एमएसआईका शक्तिशाली प्रोसेसर सहितको गेमिंग ल्यापटपहरु

Technology Khabar ३ मंसिर २०७२, बिहीबार

एमएसआईका शक्तिशाली प्रोसेसर सहितको गेमिंग ल्यापटपहरु

काठमाडौं, ३ मंसिर । ताइवानी कम्प्यूटर निर्माता कम्पनी एमएसआईले नयाँ ल्यापटप विश्व बजारमा ल्याएको छ । कम्पनीले ब्लिजार्डस् अनलाइन मल्टिप्लेयर गेम हिरोइज अफ दि स्टोर्म (Heroes of the Storm) थिममा नयाँ ल्यापटपहरु ल्याएको हो ।

एमएसआईले नयाँ ल्यापटपहरु सिंगापुरमा आयोजना भएको गेम्सस्टार्ट कन्भेन्सनको अवसर पारेर सार्वजनिक गरेको छ ।
कम्पनीले ब्लिजार्ड इन्टरटेनमेन्टसँगको सहकार्यमा विशेष किसिमको स्कीन्ड भर्सनको तीनवटा जी सिरिजका गेमिंग ल्यापटप ल्याएको हो ।

एमएसआईले जीई६२ अपाचे (GE62 Apache), जीटी७२ डोमिनेटर(GT72 Dominator) तथा जीटी ८०(GT80) ल्यापटप ल्याएको हो । यी तीनवटै ल्यापटपहरु सिंगापुर र मलेशियाका स्टोरहरुमा नोभेम्बर ३० तारिखदेखि मात्र खरिद गर्न सकिनेछ । तर यी ल्यापटपहरु विश्व बजारमा भने कहिलेदेखि खरिद गर्नसकिनेछ भन्ने कुनै जानकारी छैन् ।

गेमस्टार्टमा गरिएको प्रदर्शनअनुसार जीई६२ इन्ट्रि लेभलको ल्यापटप हो । यसमा १५.६ इन्चको डिस्प्ले छ भने इन्टेलको आई सेभेन ६७०० एचक्यू (Intel i7-6700HQ) प्रोसेसरमा संचालन हुन्छ । ८ जीबीको र्याम रहेको यो ल्यापटपमा एनभिडीए जीटीएक्स ९६०एम (NVIDIA GTX 960m) ग्राफिक्स कार्ड प्रयोग गरिएको छ । एमएसआईको यो ल्यापटपको बाहिरी भागमा सम्पूर्णरुपमा हिरोज अफ दि स्टोर्म स्कीन प्रयोग गरिएको छ । इन्ट्रि लेभलको भनिएको यो ल्यापटपको मूल्य २,२९९ सिंगापुर डलर अर्थात करिब १,६१० अमेरिकी डलर तोकिएको छ ।msi-gt72

एमएसआईको अर्को ल्यापटप जीटी७२ हो । यसमा १७.३ इन्चको डिस्प्ले छ भने यसमा इन्टेल कोर आई सेभेन ६८२०एचके (Intel Core i7-6820HK)प्रोसेसर प्रयोग गरिएको छ । यो ल्यापटपमा जीटीएक्स ९८०एम ग्राफिक्स कार्ड प्रयोग गरिएको छ । त्यस्तै यसमा १६ जीबीको र्याम छ भने २५६ जीबीको स्टोरेज तथा १ टीबीको कम्बो ड्राइभ प्रयोग राखिएको छ । यो ल्यापटपमा पनि जीई६२ को जस्तै बाहिरी भागमा सम्पूर्णरुपमा लेजरद्धारा निर्मित हिरोज अफ दि स्टोर्म स्कीन प्रयोग गरिएको छ । यो मोडलको मूल्य ४,५९९ सिंगापुर डलर अर्थात करिब ३,२३० अमेरिकी डलर तोकिएको छ ।gt80titan

कम्पनीको माथिल्लो तहको ल्यापटप जीटी८० भने निकै उच्चस्तरको क्षमता भएको ल्यापटपको रुपमा कम्पनीले ल्याएको छ । यो ल्यापटप फ्यूचरिस्टीक लुकिंग मेशिनको रुपमा आएको छ, जसमा विश्वको पहिलो मेकानिकल कि बोर्ड प्रयोग गरिएको छ । यसमा दुईवटा एनभिडीए जीटीएक्स ९८०एम ग्राफिक्स कार्ड प्रयोग गरिएको छ । यो ल्यापटपमा १८.४ इन्चको आईपीएस डिस्प्ले छ भने यसमा इन्टेल कोर आई सेभेन ६८२० एचके (Intel Core i7-6820HK) प्रोसेसर रहेको छ । यसमा ३२ जीबीको डिडिआरफोर र्याम राखिएको छ ।

यो ल्यापटपको पछिल्लो भागमा ठूलो किसिमको लेजर कट इनग्रेभिंग हेर्न सकिन्छ भने भित्री भागको मेकानिकल किबोर्ड नभएको स्थानमा पनि स्पेशल स्किन प्रयोग गरिएकोछ । निकै शक्तिशाली यो ल्यापटपको मूल्य ५,९९९ सिंगापुर डलर अर्थात ४,२१० अमेरिकी डलर तोकिएको छ ।

यी ल्यापटप खरिदकर्ताहरुले विशेष कोड पाउनेछन र त्यसको आधारमा हिरोइज अफ दि स्टोर्म गेमको स्किन परिवर्तन गर्न र अन्य सुविधा पाउन सक्नेछन् । कम्पनीकाअनुसार यी विशेष किसिमका स्किन बाहेकको ल्यापटप पनि सोहि मूल्यमा खरिद गर्न सकिनेछ ।

प्रकाशित: ३ मंसिर २०७२, बिहीबार

Comments are closed.

Loading...