Technology Khabar १४ श्रावण २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं १४ साउन । गणतन्त्र कोरियाले भूकम्पले भत्काएका भग्नावशेष हटाउन तथा निर्माणमा उपयोगहुने भारी उपकरण (हेभी इक्यूपमेन्ट) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
बुधवार आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत चो यङ जिनले गृहसचिव सूर्यप्रसाद सिलवाललाई १६ करोड रुपैयाँ बराबरका २४ वटा उपकरण हस्तान्तरण गरे। सोही कार्यक्रममा कोरियाको विश्व प्रख्यात निर्माण उपकरण उत्पादक कम्पनी दुसान इन्फ्राकोरका वरिष्ठ उपाध्यक्ष जे जङ जिनले थप तीन वटा भारी उपकरण सचिव सिलवाललाई प्रदान गरे।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सचिव सिलवालले नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापना भएयता उक्त मुलुकबाट नेपालको सामाजिक–आर्थिक विकासमा प्राप्त सहयोगको सराहना गरे ।
उनले आपतकालीन उद्धार तथा खोज केन्द्र गठनको तयारीमा सरकार रहेको जानकारी दिँदै त्यसमा पनि कोरियाली सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
राजदूत चोले भूकम्पपछि आफ्नो मुलुकले राहत, खोज, उद्धार तथा सहयोगका विविध कार्यक्रम सञ्चालन गरेको र त्यसमा करिब १५ करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराइएको जानकारी दिँदै आफ्नो देशको सरकारले नेपालको पुनःनिर्माण, पुनःस्थापना, पुनर्वास तथा नवनिर्माणका लागि एक अर्ब रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको जानकारी दिए ।
प्रकाशित: १४ श्रावण २०७२, बिहीबार