सामाजिक संजालमा जथाभावी पोस्ट गर्ने होसियार, ५ वर्षसम्मको कैद र रु१ लाख जरिवाना हुनसक्ने

Technology Khabar १३ कार्तिक २०७२, शुक्रबार

सामाजिक संजालमा जथाभावी पोस्ट गर्ने होसियार, ५ वर्षसम्मको कैद र रु१ लाख जरिवाना हुनसक्ने
Classic Tech

काठमाडौं, १३ कात्तिक । भारतीय नाकाबन्दी र तराई क्षेत्रमा भईरहेको आन्दोलनको बारेमा सामाजिक संजाल (Social Sites) मा विभिन्न किसिमका टिका टिप्पणी भईरहेका छन् । कसैले यो आन्दोलनको समर्थनमा त कसैले यसको विरोधमा विभिन्न किसिमका विचार, भनाई, तस्विरहरु प्रकाशन तथा प्रदर्शन गर्ने क्रम पछिल्ला दिनहरुमा दैनिक जसो हुने गरेको छ । तर यहि गतिविधिका बिचमा केहि मानिसहरुले भने सामाजिक सदभाव नै खलबल्याउने किसिमका सूचना, विचार तथा प्रतिकृयाहरु सामाजिक संजालमा पोस्ट गरिरहेका छन् ।

सामाजिक संजालमा आएका यस्ता सामाजिक सदभाव बिथोलिने र घृणा फैलनोगरी सामाग्री प्रकाशन तथा प्रदर्शनहरुले अराजकता बढाएको अनुभव गर्दै त्यस्ता विषयमा सचेत हुन नेपाल प्रहरी सबैलाई आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा सामाजिक सदभाव बिथोलिने र घृणा फैलनेगरी सामाग्री प्रकाशन तथा प्रदर्शन गर्नेलाई कारबाही गरिने नेपाल प्रहरीले जनाएको छ ।  पछिल्ला दिनहरुमा भारतीय नाकाबन्दी र तराई क्षेत्रमा भईरहेको आन्दोलनका क्रममा सामाजिक संजालमा राखिएका सामग्रीप्रति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार सार्वजनिक सूचनामार्फत ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

सिआइबीले त्यस्ता गतिविधि गर्नेलाई कानुनी दायरमा ल्याइ कारबाही गर्ने चेतावनी पनि दिएको छ । सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने किसिमका कार्यहरु भए गरेको देखिन आएको भन्दै सिआइबीले उल्लेखीत कार्यहरु कानुनले दण्डनीय कार्यको रुपमा परिभाषित गरेको स्पष्ट पारेको छ ।

त्यस्ता कार्यहरु गर्ने र गर्न लगाउने व्यक्तिलाई बिद्युतिय (ईलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ को दफा ४७ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी ब्यबस्था रहेको जारी सूचनामा उल्लेख छ ।

नेपालमा फेसबुक, ट्वीटर, लींक्डइन, यूट्यूवजस्ता सामाजिक साइटहरु अधिक लोकप्रिय रहेका छन् ।यसमध्ये पनि नेपालमा सबैभन्दा धेरै फेसबुक प्रयोगकर्ताहरु रहेका छन् ।

प्रकाशित: १३ कार्तिक २०७२, शुक्रबार

Comments are closed.

Loading...