सामसुंग एस सेभेन तथा एस सेभेन एज यहि बुधवार नेपालमा सार्वजनिक हुँदै,चैत्र ६ गतेदेखि ग्राहकको हातमा

Technology Khabar २३ फाल्गुन २०७२, आईतवार

सामसुंग एस सेभेन तथा एस सेभेन एज यहि बुधवार नेपालमा सार्वजनिक हुँदै,चैत्र ६ गतेदेखि ग्राहकको हातमा

काठमाडौं ।

काठमाडौं, २३ फागुन । सामसुंगको बहुप्रतिक्षित फ्ल्यागशिप ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज नेपाली बजारमा आउने भएको छ ।

सामसुंगले मोबाइल वल्र्ड कंग्रेस २०१६ मा पहिलो औपचारिक रुपमा सार्वजनिक गरेको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज सामसुंगले नेपाली बजारमा भित्र्याउने भएको हो । सामसुंगको नेपालमा अवस्थित कम्पनीले यहि बुधवार एक कार्यक्रमका बिच ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज सार्वजनिक गर्न लागेको हो ।

भारतीय बजारमा पनि सोहि दिन एस सेभेन तथा एस सेभेन एज सार्वजनिक हुने अनुमान गरिएपनि भारतीय संचारमाध्यमहरुले यसको मिती भने तय नभएको जनाएका छन् ।

कम्पनीको उच्च स्रोतकाअनुसार एस सिक्स तथा एस सिक्स एजको सक्सेसरको रुपमा आएको एस सेभेन तथा एस सेभेन एज यहि बुधवार होटल ह्यातमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिनेछ । तर कम्पनीले उक्त कार्यक्रमका लागि यो समाचार तयार पार्दासम्म औपचारिक निम्तो पठाईसकेको छैन् ।

उता सामसुंगको नेपालका लागि आधिकारीक बितरक आईएमएसका प्रेसिडेन्ट दिकेश मलहोत्राले यहि ९ तारिख एस सेभेन तथा एस सेभेन एज दुबै सार्वजनिक गरिने पुष्टि गरे । ‘हामीले दुबै फ्ल्यागशिप फोन सार्वजनिक गर्नेछौं ।’ उनले भने, ‘त्यहि दिन प्रि-बुकिंगको पनि घोषणा गर्नेछौं ।’

कम्पनीले दुबै फोनहरुको प्रि बुकिंग फोन नेपालमा सार्वजनिक गरेको दुई दिनपछि अर्थात मार्च ११ तारिखदेखि १८ गतेसम्म गर्नेछ । ‘मार्च १९ गते पहिलो प्रि बुकिंग गर्ने ग्राहकको हातमा एस सेभेन तथा एस सेभेन एज हामीले उपलब्ध गराउनेछौं ।’ उनले भने ।MobilesKhabar_02

मूल्य कति ?

पछिल्लो दिनहरुमा निकै प्रतिक्षारत स्मार्टफोनको मूल्य भने अहिलेसम्म तोकिएको छैन् । तर पनि एस सेभेनको मूल्य ८० हजार रुपैंया भन्दा तल तथा एस सेभेन एजको मूल्य ९० हजार रुपैंया भन्दा तल हुने प्रेसिडेन्ट मलहोत्राले जानकारी दिए । ‘कम्पनीले यी स्मार्टफोनहरुको मूल्य भारतीय बजारमा कति हुने तोकिन्छ भनेर हेरिरहेको र त्यहिअनुसार केहि तल माथि हुनेछ ।’ उनले भने । तर कम्पनी उच्च स्रोतले भने भारतीय बजारमा भन्दा केहि हजार रुपैंया महंगो हुने जानकारी दिएको छ ।

भारतीय बजारमा एस सेभेनकोे मूल्य करिब ४५ हजार भारु अर्थात ७२ हजार नेपाली रुपैंया हुने अनुमान गरिएको विभिन्न भारतीय संचारमाध्यमहरुले जानकारी दिएका छन् । यो आधारमा हेर्दा नेपाली बजारमा ७५ हजार रुपैंयाको हाराहारीमा तोकिने अनुमान गर्न सकिन्छ ।

अन्य सेवाहरु

सामसुंगको नयाँ स्मार्टफोनहरु खरिदमा ग्राहकहरुले दुईवटा अप्सन पाउने संभावना रहेको छ । एउटा एस सेभेन तथा एस सेभेन एज ह्याण्डसेट मात्र खरिद गर्ने र अर्को बण्डलिंगमा खरिद गर्ने । ग्राहकहरुले ह्याण्डसेट मात्र खरिद गर्दा केहि कम मूल्यमा खरिद गर्न पाउनेछन भने बण्डलिंगमा खरिद गर्दा ह्याण्डसेट सहित सामसुंगका अन्य उत्पादनहरु पनि प्राप्त गर्नेछन् ।

तर कम्पनीले सामसुंगका कुन उत्पादनसँग ह्याण्डसेटलाई नेपाली बजारमा बण्डलिंग गर्ने भनेर छलफल गरिरहेको छ । बण्डलिंगको मूल्य र ह्याण्डसेट मात्र खरिद गर्दाको मूल्यमा भने केहि फरक हुने बताईएको छ ।

कम्पनीले संभवत सामसुंग गियर, भिआर वा ब्लूटूथ डिभाईससँग बण्डलिंग गर्नेछ । प्रेसिडेन्ट मलहोत्राका अनुसार अहिलेसम्म के उत्पादनसँग बण्डलिंग गर्ने तय भएको छैन् । उनले भारतीय बजारमा के हुन्छ त्यहि आधारमा नेपालमा पनि प्रमोशनल कार्यक्रम तय गर्ने योजनामा रहेको बताए । तर कम्पनीले कुनै पनि सेवा प्रदायक वा डाटा प्याकेजजस्तो सेवाको बण्डलिंग नगर्ने उनले स्पष्ट पारे । कम्पनीको नेपालस्थित कार्यालय स्रोतले भने अहिलेसम्म के बण्डलिंग हुने भनेर स्पष्ट नभएको दाबी गरेको छ ।galaxy-s7_s7_edge

बिक्रीको अवस्था

नेपाली बजार सानो भएपनि सामसुंगको निकै महंगो र उच्चतहको स्मार्टफोन एस सेभेन तथा एस सेभेन एजको बारेमा सोधपुछ निकै रहेको छ । यसको पुष्टि नेपालस्थित कम्पनी स्रोतले पनि गरेको छ । त्यहि आधारमा हेर्दा नेपाली बजारमा यो स्मार्टफोन यसभन्दा अघिको एस सिक्स तथा सिक्स एजभन्दा धेरै बिक्री हुने अनुमान कम्पनीको छ । आईएमएसका प्रेसिण्डेन्ट मलहोत्राले पनि यो ह्याण्डसेट पहिलो दिन महिनामा नै ४ हजार यूनिट भन्दा बढि बिक्री हुने अनुमान गरे । उनले भने, ‘यो स्मार्टफोनको प्रतिकृया विश्वभर राम्रो रहेको छ भने नेपालमा पनि निकै सोधखोज भएको छ ।’

यो स्मार्टफोनको बारेमा विश्वभर सकारात्मक रिभ्यूहरु आएको हुँदा नेपालमा पनि त्यसको असर पर्ने अनुमान गरिएकोछ ।

कम्पनीले ८ दिनको प्रि बुकिंगको अवधिमा मात्रै करिब ५०० यूनिट फोनहरु बुकिंग हुने अपेक्षा गरेको छ ।

एस सिक्सको मूल्य

सामसुंगले नेपाली बजारमा नयाँ फ्ल्यागशिप स्मार्टफोन ल्याएपनि एस सिक्स तथा एस सिक्स एजको मूल्यमा कटौती नहुने जानकारी दिएको छ । कम्पनी स्रोतले मूल्यमा विश्व बजारको आधारमा कटौती हुनसक्ने जानकारी दिएपनि आईएमएसका प्रेसिण्डेन्टले भने त्यस्तो संभावनालाई नकारेका छन् । उनले भने, ‘अहिले नै यसको मूल्य घट्दैन् । जति मूल्य र बण्डलिंगमा बेचिरहेका छौं त्यहि नै कायम हुनेछ ।’

उता कम्पनीसँग नजिकबाट काम गररहेको रिटेल स्रोतले विभिन्न शोरुमका बिक्रेताहरुलाई सामसुंगले तालिम दिईरहेको जानकारी दिएको छ । उनीहरुलाई एस सेभेन तथा एस सेभेन एजको फीचरहरुको बारेमा तालिम दिईरहेको हो ।

सामसुंगको एक्सक्लूसिभ ब्राण्डेड सप

यसैबिच आईएमएस स्मार्टले काठमाडौंको चावहिलमा सामसुंगको ब्राण्डेड सप संचालन गर्ने भएको छ । कम्पनीले सोमबार महाशिवरात्रीको अवसर पारेर नयाँ शोरुम संचालनमा ल्याउन लागेको हो । यो शोरुममा सामसुंगका फोनसेटहरु, एसेसरिज तथा टेलिभिजन रेफ्रिजेरेटरसहितका इलेक्ट्रोनिक्स सामाग्री बिक्रीका लागि राखिनेछ ।

आईएमएस स्मार्टको शोरुममा पहिलो पटक आफ्नो टेलिभिजन तथा रेफ्रिजेरेटरजस्ता इलेक्ट्रोनिक्स सामाग्री राखिन लागेको हो । ‘हामीले पहिलो पटक इलेक्ट्रोनिक्स सामाग्री पनि शोरुममा राख्न गईरहेका छौं ।’ आईएमएसका प्रेसिडेण्ट मलहोत्राले बताए ।

आईएमएस स्मार्टले चावहिल केएल टावर नजिकै संचालन गर्ने यो शोरुम २० औं शोरुम हुनेछ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २३ फाल्गुन २०७२, आईतवार

ताजा समाचार