राजस्व वृद्धिदर १३.७३ प्रतिशत

Technology Khabar १५ भाद्र २०७२, मंगलवार

राजस्व वृद्धिदर १३.७३ प्रतिशत

काठमाडौं ।

काठमाडौं । आर्थिक वर्ष २०७१/७२ का लागि रु ४२२ अर्व ९० करोड राजस्व संकलनको वार्षिक लक्ष्य निर्धारण गरिएकोमा रु. ४०५ अर्व ८४ करोड ६४ लाख राजस्व संकलन भई गत वर्षको सोही अवधिको तुलनामा १३.७३ प्रतिशत वृद्धिदर रहेको छ । अर्थ मन्त्रालयमा बसेको वार्षिक समीक्षा बैठकमा कुल राजस्व संकलन मध्ये कर राजस्व बापत रु.३५५ अर्व ९४ करोड २९ लाख र गैरकर राजस्व तर्फ रु. ४९ अर्व ९० करोड ३५ लाख संकलन भएको छ, जुन कुल राजस्व संकलन क्रमशः ८८.३२% र ११.६८% रहेको जानकारी दिईयो ।

आर्थिक वर्ष २०७१/७२ मा मुख्य शीर्षकहरुको वार्षिक राजस्व अवस्थालाई विश्लेषण गर्दा मूल्य अभिबृद्धि करको योगदान २७.६९%, भन्सार महसूलको योगदान १८.४०%, आयकरको योगदान २१.८०% रहेको छ भने अन्तःशुल्कको अंश १३.१९% र गैरकर राजस्वको अंश १२.३०% रहेको मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०७०/७१ मा भन्सार महसुल रु. ८० अर्व ६६ करोड ९२ लाख संकलन भएकोमा आर्थिक वर्ष २०७१/७२ मा रु. ७४ अर्व ६७ करोड १० लाख संकलन भई १०% को बृद्धिदर कायम भएको छ । त्यस्तै आर्थिक वर्ष २०७०/७१ मा मूल्य अभिवृद्धि कर रु. १२१ अर्व ७३ करोड ७ लाख संकलन भएकोमा आर्थिक वर्ष २०७१/७२ मा रु. ११२ अर्व ३७ करोड ७३ लाख संकलन भई ११.३०% को बृद्धिदर कायम भएको छ । त्यसै गरि आर्थिक वर्ष २०७०/७१ मा अन्त:शुल्कतर्फ रु. ५५ अर्व ३३ करोड ११ लाख संकलन भएकोमा आर्थिक वर्ष २०७१/७२ मा रु. ५३ अर्व ५२ करोड ४९ लाख संकलन भई १७.९१% को बृद्धिदर कायम भएको छ ।

आयकरतर्फ आर्थिक वर्ष २०७०/७१ मा रु. ९४ अर्व १ करोड ७३ लाख संकलन भएकोमा आर्थिक वर्ष २०७१/७२ मा रु. ८८ अर्व ४५ करोड ९० लाख संकलन भई १३.५१% को बृद्धिदर रहन पुगेको छ । त्यसै गरि गैर करतर्फ आर्थिक वर्ष २०७०/७१ मा रु. ४८ अर्व १९ करोड ९४ लाख संकलन भएकोमा आर्थिक वर्ष २०७१/७२ मा रु. ४९ अर्व ९० करोड ३५ लाख संकलन भई १०.७९% को बृद्धिदर कायम भएको छ ।

समीक्षा बैठकमा विभागीय प्रमुख र उपत्यका स्थित कार्यालयका प्रमुखहरुलाई निर्देशन दिंदै अर्थ मन्त्री डा. रामशरण महतले विभिन्न प्रतिकूलताका बावजुद पनि राजस्वको लक्ष्य हासिल गर्ने प्रतिवद्धताका साथ काम गर्न आग्रह गरे । मूल्य अभिवृद्धि करतर्फ बिलिगंलाई प्रभावकारी बनाउन, इलेक्ट्रोनिक क्यास मेसिनको कार्यान्वयन गर्न, भन्सार मूल्यांकनमा सुधार गर्न, करदाता शिक्षामा जोड दिन, कारोबारमा आधारित करको प्रभावकारी कार्यान्वयन गर्न र कर प्रणालीको सुधार र आधुनिकीकरण गर्न मन्त्री महतले जोड दिए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले राजस्व संकलनका लागि सकारात्मक सन्देश प्रवाह हुनुपर्ने र कर सहभागिताका लागि सरल पहुँच स्थापित गर्नुपर्ने बताए । यसैगरी अर्थ मन्त्रालयका सचिव सुमन प्रसाद शर्माले कार्यसक्षमता अभिवृद्धि गरी राजस्व संकलनको लक्ष्य हासिल गर्न विभागीय प्रमुख तथा कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।

अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालले मूल्य अभिवृद्धि करको नयाँ कारोबारको सीमा प्रभावकारी कार्यान्वयन गर्न र बक्यौता फर्छ्यौटमा जोड दिन आग्रह गरे । साथै उनले विभागीय प्रमुखहरुसँग मूख्य परिसूचकहरु निर्धारण गरी सोही आधारमा विभागीय प्रमुखहरुसँग कार्यसम्पादन करार गर्न लागिएको जानकारी दिए ।

easy care

प्रकाशित: १५ भाद्र २०७२, मंगलवार