परनिर्भरताले राष्ट्रिय स्वाधितामा आँच आयो: कृषिमन्त्री

Technology Khabar २९ मंसिर २०७२, मंगलवार

परनिर्भरताले राष्ट्रिय स्वाधितामा आँच आयो: कृषिमन्त्री

काठमाडौं ।

काठमाडौं, २९ मंसिर । मुलुक कृषिप्रधान देश हुँदाहुँदै पनि कृषिमा बढिरहेको परनिर्भरतालाई अन्त्य गर्न यस क्षेत्रमा श्रमशक्ति परिचालन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।

नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)को दोस्रो वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजना गरिएको ‘कृषि विकासका लागि सञ्चार अभियान’ विषयक कार्यक्रममा कृषिमन्त्री गजुरेलले उक्त धारणा राखेका हुन् । सो अवसरमा कृषिमन्त्री गजुरेलले भने, ‘मुलुकमा कृषि उत्पादनमाथि भईरहेको परनिर्भरताका कारण राष्ट्रिय स्वाधिनतामै आँच आएको छ, यसलाई बदल्नका लागि युवा तथा श्रमशक्तिलाई मुलुकमै परिचालन गर्नु अत्यावश्यक छ ।’ हालै मन्त्रालयले जारी रहेको २७ बुँदे कृषि प्रतिबद्वताको दुई तिहाई कार्ययोजनाहरु कार्यान्वयन गर्ने प्रतिबद्वता जनाउदै उनले आगामी दुई वर्षमा कृषिलाई आत्मनिर्भर बनाउने दाबी गरे ।

यस्तै सो अवसरमा उनले उक्त प्रतिबद्वतालाई कार्ययोजनामा परिणत गर्ने तयारी गरिएको जानकारी दिए । कृषि क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न र युवा पलायनलाई रोक्नका लागि यस पेशालाई सम्मानीत पेशाको रुपमा स्थापित गराउन लागि परेको मन्त्री गजुरेलले बताए । राष्ट्रिय पुँजी निर्माणको आधार कृषि र पर्यटन क्षेत्र भएको भन्दै उनले भने, ‘पछिल्लो समयमा जारी रहेको नाकाबन्दीका कारण कार्यक्रमहरु सफल रुपमा अघि लैजान सकिएको छैन ।’ धानको उत्पादन कमी आउने देखिएको भन्दै उनले हिउँदे बालीको उत्पादनलाई वृद्वि गराउने लक्ष्य मन्त्रालयले लिएको बताए । यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले कृषिको विकास नहुँदासम्म मुलुकको आर्थिक विकास तथा समृद्वि सम्भव नहुने जिकिर गरे ।

सो कार्यक्रममा उनले भने, ‘पछिल्लो दश वर्षमा कृषिमा आश्रीत जनसंख्या चार लाखभन्दा बढिले वृद्वि भएको छ । तर कृषिले १२ वर्ष अघि मुलुकको कुल गार्हथ्य उत्पादनमा दिएको करिब ३८ प्रतिशतको योगदान भने यतिबेला ३३ प्रतिशतमा झरेको छ ।’ मुलुकको कुल गरिबीमध्ये ७८ प्रतिशत गरिबी कृषि पेशामै आश्रीत जनसंख्या रहेको उनले बताए । सरकारले कृषिमा रहेको बजेट वृद्वि गरे पनि सोहीअनुसार खर्च हुन नसक्नु दुखद भएको भन्दै केन्द्रीय बैंकका गभर्नर नेपालले युवा जनशक्तिलाई कृषि पेशामै केन्द्रीत गर्ने गरी सरकारी कार्ययोजनाहरु आउने र युवाहरुलाई कृषिमै लाग्न प्रेरित गर्ने पर्ने तर्क गरे ।

गर्भनर नेपालले पश्चिमका विकट १० जिल्ला र मध्य तराईका गरिबी रहेका १ सय १४ गाविस र ३ नगरपालिकामा कृषि कर्जाका लागि विशेष सहुलियतको व्यवस्था गरेको बताए । कृषि पेशालाई अब्बल दर्जाको पेशाको रुपमा रुपान्तरण गर्न आवश्यक भएको भन्दै उनले भने, ‘कृषि कर्जा नपाएका किसानहरु नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आउन सक्ने र उक्त कार्यालयको हटलाईन नम्बरमा सम्पर्क गर्नुहोस् ।’

यस्तै दुर्गम जिल्लाका बाटो नपुगेका स्थानका १० लाख रुपैयाँ ऋण दिने, विकट जिल्लाका किसानलाई १ प्रतिशत र उत्पादनमुखी कृषि, पशुपक्षीपालनमा लागेका किसानहरुलाई चार प्रतिशतमा पुर्नकर्जा दिने निती आईसकेकोले किसानहरुले उक्त सेवाबाट फाईदा लिन सुझाव दिए ।  ‘क्षेत्र नै तोकेर राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा ऋण प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले १ प्रतिशतमा पुनकर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।’ उनले भने ।

यस्तै सो कार्यक्रममा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापाले सरकारले कृषिका लागि लिजमा दिने जग्गाका विषयमा स्पष्ट निती ल्याउन आवश्यक भएको बताए ।

उनले भने, ‘यतिबेला फारम राम्रोसँग भर्नेलाई कृषि अनुदान दिएको छ । सरकारले फारम होईन कृषि तथा पशुपालन फार्महरु हेरेर अनुदान उपलब्ध गराउनुपर्छ ।’ कृषिको अनुदान पारदर्शि नभएको उनले बताए । बैंकहरुले पनि कर्जा उपलब्ध गराउने विषयमा कृषि तथा खाद्यन्नलगायतका उत्पादनहरुलाई पनि प्राथमिकतामा राख्न आवश्यक भएको उनले धारणा राखे ।

यस्तै व्यवसायीक रुपमा किबी खेतीमा लागेका युवा सगुन घिमिरेले नाकाबन्दीका कारण २० टन किबी बाहिरी देशहरुमा निर्यात गर्न नसकेको बताए । किबी खेती प्राथमिकतामा नरहेको भन्दै उनले व्यवसायीक उत्पादनका लागि प्रविधि, प्याकेजिङ, बजारीकरणका लागि सरकारले प्राथमिकता दिनुपर्छ ।

पाँच कृषि पत्रकारलाई पुरस्कार प्रदान

नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना)ले कृषि विकास बहुउद्देश्यीय सहकारी लिको सहकार्यमा यो बर्ष पनि पाँच जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । ‘बी फ्रेस, लिभ फ्रेस’ ब्राण्डसहित विषादिरहित कृषिजन्य वस्तुहरु उत्पादन गर्दै आएको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा कृषि क्षेत्रमा कलम चलाउने पाँच जना पत्रकारलाई सम्मान गरेको हो ।

कृषिमन्त्री हरिवोल गजुरेल, गर्भनर डा. चिरञ्जीबी नेपाल र सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापाले सोमबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा सामुहिकरुपमा विभिन्न जिल्लाका तीन र राजधानीका दुई कृषि पत्रकारलाई प्रतिव्यक्ति नगद दश हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मानीत हुनेमा बिबिसि नेपाली सेवाका सुभाष कार्की, राजधानी दैनिककी लक्ष्मी सापकोटा, गोरखापत्र (कालिकोट) का विष्णु न्यौपाने, नयाँ पत्रिकाका (इलाम)का ख्यामप्रसाद भूजेल र कान्तिपुर दैनिक (दैलेख) का प्रकाश अधिकारी रहेका छन् ।

easy care

प्रकाशित: २९ मंसिर २०७२, मंगलवार

ताजा समाचार