पिकोभिकोमा प्रिमियम भिडियो मेकिंग वेब एप्लिकेशन थप

Technology Khabar २६ आश्विन २०७२, मंगलवार

पिकोभिकोमा प्रिमियम भिडियो मेकिंग वेब एप्लिकेशन थप

काठमाडौं ।

काठमाडौं, २६ असोज । नेपाली कम्पनी जानकी टेक्नोलोजीले तयार पारेको पिकोभिको (PICOVICO) एपले अनलाईन भिडियो स्लाईड शो गर्न सकिने सेवा सार्वजनिक गरेको छ । यो सेवा अन्तरगत कम्पनीले आफ्ना ग्राहकहरुका लागि प्रिमियम भर्सनको वेब एप ल्याएको हो ।

कम्पनीले पिकोभिको नामको वेब एप्लिकेशन सन् २०१२ मा सार्वजनिक गरेको थियो, जुन हालसम्म २ लाख भन्दा बढि प्रयोगकर्ताले प्रयोग गरिरहेका छन् । कम्पनीले हालै ल्याएको नयाँ एपको बारेमा पिकोभिकोका सहसंस्थापक तथा प्रमुख टेक्निकल अधिकृत ध्रुब अधिकारीले भने, “हामीले प्रत्येक दिन अधिकांश प्रयोगकर्ताहरुबाट अपग्रेडका लागि अनुरोधहरु प्राप्त गरिरहेका थियौं । त्यसैले भिडियो निर्माण गर्ने सेवाको अनुरोधसँगै विश्वभर हामीले यो सेवा बिस्तार गरेका हौं । हामीसँग अहिले २१ भन्दा बढि देशहरुको प्रयोगकर्ताको ट्राफिक रहेको छ । हामीले सार्वजनिक गरेको प्रिमियम भर्सनको सेवाले हाम्रा प्रयोगकर्ताहरुलाई अझ बढि सुविधा दिनेछ ।” MobilesKhabar_2

प्रिमियम भर्सनको पिकोभिको एपले विभिन्न सेवा तथा सुविधाहरुमा थप गरेको छ । यसमा नयाँ र द्रुत गतको जीपीयूमा आधारित भिडियो रेन्डरिंग राखिएको छ, जसले केहि सेकेण्डमा नै भिडियो तयार पार्दछ । त्यस्तै यसमा ६ वटा नयाँ, स्पष्ट र कुलीन भिडियो थीमहरु प्रदान गरेको छ भने यसमा ७२० पिक्सेलसम्मको एचडी भिडियो निर्माण गर्न सकिन्छ ।

यसको इन्टरफेसमा सुधार गरेर अझै साधारण किसिमको बनाईएको छ भने गुगलबाट पनि फोटो ल्याउन सकिने सुविधा थपिएको छ, यसअघि यस्तो सुविधा फेसबुक र फ्लिकरलाई मात्र राखिएको थियो ।MobilesKhabar_1

ठूलो मात्रामा फोटो भिडियो उत्पादन गर्नका लागि यसमा व्यवसायका लागि एपिआई दिईएको छ । त्यसैगरी सीटीए बटन सुविधा, फोटो अपलोड गर्ने क्षमतालाई बढाएर १२ एमबीसम्म पुर्याईएको, एउटा भिडियोमा १ सय वटासम्म फोटो प्रयोग गर्नसकिने, प्रति भिडियोमा १०० वटा स्लाईड राख्न सकिनेजस्ता सुविधाहरु पनि थप गरिएको कम्पनीले जनाएको छ ।

पिकोभिको एप अन्य प्रतिस्पर्धिहरुको तुलनामा निकै सस्तो रहेको र यसको प्रिमियम भर्सन वार्षिक ग्राहकहरुका लागि ६.२५ अमेरिकी डलर प्रति महिना तथा मासिक ग्राहकका लागि ९.४९ अमेरिकी डलर तोकिएको कम्पनीले जानकारी दियो ।

कम्पनीका प्रमुख टेक्निकल अधिकृत अधिकारीले कस्टम भिडियो थीम र आकर्षक कस्टमर इन्गेजमेन्ट प्रदान गर्नेगरी छिटै नै व्यवसायका लागि प्रिमियम एपीआई जारी गर्ने बताए । यसका साथै कम्पनीले उत्सव र कर्पोरेट भिडियोहरुको विभिन्न थीमहरु जारी गर्ने योजना गरिरहेको छ ।

easy care

प्रकाशित: २६ आश्विन २०७२, मंगलवार