Technology Khabar ३० श्रावण २०७२, शनिबार
काठमाडौं ।
काठमाडौं, ३० साउन । नेपाली युवा उद्यमी मञ्चले आयोजना गर्ने उद्यमशीलता बूट क्याम्पको लागी आवेदन खुला भएको छ । अमेरिकी राजदूतावासको सहकार्यमा हुने उद्यमशीलता बूट क्याम्प यहि असोज ४, ५ र ६ गते गोकर्ण फरेष्ट रिसोर्टमा हुने मञ्चले जानकारी दिएको छ ।
अनलीज योर आईडियास भन्ने मूल नाराका साथ गरिने बुट क्याम्पमा देशैभरीबाट खुला प्रतिस्पर्धामार्फत ३० जना युवा युवतीको छनोट गरी उनीहरुको व्यावसायिक सोचलाई मुर्त रुप दिन विभिन्न विषयमा तालिम दिइने छ ।
उनीहरुलाई कसरी व्यवसाय सुरु गर्ने, व्यावसायिक योजना बनाउने जस्ता विषयमा देशका सफल उद्यमी व्यवसायीबाट प्रशिक्षण दिने तथा उनीहरुको समन्वयमा सहभागिलाइ नै पूर्ण व्यावसायिक योजना बनाउन लगाइने मञ्चको भनाई छ ।
तीन दिनसम्म आवासीय बूट क्याम्पमा तयार पारिएको व्यावसायिक योजनालाई स्वतन्त्र निर्णायक मण्डलमा प्रस्तुत गरी उत्कृष्ट योजना बनाउने सहभागीहरुलाई एक लाख बराबरको पुरस्कार प्रदान गरिने छ ।
बुट क्याम्प इन्टरप्रन्यूरशिपका संयोजक अजय श्रेष्ठले भने—उद्यमशीलतामार्फत वजारमा रहेका विद्यमान समस्या समाधान गर्न चाहने यूवाहरुका लागि नै यो क्याम्प संचालन गरिएको हो । साथै उद्यमी आकांक्षीलाई उसको योजना सोंचलाई सही अर्थमा व्यवहारमा उतार्न समेत मद्दत गर्नेछौं ।
यसअघि आयोजना भएको पहिलो बुट क्याम्पमा भिन्न पृष्ठभूमिबाट आएका करिव ३० जना यूवाहरु सहभागी रहेका थिए । धेरै जसो राजधानी वाहिरबाट सहभागी भएका थिए भने उनीहरु कार्यक्रमबाट लाभान्वित हुनुको साथै आफ्ना कार्यशैली र सोंचमाथिनै परिवर्तनका लागि प्रोत्साहित भएको दाबी मञ्चले गरेको छ ।
पहिलो बुट क्याम्पको विजेताहरुले दुई हप्ते अग्रिम बन्द प्रशिक्षण कार्यक्रममा समेत सहभागिता जनाए । सहभागीहरु मध्ये अधिकांशले आफ्नो व्यवसाय शुरु गरिसकेका छन् भने कतिले व्यवसाय थाल्ने क्रममा रहेको मञ्चले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ३० श्रावण २०७२, शनिबार