Technology Khabar १९ आश्विन २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, १९ असोज । अब आफ्नै हातको हत्केलाको प्रयोगबाट फोन गर्न तथा म्यासेज पठाउन सकिन्छ भन्दा तपाईँलाई पत्यार नलाग्न सक्दछ । अहिले धेरै मानिसहरु कुराकानी गर्नको लागि मोबाइल फोनको प्रयोग गर्ने गर्दछन् । अझ त्यसमाथि स्मार्टफोनले मानिसको जिवनलाई अझ सहज र सरल पनि बनाउँदै लगेको छ । अहिले स्मार्टफोन एक आपसमा कुराकानी गर्ने मात्र नभई दैनिक जिवनका क्रियाकलापलाई पनि सहयोग गर्ने उपकरणको रुपमा परिचित भएको छ । पछिल्ला समय अत्याधुनिक प्रविधिहरुको विकाससँगै मानिसहरुले एक आपसमा जोडिन र सम्पर्क गर्नका लागि विभिन्न अनुसन्धान गरिरहेका छन् । यहि मेसोमा मानिसले भर्च्यूअल की प्याडको सहयोगमा हत्केलाबाट नै कुराकानी गर्न सक्ने प्रविधिको अनुसन्धान भईरहेको छ ।
यो प्रविधिको अनुसन्धान सफल भएमा मानिसले स्मार्टफोन नबोकिकनै आफ्नो स्मार्ट ग्लास (चश्मा) बाट हातको सहयोगमा फोन सम्पर्क गर्ने लगायतका अन्य काम गर्न सक्नेछन् ।
कोरियाली टेक कम्पनी सामसुंगले स्मार्ट ग्लासको सहारामा हातको हत्केलाबाट नै फोन गर्न सक्ने प्रविधिको अनुसन्धान गरिरहेको छ । सामसुंगले स्मार्ट प्रविधिअन्तरगत स्मार्ट ग्लासको विशेष परिक्षण गरिरहेको तथा त्यसको पेटेन्ट दर्ता गराएको छ । कम्पनीले हालै अमेरिकाको यूएस पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा आफ्नो स्मार्ट प्रविधिको बारेमा विभिन्न पेटेन्ट दर्ता गराएको र त्यसको स्वीकृती पाएको छ । त्यसैगरी एउटा पेटेन्ट वर्ल्ड इन्टेलेक्च्यूअल प्रपर्टि अर्गनाइजेशनमा पनि दर्ता गरेको छ ।
सामसुंगले ल्याएको यो डिभाइस यसअघि सर्च कम्पनी गूगलको गूगल ग्लास (Goole Glass) जस्तै रहेकोछ । गूगगले ल्याएको स्मार्ट ग्लास बजारमा असफल भएको भन्दै विश्व बजारमा बिक्री रोकेर यहि जनवरीमा पुन विचार गर्ने भएको थियो । गूगलको यो डिभाइसलाई पूरै असफल डिभाइसको रुपमा लिने गरिन्छ । तर सामसुंगले यस्तै प्रकारको तर यो भन्दा आधुनिक प्रविधिसहितको डिभाइस ल्याउन लागेको हो ।
सामसुंगले ल्याउन लागेको स्मार्ट ग्लास डिभाइसको दर्ता गरिएको पेटेन्टमा उल्लेख भएअनुसार प्रयोगकर्ताले स्मार्ट ग्लासद्धारा थ्रीडी इमेजसहित अन्तरक्रिया गर्न पाउनेछन् । उदाहरको लागि प्रयोगकर्ताले हावामा नै प्रोजेक्टहुने की बोर्डकोमाध्यमबाट फोन डायल गर्नसक्नेछन् भने आफूले चाहेको व्यक्तिलाई म्यासेज पनि टाइप गरेर पठाउन सक्नेछन् । त्यसैगरी प्रयोगकर्ताले भच्र्यूअल पियानोको किवोर्ड पनि प्रयोग गर्नसक्नेछन् ।
सामसुंगले दर्ता गरेको पेटेन्टमा बताईएअनुसार स्मार्ट ग्लासहरुले हावामा नै थ्रीडी इमेज प्रस्तुत गर्नका लागि दुईवटा क्यामरा प्रयोग गरिने छ, जसले भर्च्यूअल इनपुट इन्टरफेस सिर्जना गर्नेछ । यो भर्च्यूअल इनपुट इन्टरफेसले स्मार्टफोनमा प्रयोग गरिएजस्तै प्रयोगकर्तालाई विभिन्न एप्स तथा सेवाहरुसँग अन्तरक्रिया गर्नसक्ने बनाउनेछ ।
तर सामसुंगका इन्जिनियरहरु यो भन्दा पनि एक कदम अगाडि बढेर प्रयोगकर्ताले शारीरिक वस्तुहरुमा वास्तविक वस्तुहरुलाई समाहित गर्नसक्ने र त्यसपछि तिनिहरुलाई स्मार्ट ग्लासमा भएका एप्स तथा सेवाहरुसँग अन्तरक्रिया गराउन सक्नेछन भन्ने बारेमा सोचिरहेका छन् । उदाहरणको लागि प्रयोगकर्ताले फोन कल गर्नु पर्यो वा कुनै टेक्स्ट म्यासेज पठाउनुपर्यो भने, प्रयोगकर्ताले आफ्नै हातको हत्केलामा फोनको की प्याड प्रोजेक्ट गर्नसक्नेछन्, जुन स्मार्ट ग्लासको करिब १० सेन्टिमिटरको दूरीमा हुनेछ भने अर्को हातका औलाहरुले ती की प्याडहरुलाई थिचेर स्मार्टफोनको जस्तै फोन गर्नसक्नेछन् ।
त्यसैगरी प्रयोगकर्ताले सोहि प्रविधिको प्रयोग गरेर क्विक एसएमएस टेक्स्ट टाइप गर्न तथा कन्ट्याक्ट हेर्नका लागि आवश्यक सहि शब्दको छनौट फोनको डिक्सनेरीबाट गर्नसक्नेछन् ।
अझ यो भन्दा पनि अगाडि बढेर प्रयोगकर्ताले भर्च्यूअल पियोनो की बोर्ड ग्लासबाट डेक्समा प्रोजेक्ट गर्न अर्थात हेर्न सक्ने तथा पियानोको भर्च्यूअल की बोर्ड बजाउन सक्नेछन् । त्यस्तै पेन वा औंलाले खाली नोट प्याडमा लेख्न सक्नेछन् भने मोबाइल फोनमा भएको जस्तै कुनै गेम खेल्न वा क्वेर्टी कीबोर्ड प्रयोग गर्नसक्नेछन् । यस्तो अवस्थामा स्मार्टग्लासमा भएको स्पीकरले प्रयोगकर्ताको कानमा साउण्ड प्रशारण गर्नेछ ।
यो प्रविधि प्रयोगमा आएमा यसलाई सिक्थ सेन्स अर्थात छैठौं इन्द्रिय भनिनेछ । यो प्रविधि सन् २००९ मा एमआईटीमा पीएचडी अध्ययन गरिरहेका प्रनव मिस्त्रीले विकास गरेका थिए । हाल मिस्त्री सामसुंगका लागि काम गरिरहेका छन भने उनले सन् २०१३ मा सामसुंग गियर भीआरको पहिलो संस्करण प्रस्तुत गरेका थिए ।
यो प्रविधि सफल हुन्छ वा हुँदैन भन्नेमा अहिले आशंका नै रहेको छ । कतै यो पनि गूगलको स्मार्ट ग्लासजस्तै असफल हुने त होइन् ? भन्ने प्रश्न उब्जिएको छ । एजेन्सीको सहयोगमा
प्रकाशित: १९ आश्विन २०७२, मंगलवार