Technology Khabar १० फाल्गुन २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, १० फागुन । सामसुंगले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एज (S7 edge) सार्वजनिक गरेको छ । कम्पनीले स्पेनको बार्सिलोनामा जारी मोबाइल वल्र्ड कंग्रेसको (MWC 2016) अवसरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै आईतवार विश्व बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
सामसुंगका एस सेभेनका लाइनअपका स्मार्टफोनहरु यसअघिको ग्यालेक्सी एस सिक्स (Galaxy S6) लाइनको भन्दा केहि मोटो रहेको छ । यसमा रहेको ठूलो क्षमताको ब्याट्रीको कारणले यस्तो भएको हो । त्यसैगरी सामसुंगले एस सेभेन लाइनका फोनलाई वाटर रेसिस्ट (Water Resist) तथा माइक्रो एसडी कार्ड सपोर्ट गर्ने बनाएको छ ।
ठूलो स्क्रीन
सामसुंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस सेभेन र एस सेभेन एजमा ५.१ इन्चको ठूलो स्क्रीन रहेकोछ । यसमध्येको एस सेभेन एजमा क्वाड एचडी (Quad HD) रिजोल्यूशन छ भने यसको स्क्रीन घुमाउरो (Curved) प्रकारको रहेको छ । यसको घुमाउरो स्क्रीनलाई पनि जोड्ने हो भने यसको यसको साइन ५.५ इन्चको हुन्छ । यसको ठूलो स्क्रीनले प्रयोगकर्तालाई विभिन्न एप, न्यूज तथा अन्य कार्यहरुका लागि द्रूत पहुँच दिन्छ ।
ठूलो ब्याट्री (Huge Battery)
नयाँ स्मार्टफोनहरु यसअघिको एस सिक्स लाइनअप भन्दा केहि फरक र मोटो रहेको छ । यसमा कम्पनीले ब्याट्री क्षमतालाई वृद्धि गरेको छ जसले गर्दा यो यसअघिको स्मार्टफोन लाइनअप भन्दा केहि मोटो र ठूलो देखिन्छ । एस सेभेनमा कम्पनीले ३,००० एमएएचको ब्याट्री राखेको छ भने एस सेभेन एजमा ३,६०० एमएएचको ब्याट्री राखेको छ ।
यसअघिको एस सिक्समा सामसुंगले २,५५० एमएएचको ब्याट्री तथा एस सिक्स एजमा २,६०० एमएएचको ब्याट्री राखेको थियो ।
तौल
सामसुंगको एस सेभेन लाइनअपका दुबै फोनहरु केहि मोटो र बढि तौलका रहेको त माथि नै उल्लेख भईसकेको छ । एस सेभेन स्मार्टफोन ७.९ मिलिमिटर मोटाइको तथा १५२ ग्राम तौलको छ, जुन यसअघिको एस सिक्स भन्दा १.१ मिलिमिटर मोटो तथा १४ ग्राम बढि तौलको हो । त्यसैगरी एस सेभेन एज यसको पूर्ववर्ति एस सिक्स एज (S6 edge) भन्दा २० प्रतिशत बढि तौलको छ, जसको तौल १५७ ग्राम छ ।
अलवेज अन डिस्प्ले (Always On Display)
सामसुंगको नयाँ फोनहरुमा अलवेज डिस्प्ले प्रविधि प्रयोग गरिएको छ । यस्तो प्रविधि एलजीको जी सिरिजका फोनहरुमा देखिएको थियो । यो प्रविधि प्रयोगबाट फोन प्रयोग नहुँदा पनि यसको डिस्प्ले अन हुन्छ भने यसमा समय तथा भर्खर गरिएका नोटिफिकेशन लो-पावर मोडमा हेर्न सकिन्छ ।
उच्चस्तरको क्यामरा
सामसुंगले एस सेभेन लाइनअपमा उच्च स्तरको क्यामरा प्रयोग गरेको छ । यसमा नयाँ इमेज सेन्सर तथा लेन्स प्रयोग गरिएको छ । यसमा १२ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ । एसमा नयाँ एफ १.७ (f/1.7) लेन्सले यसअघिका संस्करणका फोनहरुभन्दा ९५ प्रतिशत बढि उज्यालो फोटो खिच्न सक्दछ । त्यसैगरी यसमा “फस्ट एभर ड्यूल पिक्सेल सेन्सर” प्रयोग गरिएको छ, जसले अटो फोकसलाई अझ बढि स्तरिय बनाएको छ । त्यसैगरी यसमा सेल्फीका लागी ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
केहि पुराना विशेषताहरु
सामसुंगले यसअघि एस सिक्स लाइनअपमा वाटर रेसिस्ट, रिमूभेवल ब्याट्री तथा माइक्रो एसडी कार्ड स्लट हटाएको थियो । कम्पनीले ब्राण्डलाई अझ अगाडि बढाउन त्यस्तो गरेको अनुमान गरिएको थियो तर ग्राहकहरुले रुचाएका थिएनन् ।
कम्पनीले फेरि ब्याट्री रिप्लेस गर्न सकिने बनाएको छ भने पुन माइक्रो एसडी कार्ड स्लट एस सेभेन लाइनअपमा ल्याएको छ । एस सेभेन लाइनअपका दुबै फोनहरु ३२ जीबीको स्टोरेज सहित आउँछन भने एसमा २०० जीबीसम्म माइक्रो एसडीको सहयोगमा स्टोरेज बढाउन सकिन्छ । यसमा दुई सिम प्रयोग गर्न सकिने वा एउटा माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिने अप्सन रहेको छ । त्यसैगरी कम्पनीले दुबै फोनलाई आईपी६८ सर्टिफिकेशनका (IP68 certification) साथैमा वाटर रेसिस्ट्यान्ट बनाएको छ ।
मार्शमाल्लो ६.०
कम्पनीका ग्यालेक्सी एस सेभेन तथा सेभेन एजमा एन्ड्रोयडको पछिल्लो अपरेटिंग सिस्टम मार्शमाल्लो ६.० (Marshmallow 6.0) भर्सन राखिएको छ । जसले फोनलाई अझ बढि आकर्षक र शक्तिशाली बनाएको छ ।
यी दुबै फोनमा एनएफसी (NFC) तथा माइक्रो यूएसबी २.० कनेक्टिभीटका लागि राखिएको छ भने फास्ट वायर एण्ड वायरलेस चार्जिग सिस्टम रहेको छ । त्यस्तै यी फोनमा फींगरप्रिन्ट रिडर पनि उपलब्ध रहेको छ ।
दुबै स्मार्टफोनहरु स्न्यापड्रयागन ८२० (Snapdragon 820) अथवा साइनोज ८८९० (Exynos 8890) चीपसेटसहित क्वाड कोर २.१५ गीगाहर्ज प्लस १.६ गीगाहर्ज प्रोसेसरका साथमा आउने छन् । यसमा विभिन्न बजारका लागि अगल अगल चीपसेट प्रयोग गरिनेछ । दुबै फोनमा एलपीडिडिआर ४ भर्सनको ४ जीबीको र्याम प्रयोग गरिएको छ ।
सामसुंग ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एस प्रि-अर्डरको लागी भोली २३ तारिखदेखि उपलब्ध भएपनि खरिदका लागि स्टोरमा मार्च ११ तारिखमा मात्र उपलब्ध हुनेछ । एजेन्सीको सहयोगमा
प्रकाशित: १० फाल्गुन २०७२, सोमबार