मुलुकभरका सम्पूर्ण चिनी उद्योग बन्द गर्ने चेतावनी

Technology Khabar १४ श्रावण २०७२, बिहीबार

मुलुकभरका सम्पूर्ण चिनी उद्योग बन्द गर्ने चेतावनी

काठमाडौं ।

काठमाडौं, १४ साउन । नेपाल चिनी उद्योग संघले मुलुकभरका सम्पूर्ण चिनी उद्योगहरु बन्द गर्ने चेतावनी दिएको छ ।

संघले बुधबार राजधानीको कृषि उपभोक्ता डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चेतावनी दिएको हो । संघका अध्यक्ष शशिकान्त अग्रवालले सरकारले एकतर्फि रुपमा उखुको मूल्य निर्धारण गरेको आरोप लगाउदै एकतर्फि मूल्य निर्धारणका कारण स्वदेशी चिनी उद्योगको टाट पल्टेको र बिदेशी उद्योग फस्टाएको दाबी गरे ।

“चिनी उत्पादनको लागत मूल्यभन्दा बढी आर्थिक व्ययभार पर्ने गरी सरकारले एकलौटी रुपमा उखुको मूल्य निर्धारण गर्यो,” अध्यक्ष अग्रवालले भने,“निर्धारित यो मूल्यका कारण स्वदेशी उद्योग थप आर्थिक संकटमा परेर टाट पल्टिसकेको छ, जसका कारण विदेशी उद्योग फस्टाएको छ । अब पनि सरकारले समयमै समस्या समाधन नगरे उद्योग बन्द गर्ने विकल्प नभएको हाम्रो ठहर छ । केही दिनमै मुलुकभरको सम्पूर्ण उद्योग बन्द गर्ने तयारी गरेका छौं ।”  संघले सरकारले तोकेको मूल्यमा उद्योगीले उखु किन्नै नसक्ने उल्लेख गर्दै सरकारले तोकेको मूल्य समायोजन गर्नुपर्ने जोड दिएको हो ।

संघका उपाध्यक्ष राजकुमार अग्रवालका अनुसार संघले प्रति क्वीन्टल ४३६ रुपैयाँं प्रति क्वीन्टल मूल्य निर्धारण गर्न सरकारसँंग माग गरेको थियो । हाल उद्योगीले प्रतिक्विन्टल रु ३५० दिँदै आएका थिए ।  “तर सरकारले राजनीतिक दबाबमा प्रति क्वीन्टल ४६० रुपैयाँं निर्धारण गर्यो । हामीलाई यो मूल्य कुनै पनि शर्तमा मान्य छैन् । टाट पल्टेको अवस्थामा हामी यो मूल्य तिर्न सक्दैनौं ।” उनकाअनुसार संघले माग राखेको मूल्य प्रति क्वीन्टल ४३६ रुपैयाँंका दरले किसानलाई भुक्तानी गर्दा पनि प्रति क्वीन्टल ८५ रुपैयाँं र उत्पादित प्रति किलो चिनीमा ९ रुपैयाँं ५० पैसा घाटा उद्योगीले व्यहोर्नुपरेको छ ।

अर्का उपाध्यक्ष दिवाकर गोल्छाले निर्धारित मूल्यमध्ये प्रति क्वीन्टल ३५० रुपैयाँंका दरले  पेश्की वापत किसानलाई उद्योगीले हालसम्म भुक्तानी गरिसकेको जानकारी दिए । गोल्छाले सरकारले तत्कालै उद्योगीको समस्या समाधान नगरे ३० अर्बभन्दा बढीको लागत लागेको मुलुकभरका चिनी उद्योग धरासायी हुने बताए । उद्योग बन्द भए दुई लाखभन्दा बढी उखु कृषक परिबार प्रभावित हुनुका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५० हजार कामदारको रोजगारी गुम्ने खतरा रहेको जानकारी गराउदै गोल्छाले बिदेशी मूल्यमा चिनी खरिद गर्नु पर्ने दुर्भाग्य आउने सक्ने चेतावनी दिए । हाल चिनी उद्योगीले प्रतिवर्ष एक लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन गर्दै आएका छन् ।

उनका अनुसार भारतमा प्रति क्वीन्टल उखुलाई १९२० रुपैयाँं निर्धारण गरिएको छ । जसअनुसार भारतमा ३१ रुपैयाँं प्रतिकिलो चिनी बिक्रि हुन्छ । “भारतीय चिनी निक्कै सस्तो भएकाले मल राख्ने बोरामा प्याकिंग भएर ट्रकको सहयोगमा ठूलो परिमाणमा तस्करी भएर राजधानीसम्म चिनी भित्रिएको छ, जसका कारण स्वदेशी उद्योगलाई मार परेको छ,” गोल्छाले भने,“सीमा क्षेत्रमा सरकारी निकायका अधिकारीहरुकै सामु ठूलो परिमाणमा चिनी तस्करी  भएपनि राज्य मौन भएर बसेको छ ।” संघले आगामी उखु उत्पादन हुने समयमा बजार स्थितिलाई हेरेर उखुको अधिकतम मूल्य प्रति क्वीन्टल ३५० रुपैयाँ मात्र दिन सक्नेसमेत जानकारी दिएको छ ।

संघले चिनी मिलबाट उत्सर्जन हुने इथानोल अनिवार्य रुपमा पेट्रोलमा मिसाउनुपर्ने, मदिरा उद्योगले अनिवार्य रुपमा मोलासिस प्रयोग गर्नुपर्ने, चिनी आयातमा न्युनतम ४० प्रतिशत भन्सार महसुल लगाउनुपर्ने, चिनीको चोरी पैठारी नियन्त्रण गर्नुपर्ने, चिनी उद्योगबाट उत्पादित विद्युत राज्यले खरिद गरिदिनुपर्ने, चिनीको तिब्बती निकासी खुला गर्नुपर्ने र चिनी आयातमा पूर्ण रुपमा प्रतिवन्ध लगाउनुपर्नेजस्ता माग अघि सारेको छ ।

Sajilo Visa

प्रकाशित: १४ श्रावण २०७२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार