Technology Khabar १६ चैत्र २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, १६ चैत । एप्पलले भर्खरै मात्र आफ्नो नयाँ फोनको रुपमा आईफोन एसई सार्वजनिक गरेको छ । एप्पलले मिड रेन्जको फोनको सिरिजमा ४ इन्च स्क्रीन भएको आईफोन सार्वजनिक गरेपछि मोबाइल संसारमा यसलाई पछ्याएर विभिन्न कम्पनीहरुले नयाँ फोन ल्याउने भएका छन् ।
एप्पलको आईफोन एसईलाई पछ्याउँदै चीनियाँ कम्पनी शिओमीले पनि नयाँ ४ इन्चको स्मार्टफोन ल्याउने तयारी गरेको छ । एप्पलले ४ इन्चको सूपर कम्प्याक्ट स्मार्टफोन ल्याएपछि यो श्रेणीमा एन्ड्रोयड भर्सनका विभिन्न फोनहरु आउने अनुमान गरिएको छ । यहि आधारमा शिओमीले पनि नयाँ फोन ल्याउन लागेको बताईएको छ ।
भर्खरै मात्र वेबोमा भएको एउटा ‘लीक’अनुसार चीनियाँ एप्पल पनि भनिने शिओमीले ४.३ इन्च डिस्प्लेसहितको स्मार्टफोन ल्याउन लागेको हो । यो फोन संभबत शिओमी एम टू एसई (Xiaomi M2 SE) को नामले आउनेछ भने यसका फीचरहरु पनि निकै शक्तिशाली हुनेछन् ।
शिओमीको नयाँ डिभाइस स्न्यापड्रयागन ८२० चीपसेटमा आधारित हुनेछ भने यसमा ३ जीबीको र्याम तथा ३२ जीबीको स्टोरेज राखिनेछ । यो फोनको स्क्रीन ४.३ इन्चको ७२० पिक्सेल अर्थात एचडी डिस्प्ले हुनेछ । त्यस्तै यसमा १३ मेगापिक्सेलको सोनी आईम्याक्स२५८ रियर क्यामरा हुनेछ भने फिंगरप्रिन्ट सेन्सर प्रयोग गरिएको हुनेछ ।
शिओमीको नयाँ स्मार्टफोन हेर्दा भने कम्पनीले भर्खरै घोषणा गरेको शिओमी एमआई ५ फ्ल्यागशिप जस्तै देखिनेछ । यसमा २३५० एमएएचको ब्याट्रीका लागि क्विक चार्ज ३.० हुनेछ भने आईफोन एसईको साईजमा नै आउनेछ ।
शिओमीको एम टू एसई स्मार्टफोन यहि जुन महिनामा करिब १७९९ यूआन अर्थात २७६ अमेरिकी डलर मूल्यमा सार्वजनिक हुने अनुमान गरिएको छ ।
यो फोन कम्पनीले एप्पलको आईफोन एसईलाई टक्कर दिन बजारमा ल्याउन लागेको बताईए पनि यसले एप्पललाई ४ इन्च डिस्प्ले श्रेणीमा कस्तो प्रतिस्पर्धा दिन्छ त्यो हेर्न भने केहि समय कुर्नै पर्ने हुन्छ ।
प्रकाशित: १६ चैत्र २०७२, मंगलवार