Technology Khabar ७ श्रावण २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, ७ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मुलुकको समुन्नत आर्थिक विकास र निजी क्षेत्रको वृहत हितका लािग नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ एक आपसमा मिलेर जानु पर्ने कुरामा जोड दिएका छन् ।
उक्त कुरा अध्यक्ष मुरारकाले नेपाल उद्योग परिसंघले श्रावण ६ गते परिसंघको सचिवालयमा आयोजना गरेको महासंघका नव निर्वाचित अध्यक्ष एवं वरिष्ठ उपाध्यक्षको बधाई एवं भेटघाट कार्यक्रमको अवसरमा व्यक्त गरेका हुन । सो अवसरमा उनले भने महासंघ र परिसंघ वीच कुनै प्रतिद्वन्दीता छैन र विचारधारा पनि फरक छैन, यी दुवै संस्था वीचको सोचमा पनि फरक छैन । दुवै संस्थाको अर्थतन्त्रको बाटो र गन्तब्य एउटै भएकोले दुवै संस्था वीच क्रमिक रुपमा सहकार्य गरि अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिए ।
प्रारम्भमा परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षको स्वागत गर्दै परिसंघको उद्देश्य र गन्तब्य पनि देशको समुच्च आर्थिक विकासको साथै निजी क्षेत्रको विकासमा केन्द्रित भएकोले महासंघसंग निश्चित मोडालिटिको आधारमा सहकार्य गर्न परिसंघ तयार रहेको धारणा व्यक्त गरे । सो अवसरमा उनले दुवै संस्थाहरु वीच न्युनतम सहमती कायम गरि साझा उद्देश्य हासिल गर्न दुवै संस्थाका तर्फबाट पहल गर्नु पर्ने कुरामा जोड दिए ।
अध्यक्ष बस्न्यातले यो वधाई एवं स्वागत कार्यक्रम महासंघ र परिसंघ वीच नयाँ र असलसम्बन्धको शुरुवात हो र यसले दुवै संस्था वीच सह–अस्तित्व र सहकार्यलाई अघि बढाएको र यसबाट निजी क्षेत्रमा मात्र नभई सरकारमा समेत राम्रो संन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।
यसै अवसरमा आफ्नो मन्तब्य व्यक्त गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले हामीले पहिला निजी क्षेत्र वीचनै ऐक्यबद्धता प्रदर्शन गर्नु पर्ने भएकोले महासंघ र परिसंघ वीचको सहकार्यको प्रकृया तयार गरेर अघि बढ्नु पर्ने र यसमा महासंघबाट आवश्यक पहल हुने विचार व्यक्त गरिन ।
छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, गभर्निङ काउन्सीलका सदस्यहरुले समेत परिसंघ र महासंघ वीच सहकार्य र कार्यगत एकता गरि निजी क्षेत्र वीच एैक्यवद्धता देखाउनु पर्ने कुरामा जोड दिएका थिए ।
प्रकाशित: ७ श्रावण २०७२, बिहीबार