Technology Khabar ८ श्रावण २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ८ साउन । अर्थमन्त्री डा रामशरण महत र नेपाल भ्रमणमा रहेका चीनका उपवाणिज्यमन्त्री चाङ चियाङबीच अर्थमन्त्रालयमा भेटघाट तथा छलफल भयो ।
सो अवसरमा अर्थमन्त्री डा महतले पोखरामा निर्माण हुने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । उनले उक्त विमानस्थललाई कार्यान्वयनमा ल्याउन नेपालको तर्फबाट केही अप्ठेराहरु भए तत्काल समाधान गरिने जानकारी पनि दिएका थियो ।
उनको भनाई थियो, पोखराको विमानस्थल नेपालको प्राथमिकतामा परेको आयोजना भएकोले यसलाई छिटो निर्माण गर्नुपर्ने आवश्यकता छ । जनताको माग पनि तीब्र छ । अहिले मुआब्जाको समस्या पनि लगभग समाधान भैसकेको छ र यो आयोजना कार्यान्वयनको अन्तिम पर्खाईमा रहेको छ ।
भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले नेपालको पुनर्निर्माणका लागि चीन सरकारले तत्काल गरेको सहयोगको प्रशंसा गर्दै चीन सरकारले व्यक्त गरेको प्रतिवद्धतालाई तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो । पुनर्निर्माण प्राधिकरण चाँडै नै गठन हुने र पुनर्निर्माणको काम तीब्र गतिमा अघि बढ्ने उहाँले जानकारी पनि दिए । सो अवसरमा अर्थमन्त्री डा महतले काठमाडौं र बेृइजिङ प्रत्यक्ष उडान सेवा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए । उनको भनाई थियो, यसले नेपालको पर्यटन क्षेत्रलाई समेत ठूलो सहयोग पुग्नेछ ।
सो अवसरमा चीन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरुको निर्माण छिटो गर्नुपर्ने सम्वन्धमा पनि छलफल भएको थियो । भेटघाटका अवसरमा स्याफ्रुवेसी रसुवागढीसम्मको सडकलाई व्यापारिक मार्गको रुपमा स्तरोन्नति गर्न र अरनिको राजमार्गको पुनर्निर्माणका लागि काम छिटो अघि बढाउने विषयमा पनि छलफल भयो । भेटघाटका अवसरमा चीनका उपवाणिज्यमन्त्री चाङ चियाङले नेपालको पुनर्निर्माणमा जिम्मेवारी पाउनासाथ काम थालिहाल्न सक्ने अवस्थामा चीन रहेको उल्लेख गर्दै परियोजनाको जिम्मेवारी छिटो दिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरे । पोखराको विमानस्थल निर्माणका लागि पनि कर्जाको व्याजदरसँग सम्वन्धित सामान्य समस्या मात्र रहेको र अव दुई महिनाभित्रैमा यसलाई कार्यान्वयनमा ल्याउन सकिने जानकारी दिए ।
भेटघाटका अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा अन्य अधिकारीहरु र नेपालका लागि चीनका राजदूत उ चुनताई तथा दूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित: ८ श्रावण २०७२, शुक्रबार