एप्पल आईफोन एसईको डेलिभरी शुरु, ४ इन्चको आईफोन बारे भारत र चीनमा सर्वाधिक चासो

Technology Khabar १९ चैत्र २०७२, शुक्रबार

एप्पल आईफोन एसईको डेलिभरी शुरु, ४ इन्चको आईफोन बारे भारत र चीनमा सर्वाधिक चासो

काठमाडौं ।

काठमाडौं, १९ चैत । एप्पलले केहि दिन अघि सार्वजनिक गरेको ४ इन्च डिस्प्ले भएको नयाँ आईफोनको डेलिभरी शुरु गरेको छ । कम्पनीले यहि मार्च २४ गतेदेखि आईफोन एसई (iPhone SE) को प्रि-बुकिंग गर्ने ग्राहकहरुलाई नयाँ आईफोन डेलिभरी शुरु गरेको हो ।

एप्पलले आईफोन एसईका साथै आईप्याड प्रो को प्रि बुकिंग गर्ने ग्राहकहरुलाई आईप्याड प्रोको पनि शिपिंग शुरु गरेको छ ।

कतिपय ग्राहकहरुले आफूले नयाँ आईफोन प्राप्त गरीसकेको भन्दै सोशियल साइटहरुमा जानकारी पनि दिईरहेका छन् । एप्पलले उपलब्ध गराउने नयाँ आईफोन ग्राहकको ठेगाना कहाँ छ भन्ने आधारमा छिटो वा चाँडो हुने बताईएको छ ।

एप्पलले ४ इन्चको नयाँ आईफोन पहिलो चरणमा अस्ट्रेलिया, क्यानाडा, चीन, फ्रान्स, हंगकंग, जापान, अमेरिका, बेलायतलगायतका मुलुकमा उपलब्ध गराउने यस अघि नै जानकारी दिएको थियो ।

तर यो फोनको प्रि-अर्डर तथा डेलिभरी अन्य यसअघिका आईफोनहरुको दाँजोमा त्यति उत्साहजनक नभएको विश्लेषकहरुले उल्लेख गरेका छन् । यो एप्पलको फ्ल्यागशिप मोडल नभएको हुँदा ग्राहकहरुले त्यति धेरै रुची नदेखाएको बताईएको छ ।

विभिन्न मुलुकमा एप्पलको नयाँ ४ इन्चको आईफोनको आकर्षण धेरै नभएपनि विकासोन्मुख बजारहरुमा भने यसको माग र आकर्षण उच्च रहेको छ । विशेषगरी हाम्रा छिमेकी मुलुकहरु चीन र भारतमा आईफोन एसईको बारेमा जानकारी लिनेको संख्या निकै धेरै रहेको सार्वजनिक भएको छ ।

सिमिलर वेबले एप्पलको ट्राफिक वेबसाइटको डाटाको आधारमा समग्रमा ट्राफिक कम भएपनि चीन र भारतबाट आउने ट्राफिक डाटा अत्यधिक रहेको सार्वजनिक गरेको हो । एप्पलले मार्च २१ मा आयोजना गरेको आईफोन एसई सार्वजनिक गरेपछि यसको बारेमा जान्ने ट्राफिक भारतबाट १६० प्रतिशत तथा चीनबाट १५० प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।

यो स्मार्टफोनको माग चीनबाट मात्र ३.४ मिलियन यूनिट आएको यो साताको शुरुवातमा सिएनबिसीले उल्लेख गरेको थियो ।

एप्पलको नयाँ आईफोनको मूल्यले गर्दा पनि बढ्दो बजारको रुपमा रहेको भारत र चीनमा आईफोन एसईको बारेमा धेरै जानकारी खोजिएको हो । यो आईफोनको ३९९ अमेरिकी डलर अर्थात करिब ४२ हजार रुपैंया मूल्यले पनि यसको माग भारत र चीनमा बढि हुने देखिएको हो ।

फोनको लागि ठूलो बजारका रुपमा रहेका यी दुई मुलुकमा विशेषगरी मिड रेन्जका फोनको माग अत्यधिक हुने गरेको छ । त्यस्तै यो आईफोन ४ इन्चको डिस्प्ले भएको फोन खरिद गर्न चाहने ग्राहकहरुका लागि पनि अपग्रेड हुने अवसरको रुपमा रहेको छ ।

एप्पलले गत वर्ष मात्र करिब ३० मिलियन ४ इन्चको आईफोनहरु बिक्री गरेको थियो ।

एजेन्सीहरुको सहयोगमा

easy care

प्रकाशित: १९ चैत्र २०७२, शुक्रबार

ताजा समाचार