Technology Khabar ३० भाद्र २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, ३० भदौ । मोबाइल एक्स्पो २०७२ को पाँचौं दिनमा मोबाइल एक्सचेन्ज स्टलबाट पुरानो फोन एक्सचेन्ज गरेर नयाँ फोन किन्ने तथा विभिन्न एसेसरीज खरिद गर्ने ग्राहकहरुको भिड देखिएको छ । पाँचौं दिन एक्स्पोमा सबैभन्दा बढि भिड मोबाइल एक्सचेन्जको स्टलमा लागेको देखिन्थ्यो ।
मोबाईल एक्सचेन्ज स्टलमा आफ्ना पुराना फोनहरुको उचित भ्यालूएसन गराएर नयाँ स्मार्टफोन खरिद गर्ने ग्राहकहरुको भिड रहेको छ । मौकाको चौका अफरमा भ्यालूएटरले अधिकतम मूल्यमा पुराना फोनको भ्यालूएसन गर्ने गरेको हुँदा पुरानो फोन एक्सचेन्ज गरेर नयाँ फोन खरिद गर्ने ग्राहकहरुको घुईँचो लागेको आयोजकले जानकारी दिए । मोबाइल कम्प्लेक्समा रहेको एक्स्पोको स्टल नम्बर ९, १० तथा ११, १२ मा नेपालमै पहिलो पटक नौलो किसिमले मोबाइल एक्सचेन्ज गर्ने सुविधा राखिएको छ । उक्त मोबाइल एक्स्पोमा मोबाइल एक्सचेन्जका लागि मोबाइल भ्यालुएटर राखिएको छ । मोबाइल सम्बन्धि दक्ष र अनुभवी मोबाइल भ्यालुएटरले पुरानो मोबाइलको अधिकतम मूल्य तोकेर एक्सचेन्ज गराउने व्यवस्था मिलाईएको छ ।
एक्स्पोको पाँँचौं दिनसम्म आईपुग्दा मोबाइल एक्स्पोमा करिब ३ लाख अवलोकनकर्ताहरुले अवलोकन गरिसकेको बताईएको छ । एक्स्पोको पाँचौं दिनमात्रै ५० हजारभन्दा बढि अवलोकनकर्ताहरु आए ।
यहि भदौ २५ गतेदेखि आयोजना भईरहेको एक्स्पोमा आजसम्म ४ करोड रुपैंयाभन्दा बढिको मोबाइल तथा एसेसरीजको कारोबार भएको मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । यो अवधिमा बारफोन, स्मार्टफोन तथा विभिन्न किसिमका एसेसरीजहरु खरिद बिक्री भएको छ । एक्स्पोमा सामसुंग ब्राण्डका स्मार्टफोनहरु अधिक बिक्री भएका छन भने त्यसपछि हुवावेलगायतका विभिन्न ब्राण्डहरु रहेका छन् । स्मार्टफोनका साथै एक्स्पोमा बारफोन खरिद गर्ने ग्राहकहरुको संख्या पनि उल्लेख्य रहेको छ । अन्य बजारहरुभन्दा एक्स्पोमा फोनहरु विशेष छुटसहित सस्तो मूल्यमा उपलब्ध भएको हुँदा फोन खरिद गर्ने ग्राहकहरु आएका हुन् ।
त्यसैगरी तीजको अवसरमा महिला दिदि बहिनीहरुलाई सम्मान गर्दै मंगलवार र बुधवार एक्स्पो अवलोकनका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाईएको आयोजकले जानकारी दियो ।
मोबाइल एक्स्पोमा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मका विभिन्न ब्राण्डका मोबाइल खरिद गर्ने ग्राहकहरुको भिड देखिएको छ । एक्स्पो तथा मलका सबै मोबाइल शपहरुबाट गुणस्तरीय मोबाइल फोनहरु सिल प्याक अवधारणामा मात्र बिक्री गरिएका छन् । अन्य बजारहरुमा सिल प्याकेट खोलिएका र विभिन्न एसेसरिजहरु साटिएका फोनहरु बिक्री हुने गरेकोमा यो मोबाइल कम्प्लेक्सबाट भने कम्पनीको लोगो सहितको सिल प्याक फोनहरु मात्र बिक्री गरिएको छ । सिल प्याकसहितको मोबाइल बिक्री गर्ने अवधारणा नेपालमा नै पहिलो पटक लागू गरिएको हो, जसले उपभोक्ताले गुणस्तरीय मोबाइल फोन र एसेसरीजहरु खरिद गर्न पाउनेछन् ।
एक्स्पो अवधिभर मल्टिब्राण्ड शोरुम तथा अन्य मोबाइल शपबाट ४० भन्दा बढि ब्राण्डका मोबाइलहरुको खरिदमा विशेष छुट दिईएको छ । ललितपुर मोबाइल कम्प्लेक्सले संचालन गरेको मल्टिब्राण्ड मोबाइल शोरुममा ४० भन्दा बढि मोबाइल ब्राण्डहरु, मोबाइल पसलहरु तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आएका छन् । त्यस्तै नेपालमा सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको यो कम्प्लेक्समा सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिएको छ ।
भदौ २५ गतेदेखि ३ गतेसम्म ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्सपो २०७२ आयोजना भईरहेकोछ । कम्प्लेक्सको शुभारम्भको अवसरमा आयोजना भएको मेला अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराईएको छ ।
विगत १३ वर्षदेखि मोबाइल व्यवसायमा संलग्न रहेका मोबाइल व्यवसायीद्धारा संचालन भएको यो मोबाइल कम्प्लेक्समा एक्स्पोको अवसरमा हरेक दिन लक्कि ड्रमार्फत पाँच वटा स्मार्टफोन उपहार प्रदान गरिनेछ । मलको उदघाट्न तथा मोबाइल कम्प्लेक्सको शुभारम्भसँगै आयोजना भईरहेको एक्स्पोमा करिब १० लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरुमध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिनेछ ।
मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिन्दालगायत विभिन्न ब्राण्डका फोनहरु बिक्रीका लागि उपलब्ध रहेको आयोजकले जनाएको छ ।
प्रकाशित: ३० भाद्र २०७२, बुधबार