Technology Khabar २२ भाद्र २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, २२ भदौ । अम्याजनले ६ इन्चको ट्याबलेट सार्वजनिक गर्ने तयारी गरेको छ । विश्वको सबैभन्दा ठूलो अनलाइन स्टोर अम्याजनले यो बिदाको समयमा करिब ५० अमेरिकी डलर मूल्य भएको ६ इन्चको ट्याबलेट सार्वजनिक गर्ने तयारी गरेको यो विषयससँग नजिक रहेका जानकारहरुले बताएका छन् । यो मूल्यमा नयाँ ट्याबलेटको मूल्य अहिलेको ट्याबलेटको भन्दा करिब आधा सस्तो हुने वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।
नयाँ ट्याबलेटमा स्टेरियो स्पिकरको सट्टामा मोनो स्पिकर हुनसक्ने एक व्यक्तिले बताएको जर्नलले लेखेको छ । अम्याजनको यो ट्याबलेटलाई कम मूल्यको बनाउनका लागि संघाईस्थित हुवाक्विन टेलिकम टेक्नोलोजी, कम्पाल कम्यूनिकेसनस् तथा अन्य कम्पनीहरुसँग आउटसोर्सिंगको माध्यमबाट ट्याबलेटको विकास गरिएको हो । यसका साथै अम्याजनले यो वर्ष नै ८ इन्चको तथा १० इन्चको ट्याबलेट ल्याउन लागेको छ ।
अम्याजनको प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले कम्पनीले डिभाइसहरुका लागि आफ्नो सेवा बिक्री गरेर आम्दानी गर्ने बताएका थिए । यसअन्तरगत डिभाइसहरुको बिक्री भन्दा पनि भिडियो रेन्टल्स तथा ई बूक्स पर्दछन् ।
उनले ५० डलर मूल्यको हाराहारीमा किण्डल तथा फायर ट्याबलेट बनाउन चाहेको बताएका थिए, तर किण्डलको स्क्रिन प्रविधि अत्यधिक महंगो रहेको थियो । आजको मितिसम्म प्रारम्भिक तहको किण्डलको मूल्य ७९ अमेरिकी डलर पर्दछ । जतिखेर अम्याजनले आफ्नो फायर स्मार्टफोनको मूल्य आइफोनको मूल्यको हाराहारीमा तोक्यो, त्यसपछि बिक्री निकै खराब रह्यो जसको कारण कम्पनीले मूख्यतया बिक्री नभएको इन्भेन्टरीका लागि १७० मिलियन अमेरिकी डलरको राइटअफ गरेको घोषणा गर्नुपर्यो ।
वाल मार्ट तथा अम्याजनले ६ इन्चको विभिन्न ट्याबलेटहरु ५० अमेरिकी डलरमा बिक्री गर्दै आएका छन् । यसमा ब्राण्ड नै थाहा नभएका आरसीए, एर्स तथा एम्याटिक पनि पर्दछ ।
दोस्रो चौमासीकसम्म एप्पल र सामसुंगको संयुक्त ४२ प्रतिशतको तुलनामा अम्याजनले अमेरिकी ट्याबलेट बजारमा १ प्रतिशत भन्दा कम हिस्सा ओगटेको आईडीसीको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित: २२ भाद्र २०७२, मंगलवार