उता एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको ओलीज स्टोरका प्रबन्ध निर्देशक लोकेश ओलीले भने अप्रिलको तेस्रो सातासम्ममा एप्पल आईफोन एसई उपलब्ध हुने जानकारी दिए । उनले भने, ‘प्रकृयामा रहेको हामीलाई जानकारी दिईएको छ, यो फोन अप्रिलको तेस्रो सातासम्म आईसक्ने अनुमान छ ।’iPhone SE - Apple 2016-04-03 19-13-40

कति मूल्य ?

नेपाली बजारमा नयाँ आईफोनको मूल्य कति हुने भन्ने अझै स्पष्ट भईसकेको छैन् । नेपालमा यो स्मार्टफोनको मूल्य ५० हजार रुपैंयादेखि ५५ हजार रुपैंयाको हाराहारीमा हुने बताईएको छ । विश्व बजारमा कम्पनीले आईफोन एसईको आधार मूल्य ३९९ अमेरिकी डलर तोकेको छ, जसमा विभिन्न करहरु समावेश गरिएको हुँदैन् ।

नेपालमा भने यो स्मार्टफोनको मूल्य विभिन्न कर, ढुवानी खर्च, बीमालगायत जोड्दा करिब ४४२ अमेरिकी डलर भन्दा बढि हुनसक्ने जेनेरेशन नेक्स्ट कम्यूनिकेसनका प्रबन्ध निर्देशक भिमसरियाले जानकारी दिए । ‘नेपालमा आधार मूल्यमा विभिन्न खर्च तथा करहरु जोड्दा करिब ५० हजार रुपैंयाको हाराहारीमा हुन सक्नेछ ।,’ उनले भने, ‘तर त्यो बेलाको डलरको रेट र अवस्थाले केहि फरक हुनसक्दछ ।

विभिन्न खर्च तथा करहरु जोड्दा करिब ५० हजार रुपैंयाको हाराहारीमा हुन सक्नेछ

उता ओलीज स्टोरका प्रबन्ध निर्देशक ओलीले भने यसको मूल्य करिब ५६ हजारको हाराहारीमा आउनसक्ने दाबी गरे । उनले भने, ‘यसमा विभिन्न कर, बीमा, वारेन्टी र डलरको रेटले गर्दा अहिलेको आईफोन सिक्स एसको बजार मूल्य हेर्दा नयाँ फोनको त्यति मूल्य पुग्न सक्दछ ।’

त्यस्तै नेपालमा आउने ६४ जीबी भर्सनको आईफोन एसको मूल्य आधार मूल्यभन्दा करिब १५ हजार रुपैंया अधिक हुने सक्नेछ ।

एप्पलले नेपालका लागि अझैपनि मूल्यको आधार नदिएको हुँदा केहि भन्न नसकिने जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्सका प्रबन्ध निर्देशक भिमसरियाले स्पष्ट पारे । एप्पलको आईफोन नेपाल भित्रिँदा त्यसको आधार मूल्यसहित सिपिंग कस्ट अर्थात ढुवानी मूल्य, बीमा, वारेन्टी, भन्सार कर, भ्याटलगायतका कर तथा शुल्कहरु जोडिने कम्पनीले जानकारी दियो ।Apple iPhone SE

कुन संस्करण

नेपालमा आईफोन एसईको चारै कलर उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै आईफोन एसईको दुईवटा भेरियन्ट नेपाली बजारमा उपलब्ध हुनेछ । नेपाली बजारमा १६ जीबी आन्तरिक स्टोरेज भएको र ६४ जीबी स्टोरेज भएको आईफोन एसई उपलब्ध हुनेछ । यी दुबैमध्ये ६४ जीबीको मूल्य १६ जीबीको भन्दा बढि तोकिनेछ तर एप्पलले ल्याएको १२८ जीबी स्टारेज भएको मोडल भने नेपालमा आउने छैन् ।

नेपाली बजारमा १६ जीबी आन्तरिक स्टोरेज भएको र ६४ जीबी स्टोरेज भएको आईफोन एसई उपलब्ध हुनेछ ।

बण्डलिंगको संभावना

नेपालमा आईफोन आधिकारिकरुपमा पहिलो पटक सार्वजनिक हुँदादेखि नै मोबाइल क्यारियर एनसेलसँग बण्डलिंग हुँदै आएको छ । अहिले पनि आईफोनका विभिन्न नयाँ मोडलहरु एनसेलसँग बण्डलिंग गरेर मात्र बिक्री हुँदै आएका छन् ।

एप्पलको नयाँ आईफोन पनि एनसेलसँग बण्डलिंग हुने संभावना रहेका भएपनि अहिलेसम्म निश्चित भएको छैन् । जेनेरेशन नेक्स्ट कम्यूनिकेसनका प्रबन्ध निर्देशक भिमसरियाका अनुसार एनसेलले बण्डलिंग गर्न ढिलाई हुँदा पनि बजारमा नआएको हो । नेपालमा एप्पलले बण्डलिंग गरेर मात्र बिक्री गर्न प्राथमिकता दिने हुँदा यस विषयमा एनसेलसँग कुरा भईरहेको उनले जानकारी दिए ।

तर ओलीज स्टोरले भने यो पटक बण्डलिंग हुने संभावना कम रहेको र फ्रि सिम आधारमा नै आईफोन एसई बिक्री गर्ने तयारी गरेको जानकारी दिएको छ । स्टोरका ओलीले भने, यो पटक बण्डलिंगको संभावना कम छ ।

यस्तो बण्डलिंग विदेशमा अधिक हुने गरेपनि नेपालमा भने त्यति धेरै लोकप्रिय छैन् ।

बिक्री कति होला

नेपालमा एप्पल ब्राण्डको प्रभाव निकै राम्रो भएपनि अत्यधिक महंगो हुने हुँदा आईफोनको बजार निकै सानो छ । यहाँ करिब १ हजारदेखि २ हजार यूनिटसम्म प्रिमियम सेटहरु बिक्री भयो भनेपनि संतोष मान्नुपर्ने अवस्थामा एप्पलको आईफोन पनि करिब १ हजार यूनिट बिक्री हुने अनुमान गरिएको छ । जेनेरेशन नेक्स्ट कम्यूनिकेसनका प्रबन्ध निर्देशक भिमसरियाका अनुसार आईफोन एसई करिब १ हजार यूनिट बिक्री हुने अनुमान छ ।

तर यसअघिको आईफोन सिक्स एसको बिक्री राम्रो नभएको दाबी ओलिज स्टोरका ओलीले गरेका छन् । उनले भने, ‘आईफोन सिक्स एसको रेस्पोन्स राम्रो भएन त्यहि भएर हामी धेरै उत्साहित छैनौं ।’

अन्य छिमेकी मुलुकहरु

दक्षिण एशियाली मुलुकमध्ये विश्वको सबैभन्दा ठूलो मोबाइल बजार मध्येको एक भारतमा पनि यो फोन सार्वजनिक भएको छैन् । त्यहाँ पनि यो फोन दोस्रो चरणमा अप्रिल महिनाको पहिलो सातामा मात्र सार्वजनिक गर्ने कम्पनीले यसअघि नै घोषणा गरेको थियो । यो साता अर्थात अप्रिल ६ तारिखमा दक्षिण एशियाली मुलुकहरु माल्दिप्स र श्रीलंकामा सार्वजनिक हुँदैछ भने भारतमा पनि सोहि दिन सार्वजनिक हुने अनुमान गरिएको छ । उता  चीनको बजारमा भने करिब डेढलाई आईफोन एसई यूनिट बिक्री भईसकेको छ भने करिब ३.४ मिलियन भन्दा बढिको अर्डर आएको यसअघि नै सार्वजनिक भईसकेको छ ।

TK Viber

प्रकाशित: २१ चैत्र २०७२, आईतवार

Loading...