Technology Khabar १६ फाल्गुन २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, १६ फागुन । पछिल्लो समयको सबैभन्दा चर्चित फोन मध्येमा पर्ने सामसुंगको नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एज (S7 Edge) किन्ने सोचमा हुनुहुन्छ भने एकै छिन पर्खनुहोस् । यो फोन तपाईँले साधारण सेटको रुपमा खरिद गर्न चाहनुहुन्छ वा केहि विशेष किसिमले खरिद गर्न चाहनुहुन्छ ?
यदि तपाईँ यो फोनलाई अझ भव्य र आकर्षकरुपमा खरिद गर्न चाहनुहुन्छ भने तपाईँले थप केहि रकम भने पक्कै तिर्नुपर्ने हुन्छ । २४ क्यारेटको सुन जडित सामसुंगको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज खरिद गर्न सकिने भएको छ ।
सामसुंगले केहि दिन अघि मात्र बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेस २०१६ (MWC 2016) मा यी दुबै फ्ल्यागशिपको घोषणा गरेको थियो, जुन बजारमा आउन अझै केहि दिन लाग्नेछ । तर बेलायतको एक कम्पनीले यी दुबै स्मार्टफोनहरुलाई २४ क्यारेटको सुनको जलपसहित ग्राहकहरुलाई बिक्री गर्ने भएको छ ।
सामसुंगले यसको विभिन्न संस्करणको फोनहरुको बिज्ञापन शुरु गरिसकेको बेला बेलायतको ट्रूली एक्यूजीट (Truly Exquisite) नामक कम्पनीले २४ क्यारेट गोल्ड (24K Gold), १८ क्यारेट रोज गोल्ड( 18K Rose Gold) तथा प्लाटिनम प्लेटेड (Platinum) ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एजको प्रि-बुकिंग शुरु गरेको छ ।
यसअघि सामसुंगको ग्यालेक्सी एस सिक्स तथा एस सिक्स एज फोन भियतनाममा रहेको कारालक्स नामक कम्पनीले गोल्ड प्लेटेड भर्सनमा सार्वजनिक गरेको थियो ।
‘हामी यो घोषणा गर्दैछौं की सामसुंगको नयाँ सार्वजनिक भएका फोनहरु विशेष तीन ‘लग्जरी फिनिसेज’मा खरिद गर्न सकिनेछ,’ ट्रूली एक्यूजीटका मालिक तथा प्रमुख कार्यकारी अधिकृत कुनाल पटेलले भने, ‘यो घोषणाको २ दिनमा हामीलाई निकै धेरै मानिसहरुले यी ह्याण्डसेटहरु प्रि अर्डर पाईसकेका छौं ।’
ट्रूली एक्यूजीटले तयार पारेका यी विशेष किसिमको फोनहरु खरिद गर्न ग्राहकहरुले न्यूनतम १ हजार ७ सय स्टर्लिंग पाउण्ड अर्थात २ लाख ६३ हजार ५ सय रुपैंयाको हाराहारीमा तिर्नुपर्ने हुन्छ । यसमा अलग्गै करहरु जोडिने बताईएको छ ।
कम्पनीले यो फोन बजारमा सामसुंगले सार्वजनिक गरे लगत्तै बजारमा ल्याउने दाबी गरेपनि कम्तीमा २१ दिनपछि मात्र उपलब्ध हुनेछ । कम्पनीले यो विशेष फोन विश्वभर जुनसुकै देशहरुमा निशुल्क सिपिंग गर्ने तथा १ वर्षको वारेन्टी दिने जनाएको छ ।
सामसुंगको गोल्ड प्लेटेड फोनहरु विशेष किसिमको लक्जरी उडेन बक्समा आउने छ भने यसका साथमा सामसुंगले दिने सामान्य सबै एसेसरिजहरु पनि आउनेछन् । त्यसैगरी यो फोनसँग गियर भिआर हेडसेट रहनेछ भने वायरलेस चार्जिंग प्याड निशुल्क प्रदान गर्नेछ ।
यो फोन खरिदकर्ताबाट प्राप्त हुने रकमबाट हुने आम्दानीमा ट्रूली एक्यूजीटले ५ प्रतिशत रकम विश्वभरका विभिन्न च्यारिटीहरुलाई प्रदान गर्ने जानकारी दिएको छ ।
सामसुंगको फ्ल्यागशिप फोनहरु केबल ३२ जीबीको संस्करणलाई मात्र कम्पनीले विशेष बनाउने उल्लेख गरेको छ । ग्राहकले यसको ब्ल्याक अथवा प्लाटिनम गोल्ड मोडेल छनौट गर्ने सुविधा दिईएको छ भने यसको ६४ जीबी भर्सन पनि छिटै ल्याउने कम्पनीले स्पष्ट पारेको छ ।
सामसुंगले ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज यहि मार्च ११ तारिखदेखि विश्व बजारमा उपलब्ध हुने घोषणा गरिसकेको छ ।
प्रकाशित: १६ फाल्गुन २०७२, आईतवार