Technology Khabar २५ श्रावण २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, २५ साउन । चीनियाँ एप्पल भनेर चिनिने शिओमीले भारतमा फक्सकनसँग मिलेर स्मार्टफोन निमार्ण गर्न शुरु गरेको छ । भारतको ‘मेक इन इण्डिया’ नीतिअन्तरगत शिओमीले भारतमा आफ्ना सामाग्रीहरु उत्पादन गर्न शुरु गरेको हो । फक्सकन कम्पनी आईफोन तथा आईप्याण्ड निर्माणका लागि विश्वभर परिचित रहेको छ ।
शिओमीले भारतमा निर्माण गरिएको पहिलो स्मार्टफोन रेडमी २ प्राईम (Redmi 2 Prime) बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भारतमा बनाएको पहिलो स्मार्टफोनमा २ जीबीको र्याम छ भने १६ जीबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ । यो स्मार्टफोन भन्दा अगाडि आएको शिओमीको रेडमी टू स्मार्टफोनमा १ जीबीको र्याम तथा ८ जीबीको स्टोरेज रहेको थियो ।
यो स्मार्टफोन सार्वजनिक हुनुभन्दा पहिले नै इकमर्श साइटहरु फ्लिपकार्ट र अम्याजनमा देखिएको थियो जसलाई पछि हटाईयो ।
यो स्मार्टफोन हाल भारतीय बजारमा ६,९९९/- भारु अर्थात ११० डलरमा उपलब्ध हुनेछ । यो स्मार्टफोन फ्लिपकार्ट, अम्याजन, स्न्यापडिलका साथै कम्पनीको वेबसाइट एमआई डटकममा पनि बिक्रीका लागि उपलब्ध छ ।
यो स्मार्टफोनमा रेडमी २ को जस्तै ४.७ इन्चको आईपीएस डिस्प्ले छ जसको रिजोल्यूशन ७२०ह् १२८० पिक्सेल रहेको छ । स्मार्टफोनमा कम्पनीको एमआई ६ यूजर इन्टरफेस राखिएको छ । यो स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४ भर्सनमा संचालन हुन्छ ।
रेडमी २ प्राइममा १.२ गीगाहर्जको ६४ बिट क्वालकम स्न्यापड्रयाडन ४१० प्रोसेसर रहेको छ ।
यो फोनमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यसमा २,२०० एमएएचको ब्याट्री छ भने यो स्मार्टफोन फोरजी सर्पोटिभ रहेको छ ।
यो स्मार्टफोन कम्पनीले बजेट स्मार्टफोनको रुपमा प्रबद्र्धन गरिरहेको छ ।
भारतमा बिक्रीका लागि उपलब्ध हुने सबै रेडमी २ प्राईम ह्याण्डसेटहरु भारतको प्लान्टमा नै निर्माण गरिनेछ । कम्पनीले भारतमा बिक्री गरिने अधिकांश ह्याण्डसेटहरु स्थानियरुपमा नै उत्पादन गर्ने योजना यस अघि नै सार्वजनिक गरिरहेको छ ।
चीनियाँ कम्पनी शिओमीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा रहेको श्री सिटिमा आफ्नो निर्माण प्लान्ट स्थापना गरेको हो । यो निर्माण प्लान्ट कम्पनीले चीन बाहिर स्थापना गरेको दोस्रो प्लान्ट हो । यसअघि पहिलो प्लान्ट शिओमीले दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थापना गरेको छ ।
प्रकाशित: २५ श्रावण २०७२, सोमबार