विकासको स्तर उकास्न खाद्य सुुरक्षा आवश्यक

Technology Khabar १३ फाल्गुन २०७२, बिहीबार

विकासको स्तर उकास्न खाद्य सुुरक्षा आवश्यक

काठमाडौं ।

काठमाडौं, १३ फागुन । विश्व खाद्य कार्यक्रम नेपालले नेपालमा खाद्य सुरक्षाको अवधारणाका विषयमा जानकारी दिन बुधबार ‘खाद्य सुरक्षा जानकारी सत्र’ नामक कार्यक्रम आयोजना गरेको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सह–आयोजनामा भएको उक्त कार्यक्रममा विश्व खाद्य कार्यक्रम नेपालकी देशीय निर्देशक पिप्पा ब्य्राड फडले मानव विकास सूचकांकमा नेपाल १ सय ८८ राष्ट्र मध्ये १ सय ४६ औं स्थानमा रहेको र यसलाई माथि उकास्न पनि खाद्य सुरक्षाको प्रत्याभूति आवश्यक भएको बताइन् । ‘विकासको स्तर उकास्न पनि सबै नेपालीले खाद्य सुुरक्षाको प्रत्याभूति पाउनु पर्छ,’ उनले भनिन्, ‘सीमान्तकृत र पिछडिए क्षेत्र समुदाय र वर्गका नागरिकहरुमा खाद्य असुरक्षा बढी देखिएकोले खाद्य सुरक्षा प्रत्याभूत गर्न के गर्न सकिन्छ भन्ने विषयको जरैसम्म गएर अध्ययन गरी कार्यान्वयनमा लाग्नुपर्छ ।’

उक्त कार्यक्रममा विश्व खाद्य कार्यक्रम नेपालकी देशीय निर्देशक(कन्ट्री डाइरेक्टर) पिप्पा ब्य्राड फड, नेपाल खाद्य सुरक्षा अनुगममन प्रणाली(नेक्स्याप)का राष्ट्रिय संयोजक पुष्प श्रेष्ठ र नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीका कार्यक्रम अधिकृत दामोदर कँडेलले कार्यपत्र तथा मन्तव्य राखेका थिए ।

खाद्य सुरक्षासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै तथ्यांक विभागका सहसचिव तथा उपमहानिर्देशक हेमराज रेग्मीले खाद्य असुरक्षाको विषयमा बुझ्न विभिन्न चार आयामहरुका आधारमा विश्लेषण गर्नुपर्ने बताए । ‘विगतमा खाद्य सामग्री उपलब्ध छ कि छैन भन्ने आधारमा मात्र खाद्य सुरक्षालाई हेर्ने गरिन्थ्यो भने अब यो एउटा आधारमा मात्र मूल्याङ्कन गरियो भने गलत गल्ती हुन सक्छ,’ उनले भने, ‘उपलब्धतासँगै पहूँच, प्रयोगको तरिका(सन्तुलित आहारविहार) र खाद्य स्थिरता गरी चारै आधारलाई विश्लेषण गरेर मात्र खाद्य सुरक्षा छ कि छैन भनेर विश्लेषण गर्नुपर्ने हुन्छ ।’

कार्यक्रममा नेक्स्यापका राष्ट्रिय संयोजक पुष्प श्रेष्ठले खाद्य असुरक्षाका विभिन्न ५ तह हुने बताए । न्यूनतम खाद्य असुक्षा, मध्यमस्तरी खाद्य असुरक्षा, उच्च खाद्य असुरक्षा, गम्भीर खाद्य असुरक्षाको तह पार गरेपछि मात्र भोकमरी देखिने बताए । उनले नेपालमा हालसम्म कहीलेकाहीँ कुनै हिमाली जिल्लामा चौथो तहसम्मको खाद्य असुरक्षा देखिएको भए पनि भोकमरीको समस्या भने हालसम्म नदेखिएको उनले बताए ।

कार्यक्रममा नेक्स्यापका कार्यक्रम अधिकृत दामोदर कणेलले नेक्स्यापको अनुगमन प्रक्रियाबारे प्रकाश पारेका थिए। नेस्क्यापले हालसम्म देशका ७४ जिल्लामा प्राविधिक अनुगमन गरेर चौमासिक रिपोर्ट निकाल्ने भए पनि काठमाडौं जिल्लामा भने खाद्य सुरक्षाको अनुगमन गर्न नसकेको स्विकार गरे ।

Global Bank
easy care

प्रकाशित: १३ फाल्गुन २०७२, बिहीबार

ताजा समाचार