Technology Khabar १५ माघ २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १५ माघ । क्यान इन्फोटेक २०१६ राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको ईन्फोटेकको २२ औं संस्करण प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बिच उद्घाटन गरे ।
सरकारले आधुनिक विज्ञान प्रविधिलाई प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाललाई अगाडि बढाउन विज्ञान प्रविधिलाई महत्वका साथ अगाडि बढाउन सरकार संकल्पित रहेको दृढता समेत व्यक्त गरे । ‘राज्यका संयन्त्र इ–गभर्नेन्सतिर, डिजिटलतिर नगई धरै छैन, हामी जस्तो अवस्थामा छौं त्यस्तो अवस्थामा हुने छैनौं,’ उनले भने । अब नेपाललाई सुचनाप्रविधिको युगमा लानुपर्ने र त्यसका लागि सरकारले के गर्नुपर्छ सुझाव दिन पनि आग्रह गरे ।
कार्यक्रममा क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले सूचना तथा संचार प्रविधि ग्रामीण भेगसम्म नपुर्याए ई–नेपालको परिकल्पना साकार नहुने बताए । “यदि नेपाल सरकारको सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउने हो भने आजको ५ वर्षमा हामी ई–नेपाल बनाउन सक्छौं ।” अध्यक्ष ढकालले भने ।
के के छन् क्यान इन्फोटेकमा
करिव ४ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको प्रदर्शनीमा विशेष गरी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज तथा उच्च गतिको इन्टरनेट सेवा, टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुको आकर्षक अफर रहेको छ ।
त्यस्तै बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियत र स्किमका साथ उपलब्ध छन् । मेलामा नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट, सफ्टवेयरहरुमा नयाँ संस्करणसहितको अपडेट मोडल उपलब्ध हुनका साथै नयाँ कम्पनीका उत्पादनहरु समेत भित्र्याएका छन ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई.सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । इन्फोटेकमा जम्मा १८८ स्टलहरु रहेका छन् भने ११२ वटा कम्पनी सहभागि छन् ।
इन्फोटेक अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीहरुलाई रु ५० तोकिएको आयोजकले जानकारी दिएको छ । माघ १७ गते आईतबारलाई ‘विजनेश डे’ को रुपमा घोषणा गरिएको छ । ईन्फोटेक आगामी माघ २० गतेसम्म संचालन हुनेछ ।
क्यान आइसीटी सम्मेलन २०१६ हुने
यसैबिच इन्फोटेककै अवसरमा आइसीटी सम्मेलन पनि हुने भएको छ । सम्मेलन माघ १८ र १९ गते होटल याक एण्ड यति, दरबार मार्ग, काठमाण्डौंमा हुन गईरहेको छ । यस वर्ष साइबर सेक्यूरिटी च्यालेन्जेज एण्ड सोलूसन्स फर डेभलोपिंग इकोनोमिज “Cyber Security: Challenges and Solutions for Developing Economies“ विषयमा हुनेछ ।
सो सम्मेलन क्यान महासंघ र ईन्टरनेट सोसाईटी नेपालले संयक्त रुपमा आयोजना गर्न लागेको हो । सम्मेलनमा साइबर सेक्यूरिटीका विषयहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश हुनेछन् ।
प्रकाशित: १५ माघ २०७२, शुक्रबार