Technology Khabar २७ भाद्र २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, २७ भदौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना हरेक ग्राहकलाई अत्याधुनिक मोबाइल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘हात–हातमा बैंकिङ’ नामक विशेष अभियान सुरु गरेको छ ।
मेगा बैंकमा खाता रहेका सबै ग्राहकलाई आफ्नो खाताको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने गरी ‘हात–हातमा बैंकिङ अभियान’ ल्याइएको मेगा बैंकले जनाएको छ । मेगा मोबाइल बैंकिङ सेवामा स्वतः दर्ता हुने गरी ल्याइएको यो योजना आफ्ना सबै ग्राहकलाई एसएमएसमार्फत जानकारी गराउन थालेको मेगा बैंकले जनाएको छ ।
यो सेवा लिन इच्छुक नभए नजिकको शाखा कार्यालय वा डीआरइजी टाइप गरि १७१७ मा एसएमएस गर्न बैंकले आफ्ना खाताधनीहरुलाई अनुरोध गरेको छ । मोबाइल बैंकिङ सहज बनाउन मेगाले यसअघि नै एन्ड्रोइड र आईओएस एप पनि ल्याइसकेको छ ।
मेगा मोबाइल बैंकिङमार्फत ग्राहकले मोबाइलबाटै सहज र सुरक्षित रुपमै आफ्नो बैकिङ कारोबारबारे जानकारी पाउन सक्नेछन् । साथै, मोबाइलबाटै आफ्नो खाता विवरणबारे जानकारी, मिनी स्टेटमेन्ट, चेकबुकको लागि अनुरोध, रकम स्थानान्तरण, बिल भुक्तानी, विनिमय दर, एटीएम उपलब्ध स्थान, बैंक शाखा ठेगानाबारे जानकारी लिन सक्ने बताइएको छ । यसका साथै, ग्राहकले सहजै मोबाइल रिचार्ज पनि गर्न सक्नेछन । यो सेवा मेगा बैंकको २८ वटै शाखामा उपलब्ध रहेको बैंकले जनाएको छ ।
प्रकाशित: २७ भाद्र २०७२, आईतवार