Technology Khabar २९ मंसिर २०७२, मंगलवार
काठमाडौं, २९ मंसिर । एप्पलले भारतीय बजारमा आईफोन फाइभ एस (iPhone 5S) को मूल्यमा ठूलो कटौती गरेको छ । कम्पनीले आईफोन फाइभ एसको मूल्यमा अहिलेसम्मकै सबैभन्दा ठूलो कटौती गरेको हो ।
कम्पनीले मूल्यमा कटौती गरेपछि आईफोन फाइभ एसको १६ जीबी भेरिएन्टको मूल्य २२५०० भारु तोकिएको छ ।
एप्पलको नयाँ आईफोन सिक्स एस (iPhone 6S) तथा सिक्स एस प्लस (iPhone 6S Plus) लन्च भएपछि पुराना मोडलहरुमा कमी आईरहेको छ । तर आईफोनको मूल्य भने एकै पटक पचासप्रतिशत हाराहारीमा कटौती गरिएको हो । कम्पनीले आधिकारीकरुपमा भने मूल्य कटौतीको घोषणा गरेको छैन् ।
यो स्मार्टफोन अहिले कयौं ईकमर्श साइटहरुमा यो भन्दा पनि सस्तो मूल्यमा बिक्रीका लागि राखिएको छ । ईकमर्श साइट फ्लिपकार्टमा यो फोन २१,९४८ भारुमा उपलब्ध रहेको छ भने अमेजन तथा स्न्यापडीलमा २१,४९९ मा बिक्री भईरहेको छ । उता एप्पलको आधिकारीक रिटेलर इन्फिबीममा (infibeam) यो स्मार्टफोन २१,८९९ भारुमा बिक्रीका लागि राखिएको छ । त्यसैगरी ईबे इन्डिया ई कमर्श साइटमा ३२ जीबी भर्सनको मूल्य २४,१८५ भारु तोकिएको छ ।
यसअघि सेप्टेम्बरमा आईफोन फाइभ एसको मूल्यमा कटौती गरिएको थियो । सो समय १६ जीबी भेरिएन्टको मूल्य ३५,००० भारु तथा ३२ जीबीको मूल्य ४०,००० भारु रहेको थियो ।
अहिले कम्पनीले आईफोन फाइभ एसको मूल्यमा गरेको कटौती विश्वभरीमा नै सबैभन्दा ठूलो कटौती भएको बताईएको छ । यो मूल्य कटौती भारतीय बजारमा मात्र गरिएको हो । अमेरिकी बजारमा अहिले पनि आईफोन फाइभ एसको मूल्य ४५० अमेरिकी डलर तोकिएको छ । यो मूल्य भारतीय बजारको नयाँ मूल्य भन्दा निकै महंगो हो ।
आईफोन फाइभ एस ४ इन्च स्क्रीनरहितको स्मार्टफोन हो, जुन करिब २ वर्ष पुरानो संस्करण भईसकेको छ । यो फोनमा १.३ गीगाहर्जको ड्यूल कोर ए सेभेन प्रोसेसरका साथमा १ जीबीको र्याम राखिएको छ ।
यसमा ड्यूल एलईडी फ्ल्याशसहित ८ मेगापिक्सेलको रियर क्यामरा तथा १.२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । आईफोन ५ एस एप्पलको पहिलो फिंगरप्रिन्ट स्क्यानरसहितको स्मार्टफोन हो ।
यता नेपाली बजारमा आईफोन फाइभ एस खरिद गर्नु निकै महंगो रहेको छ । यो फोन अहिले पनि नेपाली बजारमा खरिद गर्दा ग्राहकले करिब ५५ हजार रुपैंया भुक्तानी गर्नुपर्ने हुन्छ । एप्पलको आईफोन सेटहरु बिक्री गर्ने ओलिजस्टोरको आधिकारीक साइटमा आईफोन फाइभ एस १६ जीबीको मूल्य ५६ हजार रुपैंया तोकिएको छ भने ३२ जीबीको मूल्य ६२ हजार रुपैंया तोकिएको छ ।
भारतीय बजारमा भएको कटौतीले नेपाली बजारमा पनि आईफोनको मूल्य घट्ने अनुमान मात्रै गर्न सकिन्छ । तर स्थानिय बजारमा मूल्य कहिले र कति रुपैंयाले घट्छ भन्ने कुनै जानकारी छैन् । नेपाली बजारमा जेनेरेशन नेक्स्ट कम्प्यूनिकेसन्स प्रालिले आईफोन बिक्रीको आधिकारिक बितरणको जिम्मा लिएको छ ।
अर्कोतर्फ आईफोनको समग्र विश्व बिक्रीमा कमी आउने एक रिपोर्ट सार्वजनिक भएको छ । मोर्गन स्ट्यान्लेले सार्वजनिक गरेको प्रतिवेदनमा प्रमुख वित्तिय विश्लेषक क्याटी हर्बटले सन् २०१६ मा आईफोनको बिक्रीमा गिरावट आउने प्रक्षेपण गरेका छन् ।
विश्लेषक हर्बटकाअनुसार बैंकले एप्पलको सन् २०१६ को वित्तिय वर्षमा आईफोनको यूनिट बिक्रीमा ६ प्रतिशतको कमी हुने अनुमान गरेको छ । यो कमी सन् २०१६ को वार्षिक रुपमा २.९ प्रतिशत हुनेछ ।
यसअघि आईफोन सार्वजनिक भएदेखि यसको बिक्री प्रत्येक वर्ष वृद्धि भईरहेको छ । सन् २००७ मा पहिलो आईफोन बिक्री शुरु भएपछि कम्पनीले १.४ मिलियन यूनिट बिक्री गरेको थियो ।
स्ट्याटिकाले जम्मा गरेको तथ्यांकअनुसार एप्पलले सन् २०१२ मा १२५ मिलियन सेट आईफोन बेचेको थियो भने सन् २०१५मा त्यो बढेर २३१ मिलियन सेट पुगेको छ । तर मोर्गन स्ट्यान्लेले भने सन् २०१६ वित्तिय वर्षमा करिब २१८ मिलियन सेट आईफोन मात्र बिक्री हुने सोच राखेको छ । एजेन्सीको सहयोगमा
प्रकाशित: २९ मंसिर २०७२, मंगलवार