नाकावन्दीका कारण कृषितर्फ साढे ६३ अर्बको घाटा

Technology Khabar २२ कार्तिक २०७२, आईतवार

नाकावन्दीका कारण कृषितर्फ साढे ६३ अर्बको घाटा
Classic Tech

काठमाडौँ, २२ कात्तिक । प्रमुख गहुँबाली लगाउने मुख्य याम आउँदै गर्दा रासायनिक मल, गहुँको बीउ, भाइटाभेक्स–२०० नपाएर किसान चिन्तित भएका छन् । गहुँ जस्तै अर्का मुख्य खाद्यन्नबाली जौ लगाइने याम पनि अहिले हो । कृषि विकास मन्त्रालयका अनुसार गहुँ तथा जौ बालीका लागि ९२ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ ।

अहिले कृषि सामग्री संस्थानमा जम्मा छ हजार मेट्रिक टन मात्र मल मौज्दात छ ।  नेपालमा करिब सात लाख ६५ हजार हेक्टर जमिनमा गहुँ र करिब २८ हजार हेक्टर जमिनमा जौ खेती गरिन्छ ।  नेपाल–भारत सीमामा अघोषित नाकाबन्दी भएको आज ४५ दिन पुगेको छ । तराई–मधेस आन्दोलनका कारण सीमाक्षेत्रमा भएको अवरोधले नेपालतर्फ आउँदै गरेको १२० मेट्रिक टन रासायनिक मल सुख्खा बन्दरगाहमा थन्किएर बसेको कृषि विकास मन्त्रालयका सहसचिव डा. सुरज पोखरेलले जानकारी दिए ।

राष्ट्रिय कृषक समूह महासंघ र नेपाल कृषि पत्रकार प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको नाकावन्दी र कृषि क्षेत्रमा परेको घाटा बिषयक अन्तरक्रियामा कृषि विकास मन्त्रालयले यस्तो जानकारी दिएको हो । “सरकारले कृषि मलमा रु छ अर्ब रकम अनुदान दिएको छ, यो रकम गत वर्षभन्दा रु तीन अर्ब बढी हो,  समयमा मल ढुवानी गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई भुक्तानी पठाइसकिएको छ, कम्पनीले बोलपत्र आह्वान गरी मल ढुवानी गरिरहेकै अवस्थामा समस्या आएको छ ।” पोखरेलले भने ।   समयमा चाहिने रासायनिक मल सुख्खा बन्दरगाहमा रोकिँदा उत्पादनमा कमी हुन सक्ने सम्भावनालाई बुझेर  सरकारले कृषि सामाग्री कम्पनी लिमिटेडका महाप्रबन्धकको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधमण्डल वीरगन्ज नाकातर्फ पठाइसकेको मन्त्रालयले जनाएको छ  ।

राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष उद्धव अधिकारी जमिन जोत्नका लागि प्रयोग हुने ट्रयाक्टर, पावर टे«लर  इन्धन नभएर सञ्चालनमा आउन नसक्नु, भाइटाभेक्स–२०० सुख्खा बन्दरगाहमा नै थन्किनु र समयमा गहुँको बीउ नपाउनुले उत्पादन वृद्धिमा थप जटिलता पैदा हुन सक्ने बताए । भाइटाभेक्स–२०० गहुँ तथा जौ बालीमा प्रयोग हुने औषधि हो, जुन  प्रयोग गर्नाले गहुँ तथा जौ बालीमा लाग्ने डढुवा, खैरो, पहेँलो सिन्दुरे, कालो पोके, गन्हाउने कालो पोके र धर्सेलगायत रोग निवारण हुन्छ ।  नेपालमा गहुँ तथा जौ लगाइने याममा सरकारले १६ मेट्रिक टन भाइटाभेक्स भारतबाट आयात गर्ने गरेको छ ।

मन्त्रालयले पछिल्लो समयमा भारतले गरेको नाकावन्दीका कारण ४५ दिनको अवधीमा कृषितर्फ ६३ अर्ब ४९ करोड चार लाख ५३ हजार पाँच सय ४१ मूल्यबराबरको क्षति भएको जानकारी दिएको छ । मन्त्रालयले सार्वजनिक गरेको आधिकारिक तथ्याँकअनुसार माछा, फलफूल, तरकारी, मसला, दूध, कुखुराजन्य, खसीबोका, गहुँ र धान तथा मलतर्फ नाकावन्दी पश्चात नेपालले ठूलो मूल्यबराबरको घाटा व्यहोर्न बाध्य भएको हो ।

यस्तै भारतको कलकत्ता वन्दगाह र बिरगञ्जस्थित सुख्खा वन्दरगाहमा रसायनिक मल आएर पनि नेपाली सीमा भित्रन नपाउदा २९ करोड २० लाख ५८ हजार मूल्यबराबरको घाटा पनि यसमा जोडिएको छ । मन्त्रालयकाअनुसार भारतले गरेको अघोषित नाकावन्दीका कारण पछिल्लो ४५ दिनमा कृषितर्फ ठूलो मूल्यबराबरको घाटा भएको छ ।

प्रकाशित: २२ कार्तिक २०७२, आईतवार

Comments are closed.

Loading...