Technology Khabar ३ श्रावण २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, ३ साउन । अर्थमन्त्री डा रामशरण महतले बजेट राम्रो बनेको र अव यसलाई सफलतापूर्वक कार्यान्वयनमा लैजानुपर्ने विचार व्यक्त गरेका छन् । अर्थमन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा मातहतका विभाग र कार्यालयका प्रमुखहरुलाई निर्देशन दिदै उनले उक्त विचार व्यक्त गरेका हुन् ।
“तपाईहरुले बजेट निर्माणका क्रममा र स्रोत जुटाउनका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा प्रभावकारी काम गर्नुभयो ।” अर्थमन्त्री डा महतले भने, ‘अव यसको कार्यान्वयन चुनौतीपूर्ण छ । कार्यान्वयनमा पनि तपाईहरुले सक्रिय भूमिका निर्वाह गर्नु आवश्यक छ । नत्र बजेट जतिसुकै राम्रो भएपनि सोचेजस्तो नतिजा प्राप्त हुन सक्दैन ।’
बजेटमा जतिसुकै कार्यक्रमहरु राखेपनि सबैका माग पूरा हुन नसक्ने भन्दै उनले एकैबर्षको बजेटबाट सबै कुरा पूरा गर्न नसकिने बताए ।
‘राजस्व असूलीको लक्ष्य समात्न अझ सक्रियता देखाउन जरुरी छ ।’ उनले भने, करदाताहरुको आत्मसम्मान कायम राख्दै असूलीमा जोड दिनु जरुरी छ । पेश्की खर्च विधेयक पारित भैसकेको जानकारी दिदै उहाँले अवरोध नहुनेगरी काम अगाडि बढाइहाल्न पनि निर्देशन दिए ।
सो अवसरमा अर्थसचिव सुमनप्रसाद शर्माले खर्चको अख्तियारी १ गते नै पठाइसकेको जानकारी दिएका थिए ।
प्रकाशित: ३ श्रावण २०७२, आईतवार