Technology Khabar २८ श्रावण २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, २८ साउन । सामसुंगले न्यूयोर्कमा आयोजित एक कार्यक्रममा आफ्नो ग्यालेक्सी सिरिजको दुईवटा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । सामसुंगले ग्यालेक्सी नोट फाइभ (Galaxy Note 5) तथा ग्यालेक्सी एस सिक्स एज प्लस (Galaxy S6 Edge+) स्मार्टफोनहरु सार्वजनिक गरेको हो । यसका साथै कम्पनीले सामसुंग पे पनि शुरु भएको घोषणा गरेको छ ।
करिब ४५ मिनेटको कार्यक्रमको अवधिमा कम्पनीले यी दुबै स्मार्टफोनहरुमा राखिएका नयाँ फीचर्सहरुको बारेमा जानकारी दिएको थियो । यसमध्ये ग्यालेक्सी नोट फाइभमा रोटेड की बोर्ड राखिएको छ ।
सामसुंगको नोट फाईभ यसको अघिल्लो संस्करण भन्दा निकै पातलो रहेको छ । यो फ्याबलेटमा ५.७ इन्चको स्क्रीन राखिएको छ । यो फ्याबलेटमा राखिएको ब्याट्री पनि स्लिम रहेको छ ।
त्यस्तै सार्वजनिक गरिएको ग्यालेक्सी एस सिक्स एज प्लस स्मार्टफोनमा पनि ५.७ इन्चको स्क्रीन रहेको छ । यो स्मार्टफोनमा मेटल तथा ग्लासको प्रयोग गरिएको छ । यो स्मार्टफोन सामसुंगको अघिल्लो संस्करण एस सिक्स एजको जस्तै यसमा पनि कब्र्ड अर्थात दुबैतर्फ घुमाउरो स्क्रीन रहेको छ ।
यी दुबै स्मार्टफोनहरुमा एकै साईजका क्यूएचडी सूपर एमोलेड स्क्रीन छ भने दुबैमा अक्टा कोर साइनोज ७४२० प्रोसेसर प्रयोग गरिएको छ । दुबै फोनमा ४ जीबीको र्याम तथा ३२ जीबी र ६४ जीबीको आन्तरीक मेमोरी अप्शन राखिएको छ । यी स्मार्टफोनहरुमा १६ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा तथा ३,००० एमएएचको ब्याट्री रहेको छ ।
नोट ५ को मूख्य विशेषता भनेको यसको कभर की-बोर्ड हो । यो स्मार्टफोनको पछाडिको भागमा फिक्स रहेको हुन्छ, जसलाई अगाडि स्क्रीनमा राखेर प्रयोग गर्न सकिन्छ । यूजरले यो की-बोर्डको सहयोगमा स्मार्टफोन प्रयोग गर्न सक्दछ ।
त्यस्तै यसमा विशेष एस पेन (S pen) उपलब्ध हुनेछ । यो पेन पुरानो पेनको तुलनामा अपग्रेड गरिएको छ । एस पेनको सहयोगमा यूजर्सले कुनै पिडिएफ, अफिस वा अन्य फाइलहरु खोलेर कुनैपनि डिजाइन वा टेक्स्टमा लेख्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै फाइलमा साइन गरेर सेभ पनि गर्न सकिन्छ । यसैगरी यसमा इन्टरटेनमेन्ट पावरहाउस जस्ता फीचर पनि दिईएको छ ।
सामसुंगका दुबै स्मार्टफोनहरु वायर तथा वायरलेस चार्जिंग फीचर्सका साथ बजारमा आउनेछ । कम्पनीका अनुसार यी सेटहरुमा फास्ट चार्जिंग टेक्नोलोजीको प्रयोग गरिएको छ, जसले २ घण्टामा नै स्मार्टफोन चार्ज गर्दछ ।
यी दुबै फोनहरु फोरजी एलटिई कनेक्टिभिटी सपोर्ट गर्दछन् । कम्पनीले यी स्मार्टफोनमा क्याट ९ तथा क्याट ६ मोडेम जडान गरेको हुँदा यूजर्सले अधिक गतिको इन्टरनेट प्रयोग गर्न सक्ने दाबी गरेको छ ।
यी दुबै स्मार्टफोनहरुबाट सामसुंग पेको मद्धतमा भुक्तानी गर्नसकिने सुविधा उपलब्ध छ ।
यी फोनहरुमा ब्लूटूथ ४.२ भर्सन, वाईफाई, जीपीएस, यूएसबी २.० भर्सन कनेक्टिभिटीका लागि राखिएका छन् । दुबै फोनहरु ह्वाइट पर्ल, ब्ल्याक सेपियर, गोल्ड प्लाटिनम तथा सिल्भर टाइटेनियम कलर्समा उपलब्ध हुनेछन् ।
सामसुंग पे (Samsung Pay)
सामसुंगले ग्यालेक्सी सिरिजका स्मार्टफोनहरुका साथमा सामसुंग पे पनि सार्वजनिक गरेको छ । यसलाई फिंगरप्रिन्ट भेरिफिकेशन तथा डिजिटल टोकिनेशनजस्ता फीचर्सका साथमा सार्वजनिक गरियो । यूजर्सले यसको सहयोगमा स्मार्टफोनमा सेभ भच्र्यूअल कार्डको सहयोगबाट भूक्तानी गर्न सक्नेछन् ।
यी स्मार्टफोनहरु सबैभन्दा पहिले कोरियामा अगस्ट २० तारिखदेखि तथा अमेरिकामा सेप्टेम्बर २८ तारिखदेखि बिक्री गरिनेछ भने त्यसपछि मात्रै बेलायत, स्पेन तथा चीनमा सार्वजनिक गरिने बताईएको छ । तस्विरहरु गूगलबाट
प्रकाशित: २८ श्रावण २०७२, बिहीबार