सामसुंगको टाइजेनमा आधारित स्मार्टफोन ‘जेड थ्री’ नेपाल भित्रँदै

Technology Khabar ७ श्रावण २०७२, बिहीबार

सामसुंगको टाइजेनमा आधारित स्मार्टफोन ‘जेड थ्री’ नेपाल भित्रँदै
तस्विरः गूगल

काठमाडौं ।

काठमाडौं, ७ साउन । सामसुंग कम्पनीले आफ्नो जेड सिरिजको स्मार्टफोन जेड थ्री (Z3) नेपालमा सार्वजनिक गर्ने भएको छ । सामसुंगको टाइजेनमा आधारित स्मार्टफोन जेड वान (Z1) को सफल संस्करणको रुपमा आएको जेड थ्री स्मार्टफोन छिटै नेपालमा सार्वजनिक हुने भएको हो ।

सामसुंगले नेपाललगायत भारत तथा बंगलादेशमा छिटै जेड थ्री स्मार्टफोन सार्वजनिक गर्ने भएको साम माेबाइलले उल्लेख गरेको छ। साम मोबाइलले सार्वजनिक गरेको समाचारअनुसार सामसुंगको नयाँ स्मार्टफोन यसको पूर्ववर्ति भन्दा निकै स्तरिय रहेको छ ।

यसबारेमा नेपालमा रहेको सामसुंगको कार्यालय सामसुंग मोबाइल नेपालले भने केहि थाहा नभएको जानकारी दिएको छ । सामसुंग मोबाइल नेपालका एचएचपी हेड प्रणयरत्न स्थापितले भने, ‘मलाई नै थाहा छैन्, तपाईँले यो समाचार कसरी थाहा पाउनुभयो ?’ उनले अहिलेसम्म यसबारेमा अन्य केहि जानकारी नभएको बताए ।

सामसुंग जेड थ्री स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर स्प्रेडट्रम एससी ७७३० एस (Spreadtrum SC7730S) प्रोसेसर राखिएको छ । यो स्मार्टफोनमा ५ इन्चको ७२० पिक्सेलको सूपर एमोलेड डिस्प्ले रहेको छ ।

जेड थ्री स्मार्टफोनमा १.५ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।

सामसुंग जेड थ्रीमा ८ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । त्यसैगरी यो स्मार्टफोनमा दुई सिम प्रयोग गर्न सकिन्छ भने यो स्मार्टफोन सामसुंगको आफ्नै टाइजेन अपरेटिंग सिष्टमको ३.० भर्सन (Tizen OS 3.0) मा संचालन हुन्छ । यो स्मार्टफोनमा २,६०० एमएएचको ब्याट्री राखिएको छ ।

सामसुंगको जेड थ्री स्मार्टफोन आगामी जुलाई ३० तथा ३१ तारिखमा भारतको बेंगलुरुमा हुने टाइजेन डेभलपर समिटमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ । यो स्मार्टफोन यहि वर्षको दोस्रो सत्रमा बजारमा बिक्रीका लागि उपलब्ध हुने बताईएको छ ।

यो स्मार्टफोन टाइजेन अपरेटिंग सिष्टमको परिस्कृत संस्करणमा आधारित हुनेहुँदा यसमा नयाँ र सुधारिएका सफ्वेयर फीचर हुने अपेक्षा गरिएको छ । यो स्मार्टफोन ७० मिलिमीटर चौंडा, ९.५ मिलिमीटर मोटाई तथा १४० ग्राम तौलको हुनसक्ने बताईएको छ ।

उता सामसुंगसँग सम्बन्धित स्रोतले भने नेपालमा परिक्षणको लागि धेरै सेटहरु आउने गरेको भन्दै जेड थ्री छिटै आउने आफूले पनि बुझेको बताए ।

सामसुंगको जेड थ्रीले भारतीय बजारमा एन्ड्रोयड अपरेटिंग सिष्टममा आधारित  शिओमी, लेनोभो, मोटोरोलालगायतका स्मार्टफोन ब्राण्डका इन्ट्रि लेभलका स्मार्टफोनहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

सामसुंगको जेड वान स्मार्टफोन सबैभन्दा पहिले भारतमा सार्वजनिक गरिएको थियो । भारतीय बजारमा बजेट फोनको रुपमा सार्वजिनक भएको जेड वान बजेट फोन श्रेणीको बजारलाई ध्यानमा राखेर ल्याईएको हो । याे फोन पछि बंगलादेशलगायतका मुलुकमा पनि सार्वजनिक गरीएको थियो । सामसुंग जेड वान स्मार्टफोन नेपाली बजारमा भने अाएको छैन् ।

उता सामसुंगको जेड वान स्मार्टफोनको (स्याम्पल सेट) नेपालमा परिक्षणका लागि भित्रिएको बताईएको छ । कम्पनी स्रोतकाअनुसार जेड वान स्मार्टफोन करिब १० दिन भित्र नेपालमा सार्वजनिक रुपमा बजारमा अाउने र त्यसपछि जेड थ्री स्मार्टफोन अाउने बताईएको छ । सम्पादित

easy care

प्रकाशित: ७ श्रावण २०७२, बिहीबार