चुक्ता पुँजी बढाउने निर्णय पुनरावलोकन नगर्ने: गभर्नर

Technology Khabar ३१ भाद्र २०७२, बिहीबार

चुक्ता पुँजी बढाउने निर्णय पुनरावलोकन नगर्ने: गभर्नर

काठमाडौं ।

काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक/वित्तिय संस्थाको चुक्ता पुँजी बढाउने निर्णयमा केन्द्रीय बैंकले कुनै पुनरावलोकन नगर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँगको भेटमा गभर्नर नेपालले राष्ट्र बैंकले वित्तिय स्थायित्वका लागि बैंक/वित्तिय संस्थाको चुक्ता पुँजी बढाएकाले त्यसमा हस्तक्षेप भए वित्तिय क्षेत्रको सुधारको गति रोकिने बताए । चुक्ता पुँजी वृद्धिको निर्णयमा केन्द्रीय बैंकको लचकताका लागि संसदीय समितिदेखि राजनीतिक नेतृत्वसम्म भइरहेको लविङप्रति इङ्गित गर्दै गभर्नरले केन्द्रीय बैंकको अडान दोहोर्याएका हुन् ।

“संसदीय समितिमा जे भइरहेको छ, त्यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेष्टले काम गरेको छ भन्ने सबैलाई थाहा छ,” उनले भने । केन्द्रीय बैंकले सभासद्हरुलाई बैंकको सञ्चालक बन्न रोक लगाउने सर्कुलरका लागि गृहकार्य गरिरहेको छ । उनले चुक्तापुँजी वृद्धिपछि बैंक/वित्तिय संस्था थप मजबुत हुने र वित्तिय स्थायित्व कायम गर्न सहज हुने बताए । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रीक नीतिमार्फत् बैंक/वित्तिय संस्थाको चुक्ता पुँजी दुई वर्षभित्र चार गुणासम्मले बढाउनुपर्ने व्यवस्था गरेको छ । बैंक/वित्तिय संस्थाले पुँजी वृद्धिको योजना भाद्र मसान्तसम्म राष्ट्र बैंकमा पेश गरिसक्नुपर्छ ।

गभर्नरसँगको भेटमा सेजन अध्यक्ष गोकर्ण अवस्थीले आर्थिक पत्रकारहरुको क्षमता विकासका लागि केन्द्रीय बैंकको सहयोग आवश्यक रहेको बताएका थिए । भेटमा गभर्नर नेपालले आफू सधैं आर्थिक पत्रकारहरुको क्षमता विकासका लागि सकारात्मक र सहयोगी रहेको भन्दै केन्द्रीय बैंकले सेजनसँग यस विषयमा थप छलफल अघि बढाउने बताए ।

Sajilo Visa

प्रकाशित: ३१ भाद्र २०७२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार