एप्पलले ४ इन्च स्क्रीन भएको आईफोन ल्याउँदै, आगामी अप्रिलमा आईफोन सेभेन सी आउने

Technology Khabar ९ पुष २०७२, बिहीबार

एप्पलले ४ इन्च स्क्रीन भएको आईफोन ल्याउँदै, आगामी अप्रिलमा आईफोन सेभेन सी आउने

काठमाण्डौं, ९ पुस । एप्पलले ४ इन्च स्क्रीन भएको नयाँ आईफोन सेभेन सी (iPhone 7c) सन् २०१६ को पहिलो ६ महिनाभित्रै सार्वजनिक गर्ने भएको छ । यसअघि एप्पलको ४ इन्चको स्क्रीनको पुन उत्पादनको बारेमा विभिन्न किसिमका समाचारहरु आईरहेका थिए ।

एप्पलले पछिल्लो दुई वर्षदेखि ४ इन्च स्क्रीन भएको आईफोनको उत्पादन बन्द गरेको छ । तर कम्पनीले यसलाई पुन उत्पादन गर्ने तयारी गरिरहेको छ । एप्पलको ४ इन्चको स्क्रीन सहितको नयाँ आईफोनको बारेमा चीनमा भएको चाइना मोबाइलको कन्फ्रेन्सबाट सूचना लीक भएको हो ।

उक्त कन्फ्रेन्समा चाइना मोबाइलको (China Mobile) रोडम्यापको प्रिजेन्टेशन स्लाइड लीक भएको थियो, जसको आधारमा ४ इन्च स्क्रीन भएको आईफोन आगामी सन् २०१६ को अप्रिल महिनामा सार्वजनिक हुने उल्लेख छ ।

एप्पलको यो हेटसेटलाई यसअघि आईफोन फाइभ सीको (iPhone 5c) निरन्तरताको रुपमा आईफोन सिक्स सी नाम दिईएपनि यो वास्तवमा आईफोन सेभेन सी भएको छ । उक्त कन्फ्रेन्सको लीक स्लाइडमा आईफोनको नयाँ ४ इन्चको फोनलाई आईफोन सेभेन सी नाम दिईएको माई ड्राइभर्स वेबसाइटले उल्लेख गरेको छ ।

लीक भएको स्लाइडको तस्विर
                                                                               लीक भएको स्लाइडको तस्विर

यसभन्दा पहिले आएको विभिन्न रिपोर्टअनुसार आईफोन सेभेन सीमा टच आईडी फिंगरप्रिन्ट सेन्सर (Touch ID Fingerprint Sensor) हुनेछ । यो फीचर आईफोन फाइभ सीमा थिएन् । त्यसैगरी यसमा ए नाइन चिपसेट तथा एचडी क्यामरा, ८०२.११ एसी वाईफाई, ब्लूटूथ ४.१ वायरलेस स्ट्याण्डर्ड हुनसक्नेछ । फोनमा २ जीबीको र्याम हुनेछ भने यो फोन गोल्ड, ब्ल्याक र सिल्भर कलरमा उपलब्ध हुनेछ ।

त्यसैगरी आईफोन सेभेन सीमा थ्रिडी टच डिस्प्ले हुनेछ । यो फीचर एप्पलले भर्खरै ल्याएको आईफोन सिक्स एस तथा आईफोन सिक्स एस प्लसमा राखिएको छ ।

एप्पलले आईफोन सिक्स सीलाई बजेट स्मार्टफोनको रेन्जमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । समाचारहरुकाअनुसार अप्रिलमा कम्पनीले एप्पल वाच २ लन्च गर्नका लागि इभेन्ट आयोजना गर्नेछ जसमा आईफोन सेभेन सी पनि सार्वजनिक गर्न सक्नेछ ।

उता एप्पलको नयाँ आईफोन सेभेनको भनिएको कथित भिडियो पनि सार्वजनिक भएको छ, जसलाई फक्सकनको प्लान्टमा खिचिएको बताईएको छ । उक्त भिडियोमा एलईडी नभएको क्यामरा देखाईएको छ भने यसको रियर क्यामरा सेन्टरमा रहेको देखाईएको छ । तर यो भिडियो सहि नभएको आईफोनलाई नजिकबाट नियालिरहेका विश्लेषकहरुको भनाई छ ।

यसअघि नै चाइना मोबाइलको आगामी रोडम्यापको लीक भएको स्लाइड तस्विरमा सामसुंग ग्यालेक्सी एस सेभेनको बारेमा पनि जानकारी लीक भएको थियो । एजेन्सीहरु

TK Viber

प्रकाशित: ९ पुष २०७२, बिहीबार

Loading...