उद्योग व्यवसायका समस्यामा सरकार गम्भीर होस्:सिएनआइ

Technology Khabar १९ कार्तिक २०७२, बिहीबार

उद्योग व्यवसायका समस्यामा सरकार गम्भीर होस्:सिएनआइ
Classic Tech

काठमाडौं, १९ कात्तिक । तराईको आन्दोलन र अघोषित नाकावन्दिको कारण उद्योग व्यवसायमा पर्न गएको समस्याले स्थिति थप चिन्ताजनक भएकोमा नेपाल उद्योग परिसंघ (सिएनआइ)ले समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

उद्योग मन्त्री सोम प्रसाद पाण्डेसँगको भेटवार्ताको अवसरमा परिसंका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उक्त धारणा व्यक्त गरेको हो । सो अवसरमा परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यातले उद्योग व्यवसायमा परेको पिडालाई सम्बोधन गर्न सरकार गम्भीर भएर अगाडी आएको अनुभुति निजी क्षेत्रले महशुस नगरेको गुनासो गरे । उनले कलकत्ता पोर्ट र वीरगन्जको सुख्खा बन्दरगाहमा हजारौं कन्टेनरहरु थन्किएको हँुदा वस्तुको मुल्य भन्दा बन्दरगाह तथा भन्सारमा कन्टेनरहरुको भाडा र त्यसमा पनि जरिवाना बढी लाग्ने अबस्था आएको भन्दै चिन्ता व्यक्त गरे ।

परिसंघले भेटको अवसरमा चरम इन्धन अभावका कारण औद्योगिक उत्पादन तथा कच्चा पदार्थमा आयात निर्यात ठप्प भएकोले तराईमा रहेका २ हजार भन्दा बढी उद्योगधन्दा लगायत आन्दोलन नभएका जिल्लाहरुका उद्योग व्यवसाय समेत बन्द भएको जानकारी गराएको थियो । त्यसैगरी वीरगंज स्थित सुख्खा बन्दरगाहमा वाहिरबाट ल्याईएका हजारौ कन्टेनरहरु र त्यसमा रहेको माल बस्तुहरु महिनौ देखि सम्बन्धित स्थानमा लैजान नसकिएको स्पष्ट पारेको थियो ।

उद्योग मन्त्री पाण्डेले अहिलेको समस्यालाई सरकारले गहिरिएर र गम्भीर भएर अनुगमन गरिरहेको र यसको छिटो समाधान होस भन्ने चाहना रहेको गरे । उनले इन्धनको आपूर्तिको चरम समस्याको कारण उद्योगी व्यवसायीमा परेको मर्का र चिन्ता प्रति सरकार अत्यन्तै चिन्तित भएको र यसको समाधानमा सरकारले यथासिघ्र प्रभावकारी कार्यनीति ल्याउने गरी गृहकार्य गरिरहेको जानकारी दिएका थिए ।

प्रकाशित: १९ कार्तिक २०७२, बिहीबार

Comments are closed.

Loading...