Technology Khabar ९ श्रावण २०७२, शनिबार
काठमाडौं ।
काठमाडौं, ९ साउन । माइक्रोसफ्टको नयाँ विण्डोज अपरेटिंग सिष्टम विण्डोज १० सार्वजनिक हुन केहि दिन मात्र बाँकी छ । कम्पनीले नयाँ विण्डोज १० सँगसँगै विण्डोज १० मा आधारित स्मार्टफोनहरु पनि घोषणा गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले यहि जूलाई २९ तारिखमा सार्वजनिक गर्न लागेका स्मार्टफोनहरुमा केहि नयाँ विशेषताहरु समेटिएका छन् । माइक्रोसफ्टले नयाँ सफ्टवेयरमा आधारित भएर सार्वजनिक गर्न लागेको स्मार्टफोनहरुको कोडनाम सिटिम्यान र टकम्यान राखेको छ । जुन स्मार्टफोनहरुमा फेस स्क्यानिंग गर्नसक्ने स्क्यानर रहनेछन् ।
समाचारहरुका अनुसार कम्पनीको लूमिया ९५० (टकम्यान) तथा लूमिया ९५० एक्सएल (सिटिम्यान) नाममा दुईवटा उच्चस्तरका स्मार्टफोन आउने भएका हुन् । यी दुबै स्मार्टफोनमा दुई सिम प्रयोग गर्न सकिनेछ भने यसमा कम्पनीले विण्डोज १० अपरेटिंग सिष्टम राख्नेछ ।
यी दुबै स्मार्टफोनहरुको मूख्य विशेषतामा यी स्मार्टफोनहरु आँखाको इशारामा अनलक गर्न सकिनेछ । कम्पनीले यी दुबै स्मार्टफोनमा आईरिस स्क्यानर फीचर राख्नेछ । त्यसका साथै दुबै फोन वायरलेस चार्जिंग फीचरका साथमा बजारमा आउनेछन् । यी फोनहरु कम्पनीले दिने फ्लीप कभरको सहयोगमा चार्ज गर्न सकिनेछ ।
माइक्रोसफ्टको लूमिया ९५० एक्सएल (Lumia 950XL) अर्को भन्दा केहि शक्तिशाली स्मार्टफोन हो । यसमा ५.७ इन्चको डब्लूक्यूएचडी ओएलईडी डिस्प्ले राखिएको छ । त्यस्तै यो स्मार्टफोनमा ६४ बिटको अक्टा कोर स्न्यापड्रयागन ८१० प्रोसेसर छ । यो फोनमा ३ जीबीको र्याम तथा ३२ जीबीको इन्टरनल स्टोरेज रहनेछ भने ३,३०० एमएएचको ब्याट्री राखिएको छ ।
माइक्रोसफ्ट लूमिया ९५० एक्सएलमा तीनवटा एलईडी फ्ल्याशका साथमा २० मेगापिक्सेलको प्यूरभ्यू रियर क्यामरा हुनेछ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
त्यस्तै कम्पनीको अर्को लूमिया ९५० (Lumia 950) स्मार्टफोनमा ५.२ इन्चको डब्लूक्यूएचडी ओएलईडी डिस्प्ले छ भने यो ६४ बिटको हेक्सा कोर स्न्यापड्रयागन ८०८ प्रोसेसरद्धारा संचालन हुनेछ । यो स्मार्टफोनमा पनि ३ जीबीको र्याम तथा ३२ जीबीको स्टोरेज क्षमता रहेको छ भने ३,३०० एमएएचको ब्याट्री राखिएको छ ।
लूमिया ९५० मा पनि ९५० एक्सएसको जस्तै २० मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
माइक्रोसफ्टका यी दुबै स्मार्टफोनहरुमा कनेक्टिभीटिका लागि यूएसबी सी पोर्ट राखिएका छन् ।
अर्कोतर्फ यी दुबै स्मार्टफोनहरु सेप्टेम्बरमा आयोजना हुने आईएफए इभेन्टमा सार्वजनिक हुने अनुमान गरिएको छ ।
प्रकाशित: ९ श्रावण २०७२, शनिबार