बढीमा ३ महिना मात्र औषधि पुग्छः औषधि व्यवसायी

Technology Khabar १५ आश्विन २०७२, शुक्रबार

बढीमा ३ महिना मात्र औषधि पुग्छः औषधि व्यवसायी

काठमाडौं ।

काठमाडौं, १५ असोज । भारतको अघोषित नाकाबन्दीले नेपालको स्वास्थ्य क्षेत्रमा पनि प्रभाव पर्दै गएकोमा औषधि व्यवसायी र चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका महासचिव हरि बिडारीले आफूहरुसँग अब तीन महिनासम्म मात्र पुग्ने औषधि रहेको बताए । ‘तीन महिनाका लागि पुग्ने औषधि गोदाममा छ, तर यातायातको अभावमा सम्बन्धित स्थानसम्म पु¥याउन सकेको छैन’ महासचिव बिडारीले भने ‘अभाव भएको ठाउँबाट जानकारी आएमा औषधि पुर्याउनेछौं ।’

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ र नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघको संयुक्त आयोजनामा संवाद डबलीमा भएको अन्तरक्रिया कार्यक्रमा बोल्दै स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखाका निर्देशक डा. रमेश खरेलले नाकाबन्दीका कारण निकट भविष्यमै देशभित्र अत्यावश्यक औषधिको संकट पर्ने बताए । उनले भने ‘नाकाबन्दी मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेकाले राजनीतिक दलहरुले राजनीतिक तवरबाट समस्या सुल्झाउनु पर्ने बताए ।

त्यस्तै भेटेनरीविज्ञ डा. हर्षरत्न शाक्यले भारतले गरेको अघोषित नाकाबन्दीप्रति आपत्ति जनाउँदै विखण्डनकारीको साथ लिएर भइरहेको नाकाबन्दीले पशुपंक्षी व्यवसायीमाथि ठूलो मार परेको बताए । भने ‘नाकाबन्दीलाई आन्तरिक रुपबाटै सहयोग पुर्याउने काम भइरहेकोले नाका खुलाउन पहल राज्यले नै गर्नुपर्छ ।’

एनएमएसआरएका अध्यक्ष जितेन्द्र वैद्यले भारतीय पक्षबाट भएको नाकाबन्दीपछि देशमा औषधि अभाव हुन नदिन राज्यले बेलामै ध्यान दिनुपर्ने औल्याए । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावलले गोली चलाएर संविधान जारी गर्न सक्ने सरकार विषम परिस्थितिमा मौन बस्नुले सरकार नाकाबन्दीको पक्षमा रहेको स्पष्ट भएको बताए । नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले नाकाबन्दी समस्यालाई कुटनीतिक पहलबाट टुंग्याउन आवश्यक रहेको बताए ।

कार्यक्रममा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले तराईका नाका बन्द हुनुमा ठूला राजनीतिक दल नेतृत्व दोषी रहेको आरोप लगाए । नाकाबन्दी हुनुमा भारतीयभन्दा नेपाली नेताहरु जिम्मेवार रहेको बताउँदै चिकित्सक दिक्षितले अगाडि भने ‘यो विषयमा म एन्टी नेपाल हुन सक्छु, तर एन्टी भारत हुन सक्दिनँ ।’

Sajilo Visa

प्रकाशित: १५ आश्विन २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार