गोदावरी पुष्प प्रदर्शनी हुँदै

Technology Khabar १६ कार्तिक २०७२, सोमबार

गोदावरी पुष्प प्रदर्शनी हुँदै
फाइल फोटो
Classic Tech

काठमाडौं, १६ कात्तिक । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले यहि कात्तिक १९ देखि २२ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा गोदावरी पुष्प प्रदर्शनी आयोजना हुने भएको छ।

कृषि विभाग, कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमको आयोजना तथा फ्लोरिकल्चर एशोसिएसन नेपालको सह-आयोजना नजिकिदै गरेको तिहार पर्वलाई लक्षित गरी प्रतियोगिता सहितको प्रदर्शनी गर्न लागिएको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नारा सहित प्रदर्शनी गर्न लागिएको मेलाका संयोजक दिलिप वादेले जानकारी दिए । मेलामा व्यवसायिक, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टलसहित ३६ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।

गोदावरी फूलको विभिन्न प्रजातीका फूलहरुका साथै अन्य फूल बिरुवा समेत प्रदर्शनीमा राखिने छ । बजारमा पुष्प तथा पुष्पजन्य वस्तुको मागमा प्रत्येक वर्ष १० देखि १५ प्रतिशतका दरले बृद्धि भइरहेकाले मेलाले थप उपभोक्ता आकषिर्त गर्ने अपेक्षा आयोजकको छ ।

यस्तै बैशाखको बिनासकारी भूकम्प, तराई आन्दोलन, भारतको अघोषित नाकाबन्दीका पुष्प व्यवसायमा परेको असर हटाउन पनि मेलाले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

एशोसिएसनका अध्यक्ष लोकनाथ गैरेले अहिलेको समस्याले ४० प्रतिशत मात्र व्यापार भएको गुनासो गर्दै उपभोक्ताले खर्च कटौती गरेर समस्या भएको बताए । उनले यो पटक भारतबाट तिहारका लागि सयपत्री फुल आयात हुने अवस्था नभएको भन्दै नेपाली उत्पादनले नै बजार लिने बताए । उनले भने, ‘नेपाली उत्पादनले नै नेपालको माग धान्छ र सस्तो हुन्छ ।’ अध्यक्ष गैरेका अनुसार नेपालमा तिहारको समयमा करिब ४ लाख वटा सयपत्रीको मालाको माग हुने गरेको छ ।

गत वर्षसम्म नेपालका ३८ जिल्लामा ६ सय ७५ पुष्प र्फम तथा नर्सरीहरु बिस्तार भईसकेका छन् । लगभग १ सय ४१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१ हजार भन्दा बढी व्यक्ति आश्रति रहेको संयोजक वादेले जानकारी दिए । २०६४ सालदेखि गोदावरी फूलको मेला हुँदै आएको छ।

प्रकाशित: १६ कार्तिक २०७२, सोमबार

Comments are closed.

Loading...