Technology Khabar २२ असार २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, २२ असार । पुँजी बजार सरोकारवालाहरु लाई लक्ष्य गरी ल्याइएको नेपाल स्टक एक्सचेन्जद्धारा तयार पारिएको ‘नेप्से एप’ सार्वजनिक भएको छ । स्मार्टफोनको प्रयोग बढ्दै गएको तथा बजार सरोकारवालाको व्यस्त दैनिकीलाई सम्बोधन गर्ने गरी यो एप्स ल्याइएको हो ।
एप्स सार्वजनिक गर्दै अर्थमन्त्री डा रामशरण महतले पुँजी बजार सम्बन्धी सही सूचना समयमै सबै सरोकारवालाहरु सम्म पुग्नुपर्ने बताए । ‘यो एपले पुँजी बजारको सूचना प्रवाहमा महत्वपूर्ण कडीका रुपमा काम गर्ने विश्वास मैले लिएको छु,’ उनले भने, ‘यसले लगानीकर्तालाई शिक्षित बनाउनेछ ।’ यससँगै नेप्सेले आधुनिकीकरणका अन्य प्रयासलाई तीब्रता दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले नेप्सेले ल्याएको एपले बजारको पारदर्शीता प्रवद्र्धनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे । नेप्से अब पब्लिक कम्पनीका रुपमा आउनुपर्ने बेला भएको उनको भनाई थियो ।
कार्यक्रममा नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले बजारमा हुनसक्ने अनियमितता न्युनीकरण गर्दै लैजाने सन्दर्भमा नेप्से एप उपयोगी हुने दाबी गरे ।
यो एप एन्ड्रोयड तथा आईओएस दुबैमा उपलब्ध भएको नेप्सेले जानकारी दिएको छ ।
यसमा कम्पनीका गतिबिधिहरु, फ्लोर शिट, अनलाईन कारोबारलगायतका विषयहरु हेर्न सकिन्छ भने आवश्यकता अनुसार नोटिफीकेशनको पनि व्यवस्था रहेको छ ।
प्रकाशित: २२ असार २०७२, मंगलवार